कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठेकेदारले बाटो नबनाउँदा स्थानीय आन्दोलित

केर्खा–क्याम्पा–सराङपाडा सडकको काम ढिलाइले धूलो र धूवाँले स्थानीयलाई सास्ती
अर्जुन राजवंशी

दमक — ठेकेदारले काम नगरेपछि केर्खा–क्याम्पा–सराङपाडा सडकका उपभोक्ता आन्दोलित बनेका छन् । उनीहरूले ठेकेदार कम्पनी र सरोकारवाला निकायलाई दबाब दिन सडक बन्दको कार्यक्रम समेत अघि सारेका छन् । 

ठेकेदारले बाटो नबनाउँदा स्थानीय आन्दोलित

२४ महिनामा निर्माण सक्नुपर्ने उक्त सडकको काम १७ महिना भइसक्दा समेत ठेकेदारले आधा पनि काम गरेको छैन । १६.७ किलोमिटर सडकको निर्माण कार्य ठेकेदारका कारण ढिलाइ हुँदा धूलो र धूवाँले आजित बनेका उपभोक्ता आन्दोलनमा उत्रिन बाध्य बनेका हुन् । धूलोका कारण जिल्लाको दक्षिण–पश्चिम भेकका जनताको यात्रा कष्टपूर्ण बनेको छ ।


सडक निर्माणको ठेक्का रोशन शाह इन्जिनियरिङ जेभीले लिएको हो । ०७४ असारमा ठेक्का सम्झौता भएको सडकको निर्माण कार्य २४ महिनामा सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, डेढ बर्ष बित्न लाग्दासम्म ठेकेदारले आधा पनि काम नगरेको उपभोक्ताको गुनासो छ । उक्त सडक जिल्ला प्राविधिक कार्यालयले ११ करोड रूपैयाँमा ठेक्का लगाएको हो ।

सडक निर्माणको कार्य दुई कलस्टरमा गर्ने गरी सम्झौता भएको छ । पहिलो कलस्टरअन्तर्गत ८ किलोमिटर सडक निर्माणका लागि ६ करोड ३३ लाख १५ हजार ३ सय ४५ र दोस्रो कलस्टरअन्तर्गत ८.७ किलोमिटर सडक निर्माणका लागि ७ करोड ४२ लाख ८ हजार ८ सय ४७ रूपैयाँको ठेक्का सम्झौता गरिएको छ । सडक निर्माणमा ढिलाइ भएपछि स्थानीय उपभोक्ताले संघर्ष समिति नै गठन गरेका छन् । उनीहरूले ठेकेदार कम्पनी र कमल गाउँपालिकाको ध्यानाकर्षण गराउँदै आएका छन् ।


‘सडक निर्माणको काम नियमित गर्न हामीले पटकपटक आवाज उठाउँदै आएका छौं । तर, हाम्रो मागको कुनै सुनुवाइ भएको छैन,’ संघर्ष समितिका संयोजक रामचन्द्र बरालले भने, ‘बाध्य भएर अन्तिममा सडक बन्द गर्नेसम्मको आन्दोलन थाल्नुपर्‍यो ।’ उनले धूलो र धूवाँँले सडक आसपासका सबैलाई विरामी बनाइसकेको बताए ।


‘सडक भत्काएर यतिकै छाडिएको छ । दैनिक गुड्ने सयौं सवारीले दिनरात धूलो र धूवाँँ उडाउँछ । धूलो र धूवाँँले हामी सबैको स्वास्थ्य अवस्था विग्रिसकेको छ । सडक बनाउने नाममा ठेकेदार कम्पनीले स्थानीय जनताको स्वास्थ्यसँग खेलबाड गर्न मिल्छ ?’ संघर्ष समिति सदस्य योगेश सुब्बाले भने । उनले सम्पर्कविहीन भएको ठेकेदार कम्पनीलाई गाउँपालिकाले चाडै खोजेर ल्याएर सडक निर्माणको काम थाल्नुपर्ने बताए ।


ठेकेदारले सम्झौता गरेको एक वर्षसम्म सडकमा काम नै सुरु गरेको थिएन । स्थानीयले सडक बन्द गर्न थालेपछि मंगलबार कमल गाउँपालिकाका जनप्रतिनिधि र उपभोक्ताबीच छलफल भएको थियो । छलफलमा ठेकेदारले काम नथाल्दासम्म सडकमा उड्ने धूलो नियन्त्रणका लागि गाउँपालिकाले दैनिक पानी हाल्ने सहमति जुटेको छ ।


दमक नगरपालिका ५ स्थित भृकुटी चोकदेखि सगरमाथा पम्पसम्मको दिपिनी मार्गका उपभोक्ता पनि विरोधमा उत्रिएका छन् । उनीहरू एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम डेढ वर्षमा आधा पनि नभएको भन्दै विरोधमा उत्रिएका हुन् । नगरपालिकाले १२ सय मिटर लम्बाइको सडक निर्माणको ठेक्का इटहरीको जयबाबा–शेर्पा जेभीलाई दिएको छ । उपभोक्ताको लागत सहभागीतामा निर्माण थालिएको सडक भ्याट बाहेक चार करोड ७ लाख ९१ हजार ८ सय ८४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माणका लागि नगरपालिका र ठेकेदार कम्पनीबीच ०७४ साउन २२ गते ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सडक निर्माणको काम ०७५ असार २९ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ । उक्त मितिमा काम नसकिएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई मंसिर मसान्तसम्मको समयावधि थप गरेको थियो । तर, ठेकेदार कम्पनीले अहिलेसम्म सडक निर्माणको काम आधा पनि सम्पन्न नगरेकाले बाध्य भएर विरोधमा उत्रिनु परेको स्थानीय प्रदीप कडरियाले बताए ।


सडक निर्माणका लागि उपभोक्ताले प्रतिफुट एक हजार तीन सय ५० रूपैयाँका दरले रकम तिरेको कडरियाले बताए । ठेक्का लागेको चार करोडमध्ये उपभोक्ताले एक करोड रूपैयाँ ब्यहोरेका छन् । ‘हामीले प्रत्येक फुटको त्यतिधेरै रकमका हिसाबले पैसा उठाएर दिएका छौं । तर, अहिलेसम्म सडक बनेको छैन । दुई वर्षदेखि धूलो र धूवाँँ खाएर विरामी भइसक्यो’, स्थानीय विक्रम बस्नेतले भने, ‘सडक नबन्दा व्यापार चौपट भएको छ ।


घरसम्म जाने कुनै व्यवस्था गरिएको छैन । दैनिक आवतजावत गर्न गाह्रो भएको छ । धूलोले घर र घरभित्रका सबै सामान सेताम्मे बनेका छन् ।’ उनले ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको आरोप पनि लगाए । ‘४ इन्च स्ल्याब हाल्नुपर्नेमा ३ इन्च पनि छैन । ६ इन्च गिटी हाल्नुपर्नेमा ४ इन्च पनि नहाली गिटी पेल्ने काम भएको छ,’ बस्नेतले भने ।

प्रकाशित : पुस ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?