डाक्टर छैनन्, अहेबको भर

दरबन्दीअनुसारका चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा विपन्न परिवारका बिरामी प्रभावित
अर्जुन राजवंशी

झापा — कचनकवल गाउँपालिका ६ बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्र अहेबका भरमा सञ्चालन हुँदै आएको छ । एमबीबीएस डाक्टरको दरबन्दी रहेको स्वास्थ्य केन्द्र अहेबका भरमा सञ्चालन हुँदा ग्रामीण भेकका जनता स्वास्थ्य सेवाबाट प्रभावित भएका छन् । 

स्वास्थ्य चौकीबाट स्तरोन्नति भई ०५९ सालमा प्राथमिक स्वास्थ्य केन्द्र बने पनि यहाँ अहिलेसम्म स्थायी दरबन्दी अनुसार डाक्टर आएका छैनन् । केन्द्रमा एक जना एमबीबीएस डाक्टर, एक जना स्टाफ नर्स, एक जना हेल्थ असिस्टेन्ड (एचए), एक जना ल्याब असिस्टेन्ड, ३/३ अनमी र अहेब तथा २ कार्यालय सहयोगीको दरबन्दी छ ।


तर, स्वास्थ्य केन्द्रमा गत जेठ महिनादेखि एमबीबीएस डाक्टर छैनन् । भाद्र महिनापछि स्टाफ नर्स पनि छैनन् । केन्द्रका हेल्थ असिस्टेन्ट एक वर्षदेखि गाउँपालिका कार्यालयमा स्वास्थ्य शाखा प्रमुखका रूपमा खटिएका छन् । डाक्टर सदिक्षा पाण्डे ०७४ चैत महिनामा केन्द्रमा आएकी थिइन् । उनी डा.अरबिन्द यादवको सरुवा भएपछि उक्त केन्द्रमा आएकी थिइन् । तर, डा.पाण्डे डेढ महिना मात्रै काम गरेर त्यहाँबाट हिँडेको केन्द्रमा कार्यरत अहेब नारायण निरौलाले बताए ।


हेल्थ असिस्टेन्ट शान्तिराम भट्टराई गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी पाएपछि एक वर्षदेखि केन्द्रमा छैनन् । स्टाफ नर्स किरण यादव भाद्र महिनामा कामकाजी सरुवा मिलाएर घर पायक सिरहा पुगेको निरौलाले बताए ।


स्वास्थ्य केन्द्रको प्रमुखको जिम्मेवारी अहिले सिनियर अहेब हर्क गुरुङले गरिरहेका छन् । केन्द्रमा प्रेसर, सुगर र ग्यास्ट्रिकका औषधि सकिएका छन् । केन्द्रमा दैनिक एक सय जना विरामी उपचारका लागि आउने गर्छन् । अत्यावश्यक पर्ने औषधि सकिदा नियमित औषधि सेवन गर्ने बिरामीहरू प्रभावित बनेको निरौलाले बताए । दरबन्दी अनुसारको चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा विशेष गरी विपन्न परिवारका बिरामी प्रभावित बनेको स्थानीय रत्न बुढाथोकीले बताए । उनले महिनौंसम्म स्वास्थ्यकर्मी नहुँदा गाउँपालिका र सम्बन्धित सरोकारवाला निकायको ध्यान जान नसक्नु दुखद् भएको बताए ।


‘दक्षिणी क्षेत्रकै ठूलो स्वास्थ्य केन्द्र हो । यहीं चिकित्सक नबस्नु भनेको हाम्रा लागि निकै दुखद अवस्था हो,’ उनले भने, ‘यहाँ उपचारका लागि आउने भनेको आदिवासी गरिब परिवारका बिरामीहरू हुन् । यसरी चिकित्सकको अभाव हुँदा अब उनीहरूले कहाँ गएर स्वास्थ्य सेवा लिने ?’ बनियानी प्राथमिक स्वास्थ्य केन्द्र बर्थिङ सेन्टर पनि हो ।


साविकका बनियानी, पाठामारी, बालुबाडी, केचना, पथरीया, घेराबारी लगायतका गाविसका जनता स्वास्थ्य सेवा लिन उक्त केन्द्र पुग्छन् । केन्द्रमा दरबन्दी भए पनि चिकित्सकको सेवा नपाएका ग्रामीण भेकका जनता स्वास्थ्य सेवा लिन २० किलोमिटर टाढा भद्रपुरमा निजी क्लिनिक तथा अञ्चल अस्पतालमा जान बाध्य छन् ।


‘स्वास्थ्य बिमा कार्यक्रम सुरु भएपछि केन्द्रमा बिरामीको चाप बढेको छ । तर, दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सेवा दिन निकै गाह्रो भइरहेको छ,’ गुरुङले भने । केन्द्र २४ सैं घण्टा सेवा दिने स्वास्थ्य संस्था हो । स्वास्थ्य केन्द्रमा डाक्टर तथा स्वास्थ्यकर्मीको अभावबारे लेखेर स्वास्थ्य मन्त्रालयमा पठाए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।


उनले पर्याप्त जनशक्ति नहुँदा जनतालाई सेवा दिन गाह्रो भएकोबारे गाउँपालिका जानकार रहेको बताए । उनले भने, ‘हामीले गर्नुपर्ने पहल गरिरहेका छौं । तर, माथिबाटै कुनै सुनुवाइ भएको छैन । यस विषयमा गाउँपालिकाको तर्फबाट गर्न सकिने अवस्थाबारे पनि छलफल भइरहेको छ ।’ उनले स्वास्थ्य केन्द्रमा औषधि अभाव हुन नदिन केही दिनभित्रै औषधि खरिद गरिने प्रक्रिया भइरहेको जनाए ।

प्रकाशित : पुस ४, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?