१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

क्यान्सर उपचार सुरु गर्न बीपी प्रतिष्ठान र विनयतारा फाउण्डेशनबीच सम्झौता 

सुनसरी — क्यान्सर रोगका सबैखाले उपचार सेवा प्रदानका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकाको विनयतारा फाउण्डेशनबीच सम्झौता भएको छ । विनयतारा फाउण्डेशन र प्रतिष्ठानको सहकार्यमा प्रदेश १ का क्यान्सर बिरामीलाई अन्यत्र जान नपर्ने गरी उपचार सेवाको सुरुआत गर्ने सम्झौता भएको हो ।

क्यान्सर उपचार सुरु गर्न बीपी प्रतिष्ठान र विनयतारा फाउण्डेशनबीच सम्झौता 

प्रतिष्ठान र फाउण्डेशनबीच भएको सम्भौताअनुसार क्यान्सर उपचारकालागि आवश्यक जनशक्ति तयार गर्न फाउण्डेशनले वर्कशप, तालिम दिने, अमेरिकाका क्यान्सर विषेशज्ञ चिकित्सक ल्याउने, आवश्यक सानातिना उपकरण किन्न सहयोग गर्ने, क्लिनिकल प्याथोलोजी, गाइनोकोलोजी, सर्जिकल र इन्डोस्कोपि सेवा दिने, क्यान्सरको अन्तिम चरणमा पुगेकाहरुकालागि प्यालिएटिभ केयर सेन्टरमार्फत सेवादिने, आवश्यक जनशक्तिको क्षमता वृद्धिकालागि नयाँ ज्ञान र प्रविधिहरु आदानप्रदान गर्ने रहेको छ । प्रतिष्ठानमा कतिपय क्यान्सरका उपचार हुँदै आएपनि बेग्लै युनिट भने छैन ।


विनयतारा फाउण्डेशन अमेरिकाको वासिङ्टनस्थित पिस हेल्थ अस्पतालमा कार्यरत डा. विनय साह र उनकी श्रीमती तारा साह मिलेर संचालन गरेको गैरनाफामुलक संस्था हो । उक्त संस्थाको उद्देश्य गरिब तथा विपन्न समूदायसम्म स्वास्थ्य सेवाको सहज पहूँच विस्तार गर्नु रहेको छ ।

विनयतारा फाउण्डेशनले नेपाल सरकार र इलिनोए विश्वविद्यालय, अमेरिकासँगको सहकार्यमा काठमाडौंको बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सुरु गर्न सहयोग गरेको छ । यस्तै भारतका विभिन्न ५१ स्थानमा पनि क्यान्सर उपचार केन्द्र स्थापनाका लागि सहयोग दिएको छ ।


जनकपुर मुल घर भएका डा. साह अमेरिकामा क्यान्सर रोग विषेशज्ञकारुपमा कार्यरत छन् । उनी बीपी प्रतिष्ठानका एमबीबीएस दोश्रो ब्याचका विद्यार्थीसमेत हुन । त्यसैले पनि बीपीलाई पनि क्यान्सर उपचार केन्द्रको रुपमा पनि विकास गर्ने उद्देश्यका साथ फाउण्डेशनले सहयोग गर्न लागेको हो ।

प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, शिक्षाध्यक्ष प्रा.डा. गुरु खनाल र रजिष्ट्रार तुलबहादुर श्रेष्ठको उपस्थितीमा अस्पताल निर्देशक प्रा.डा. गौरिशंकर साह र फाउण्डेशनका अध्यक्ष डा. विनय साहले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।


उक्त अवसरमा प्रतिष्ठानका उपकुलपति प्रा.डा. रौनियारले क्यान्सर उपचार केन्द्र स्थापनाकालागि विनयतारा फाउण्डेशनसँग सहकार्य गर्नपाउनु गर्वको विषय भएको बताए । उनले फाउण्डेशनको सहयोगले प्रतिष्ठानमा बन्न लागेको क्यान्सर उपचार केन्द्रलाई सहयोग पुग्ने र प्रदेश १ का क्यान्सर रोगीहरुलाई ठुलो राहत पुग्ने बताए ।


फाउण्डेशनका अध्यक्ष डा. विनय साहले नेपालमा क्यान्सर रोग उपचारकालागि स्पष्ट नीतिको अभाव रहेको बताए । उनले भने, ‘क्यान्सर रोग मध्ये नेपालमा फोक्सोको क्यान्सर, पाठेघर मुखको क्यान्सर, घाँटीको क्यान्सर ‘कमन’ जस्तै भएको छ । तर उपचार गर्नकालागि कि भरतपुर कि काठमाडौं धाउनु पर्ने अवस्था छ । कम्तिमा नजिकैको अस्पतालमा गएर उपचार सुविधा पाउन् भनेर प्रतिष्ठानसँग सम्झौता गरेको हो ।’


उनले विकसित मुलुकमा पाठेघरको मुखको क्यान्सर, मलद्वारको क्यान्सर र लिङ्गको क्यान्सरकालागि एपिभि (ह्युमन प्यापिलोमा भाइरस) भ्याक्सिन (खोप) विकास भइसकेको र ती खोप सरकारले चाहेमा आप्ना नागरिकलाई उपलब्ध गराउन सक्ने बताए । बीपी प्रतिष्ठानमा भौतिक पूर्वाधार, प्याथोलोजी, सर्जरीलगायत आवश्यक जनशक्ति प्रतिष्ठानमा उपलब्ध भएकोले आगामी एक वर्षभित्र सबै प्रकारको किमोथेरापी सुरु गर्न सकिने कार्यक्रमा दाबी गरिएको थियो ।


रेडिएशन थेरापीकालागि ४० करोड रुपैयाँभन्दा बढी महंगो उपकरण आवश्यक पर्ने भएकाले उक्त सेवा सुरु गर्न भने केही वर्ष लाग्ने डा. साहले बताए । डा. साहले प्रतिष्ठानमा अन्तिम अवस्थामा पुगेका क्यान्सरका बिरामीहरुलाई उपचार गर्ने प्यालिएटिभ केयरबाट सेवा सुरु गर्ने बताएका थिए ।


प्रकाशित : पुस १०, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?