१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पूर्वप्रेमी र उनका साथीद्वारा विवाह मण्डपमै बेहुली माथी सामूहिक कुटपिट, बेहुलीको अवस्था गम्भीर

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको फेदाप गाउँपालिका ३ जलजलेमा पूर्व प्रेमी पक्षका युवाहरुद्वारा विवाह मण्डपमै बेहुली माथी सामूहिक कुटपिट भएको छ । कुटपिटबाट २२ वर्षीया बेहुली प्रतिक्षा सम्बाहाम्फे गम्भीर घाइते भएकी छिन् । 

पूर्वप्रेमी र उनका साथीद्वारा विवाह मण्डपमै बेहुली माथी सामूहिक कुटपिट, बेहुलीको अवस्था गम्भीर

झडपमा परी अन्य ३ जना पनि घाइते भएका छन् । गएराति भव्यरुपमा वैवाहीक समारोह भैरहेका बेला समूहमा आएका युवाहरुले विवाह मण्डपमै बेहुली माथी आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।

कुटपिटबाट बेहुली सम्बाहाम्फेको टाउकोमा गहिरो चोट लागेको छ । युवाहरुको सामूहिक कुटपिटबाट गम्भीर घाइते बेहुलीको उपचारका लागि गए राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तर्फ लगिएकोमा त्यहाँ उपचार हुन नकसेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नबमीका २२ वर्षीय सचिन आङदेम्बेसँग विवाह भइरहेको थियो । बेहुला आङदेम्बे भने सकुशल छन् । युवाहरुको कुटपिटबाट बेहुलीका दाजु देउमान सम्बाहाम्फे, स्थानीय सुमन खापुङ र टिकादेवी सम्बाहाम्फे घाइते भएका छन् । घाइते बेहुलीका दाजु सम्बाहाम्फेलाई पनि थप उपचारका लागि विराटनगर तर्फ लगिएको र अन्य दुईजनाको जिल्ला अस्पताल तेह्रथुममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न वर्ष १९ का सरोज लिम्बु, १४ वर्षका ओमन लिम्बु, २१ वर्षका दिनेश लिम्बु, १९ वर्षका सुदी लिम्बु र १७ वर्षका मन्दिप लिम्बुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिए । कुटपिटमा संलग्न अन्यको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

बेहुलीको स्थानीय युवासँग यस अघि सम्पर्क रहेको र अर्कै केटासँग विवाह गरेपछि आक्रोसित युवा र उनको समुहले बेहुली माथी विवाह मण्डपमै आएर आक्रमण गरेको हुनसक्ने प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गौतामले जानकारी दिए ।


प्रकाशित : पुस १०, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?