२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

एकै विद्यालय पढेका ५ सचिव

खाँदबारीस्थित हिमालय माविमा पढेका दिनेश थपलिया, प्रेमकुमार राई, राजीव गौतम, ईश्वर नेपाल र दिनेशकुमार घिमिरे सरकारी सचिव 
दीपेन्द्र शाक्य

संखुवासभा — एउटै सरकारी विद्यालयमा अध्ययन गरेका पाँच जना सरकारका सचिव छन् । यो अनौठो संयोग सदरमुकाम खाँदबारीस्थित हिमालय माध्यमिक विद्यालयको हो । यहाँ अध्ययन गरेका ५ जनाले सचिवको जिम्मेवारी सम्हालेका छन् ।

सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलिया, गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, कानुन, न्याय तथा संसदीय मन्त्रालयका सचिव राजीव गौतम, महालेखा परीक्षकको कार्यालयका सचिव ईश्वर नेपाल र मंगलबारमात्र कार्यभार सम्हालेका ऊर्जा, जलश्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे एउटै विद्यालयका विद्यार्थीहरू हुन् । यी सबैले खाँदबारीका हिमालय माध्यमिक विद्यालय पढेका हुन् ।


पूर्व प्रधानाध्यापक विश्वकुमार बज्राचार्यका अनुसार उनीहरू सामान्य कृषकका छोराछोरी हुन् । साँझ बिहान घाँस दाउरा गरेर उनीहरू पढ्न आउथे, उनले विगतलाई सम्झदै भने, पढ्नलाई पनि अव्वल थिए । हिमावि यो जिल्लाको राम्रो विद्यार्थी उत्पादन गर्ने विद्यालय हो, उनले भने, उनीहरू त उदाहरण मात्रै हुन्, यहाँ पढेकाहरू शाखा अधिकृत, उपसचिव, सहसचिव, डाक्टर र इन्जिनीयर पनि धेरै छन् ।


अहिले पनि बढुवाको रोलक्रममा सहसचिवहरूमा शिक्षा मन्त्रालयका सहसचिव सूर्य गौतम, सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सुरेश अधिकारी र महान्याधिवक्ताको कार्यालयका टेकहादुर घिमिरे छन् । सरकारका केही शक्तिशाली निकायहरू, जसको कमाण्ड उनीहरूले गरिरहेका छन्, हामीले गर्व गर्नुपर्छ, उनले थपे, अहिले पनि हिमाविमा शिक्षाका बिषयमा कुनै कमी छैन, अझै अब्बल छ ।


‘एउटै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरू यो पदमा पुग्नु जिल्लाकै खुसीका कुरा हो,’ उनले भने, केही बर्ष अघिसम्म हामीले पनि निजामती प्रशासनमा स्याङ्जा, गुल्मी, झापा, विराटनगर, पाल्पालगाएतको वर्चस्व रहेको सुनेका थियौं, अहिले संखुवासभा अगाडि आयो ।’ महत्वपूर्ण निकायमा एउटै विद्यालयमा पढेका विशिष्ट श्रेणीको नेतृत्वलाई संयोग मान्नुपर्ने उनले बताए ।


विद्यालयका प्रधानाध्यापक वीरबहादुर राईका अनुसार निजी विद्यालय छाडेर यहाँ पढ्न आउनेहरू थामिनसक्नु छ । ‘भौतिक पूर्वाधारका हिसाबले पनि हामी अघि छांै,’ उनले भने, ‘त्यसमा पनि सदरमुकामको विद्यालय धेरै चुनौती छन् ।’


यो वर्ष ३ सय बढी विद्यार्थी निजी छाडेर यहाँ पढ्न आएको उनले बताए । केही सामुदायिक र निजी विद्यालयका प्रअ र शिक्षकका छोराछोरी पनि यहीँ विद्यालयमा पढ्न आएका छन् । ती शिक्षकहरू आफैले विद्यालय सम्हाले पनि छोराछोरी भने यहाँ पढ्न पठाउने गरेको उनले बताए ।


स्थायी सरकार पनि भनिने नेपालको निजामती क्षेत्रमा एकै समयमा यति धेरै उच्चपदस्थ हिमालय माध्यमिक विद्यालय खाँदबारीका लागि गौरवको विषय भएको उनले बताए ।

एउटै स्कुलमा पढेका बहालवाला पाँचसचिवमध्ये तीन जना सचिवहरू देशको महत्वपूर्ण निकायहरूको नेतृत्वमा छन् । सामान्य प्रशासन, गृह प्रशासन र कानुनको नेतृत्व गरिरहेका सचिवत्रय थपलिया, राई र गौतम एउटै कक्षामा पढेका विद्यार्थीसमेत हुन् । त्यो बेलाको छबी अहिले पनि कायम रहेको उनले बताए ।

प्रकाशित : पुस १२, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?