कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाडी तार्न काठे पुल

आनन्द गौतम

ताप्लेजुङ — फक्तालुङ गाउँपालिका २ खेजेनिमका लक्ष्मी अङछङवोले बाल्यकालमा अभिभावकसँगै गएर तमोर नदीमा बाँसको फड्के बनाउन सहयोग गर्थे । सिंवा बजार छेउको खोलामा फड्के बनाउने ठाउँमा बाँसका घना घिसार्ने र चोया बाँध्ने काम गर्ने । 

गाडी तार्न काठे पुल

जब ठूलो भए फड्के बनाउने नेतृत्व आफंले लिए । नदीमा पानीको सतह घटेपछि गाउँघरका साथीभाइ भेला पारेर फड्के थाप्न जान्थे । फड्के थाप्ता वारि र पारि दुवैतिरका मान्छे भेला हुनुपथ्र्यो । खोलो साँघुरिएको ठाउँ पहिचान गरेर पहिला काठका मुडा लडाउँथे र त्यसमाथि दुईतिरबाट बाँसलाई निहुराएर फड्के बनाउँथे ।


त्यसपछि चोयाले बाँधेर र काँटी ठोकेर भरपर्दो बनाउँथे । यसले आधा वर्ष अर्थात् खोलामा पानी नबढेसम्म खोलो तर्न काम दिन्थ्यो । चाँडै पानी परे जेठतिरै बगाएर लान्थ्यो ढिलो भए असारसम्म थेग्थ्यो । मंसिरको हिउँ बिलाएपछि पुसदेखि पुल थाप्ने सुरसार गर्थे ।


पुसमा सम्भव नभए माघमा त अनिवार्य अस्थायी पुल बन्थ्यो । सरकारले जब झोलुंगे पुल बनाइदिने भयो पुलका लट्ठा बोक्न गाउँलेहरू मित्लुङ बजारसम्म पुगे । सिमेन्ट प्रयोग नहुने करिव ४० वर्षअघि वारि र पारि दुईतिर ढुंगाको मजबुत गारो बनाए । त्यही गारोमा फलामे लट्ठा बाँधेर बीचमा काठका फलेक ओछ्याए ।


यो पुल बनेपछि भने बारै महिना खोलो तर्न सहयोगी बन्यो । जनघनत्वका आधारमा सबैको पहुँचमा पुग्नेगरी झोलुंगेपुल बन्न नसक्ने भएकाले फड्के बनाउने प्रक्रिया भने रोकिएन र रोकिएको छैन । अहिले भने खोलामा गाडी तार्नका लागि पनि अस्थायी पुल निर्माण सुरु गरिएको छ । खेजेनिमका बासिन्दाले तमोर नदीलाई साँघुर्‍याएर पुल निर्माण गरेका छन् ।


१३ मिटर लामो पुल बनाउन चार दिनसम्म पूरै गाउँले लागेका थिए । लक्ष्मीका अनुसार आइतबारदेखि त्यो पुलमा धमाधम गाडी तर्न थालेका छन । सबैभन्दा बढी ६३ क्विण्टलको मालवाहक

टयाक्टर तारिएको छ भने एक दिनमा १२ वटासम्म यात्रुवाहक साना गाडी तरेका छन् । खेजेनिमका जगन पौडेलका अनुसार स्काइभेटर मेसिनबाट वारि र पारि दुईतिर डुंगा, रोडा, बालुवा लगाएर खोलो साँघुर्‍याइएको छ । पानीले भेट्ने ठाउँमा ढुंगाको गारो लगाइएको छ ।


पानीको फोर्स गारोमा पर्न नदिन १० मिटर माथिबाटै ढुंगाको प्रयोग गरिएको छ । त्यसमाथि चिलाउनेका चारवटा मुडाहरू तेस्रो पारेर लगाइएको छ । मुडामाथि ठाडो बनाएर बिम राखिएको छ । त्यसलाई काँटीले ठोकेर नहल्लिने र चलबल नबन्ने बनाइएको पौडेलले बताए । पानीको सतह नबढेसम्म रहने गरी केही भाग उठाएर बनाइएको पौडेलले बताए ।


खोलामा पानी बढेर आउँदा खोलो साँघुर्‍याएको भागदेखि नै बढार्ने भएकाले पुलको उचाइले मात्रै नहुने लक्ष्मी बताउँछन् । काठको प्रयोग गरिएको र त्यो मकाउने भएकाले यसले अर्को वर्ष काम दिने सम्भावना कम भएको स्थानीय बताउँछन् । तथापि यो पहिलो प्रयास भएकाले पानी बढ्न थालेपछि जेठ/असारमा निकालेर राख्ने र अर्को वर्ष थपथाप गर्ने लक्ष्मी बताउँछन् ।


गाउँपालिका अध्यक्ष सरोज एभेङका अनुसार गाउँपालिकालेपनि यो वर्षदेखि यस्तो अभ्यास गर्नेछ । उत्तर दक्षीण लोकमार्गको ओलाङचुङगोला सडकखण्ड अन्तर्गत तापेथोक र लेलेप जोड्ने तमोर नदीमा होम पाइप हाल्ने योजना रहेको एभेङले बताए ।


हिउँदमा थाप्ने र बर्खामा निकाल्नेगरी हेमपाइप किन्ने योजना गाउँपालिकाको रहेको उनले बताए । पुल बन्न वर्षाैं लाग्ने ठाउँमा हिउँदमा यातायात चलाउँदा खाद्यान्न लगायतका सामग्री ढुवानीमा सहयोग पुग्ने भएकाले यस्तो योजना ल्याइएको उनले बताए । यस्तो योजना मिक्वाखोला गाउँपालिकाको पनि छ ।


मिक्वाखोलाले सग्रान्ती बजार छेउको मिकुवाखोलामा होमपाइप राखेर गाउँपालिकाको केन्द्र साँवासम्म गाडी पुर्‍याउने योजना बनाएको अध्यक्ष रामकुमार साँवा बताउँछन् । होम पाइप राखेपछि भाँचिएला, फुट्ला भन्ने डर नहुने र अर्को वर्ष पनि काम दिने भएकाले काठको तुलनामा यो भरपर्दो रहेको फक्तालुङका प्रवत्ता छेतेन वालुङ बताउँछन् ।


सिंवाको काठको पुल बनाउन साढे चार लाख बढी खर्च भएको स्थानीयले बताए । पूरै खर्च विवरण अझै सार्वजनिक भइनसकेको पौडेलले बताए ।

प्रकाशित : पुस ४, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?