२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सामुदायिकमा अंग्रेजी माध्यम

कटहरी गाउँपालिकाका १९ वटै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ सुरु
विद्यार्थीलाई किताब, कापी, पोसाक, जुत्तामोजा र ब्यागसमेत नि:शुल्क उपलब्ध
विनोद भण्डारी

विराटनगर — महानगरसँग जोडिएको कटहरी गाउँपालिकाका १९ वटै सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमवाट पढाइ सुरु गरेको छ ।

नर्सरी र कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरी त्यहाँ भर्ना हुनेलाई किताव, कापी, पोसाक, जुत्तामोजा र ब्याग नि:शुल्क उपलब्ध गरेपछि कटहरीका हरेक सामुदायिक विद्यालयमा विद्यार्थी सख्या

ह्वात्तै बढेको छ ।


गाउँपालिकाले शिक्षा सुधार अभियान सञ्चालन गरेर नर्सरी र कक्षा १ मा भर्ना हुने १९ वटै विद्यालयका बालबालिकालाई पोसाक, जुत्तामोजा, ब्याग, किताव, कापी र पेन्सिल नि:शुल्क उपलब्ध गराएपछि गतवर्ष मात्र १९ वटा सामुदायिक विद्यालयको नर्सरी र कक्षा १ मा १ हजार २ सय बालबालिका थपिएको गाउँपालिका शिक्षा शाखाका अधिकृत शिवप्रसाद घिमिरेको दाबी छ ।


गाउँपालिकाले शिक्षा सुधार कार्यक्रम सञ्चालन गरेपछि विद्यार्थी संख्या न्यून भएका तिनबाट विद्यालय मर्ज हुनबाट जोगिएका छन् । वडा १ स्थित महेशपुर प्राविमा २० जनामात्र विद्यार्थी थिए । त्यस विद्यालयलाई गाउँपालिकाले खारेज गर्ने तयारी गरेको थियो ।


विद्यालयका प्रधानध्यापक प्रेम चौधरीले भने गाउँपालिकाले शिक्षा सुधार कार्यक्रम सञ्चालन गर्दै नर्सरी र कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेर पोसाक, जुत्तामोजा, ब्याग, किताव, कापी र पेन्सिल नि:शुल्क उपलब्ध गराएपछि विद्यार्थी सख्या ह्वात्तै बढेपछि मर्ज हुनबाट जोगियो । अहिले यो विद्यालयमा १ सय ५० जना बालबालिका भर्ना भएका छन । चौधरीले भने उनीहरूमध्ये ९५ प्रतिशत बालबालिका नियमित विद्यालय आउँछन् ।


वडा ४ को खयरवना आधारभूत प्राविमा पनि डेढ सय बालबालिका थिए । गाउँपालिकाको शिक्षा सुधार कार्यक्रम लागू भएपछि थप डेढ सय बालबालिका भर्ना भएको प्रधानाध्यापक धनिलाल साहले वताए । त्यस्तै वडा ७ को लक्ष्मी आधारभूत प्राविमा पनि सय जना बालबालिका थिए । त्यहाँ पनि शिक्षा सुधार कार्यक्रमले थप ७० जना बालबालिका भर्ना भएपछि मर्ज हुनबाट जोगिएको प्रधानध्यापक मणीराज शर्माको भनाइ छ ।


गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अत्यन्तै खस्केपछि गत वर्ष ५० लाख बजेट छुट्याएर सामुदायिक विद्यालयमा शिक्षा सुधार कार्यक्रम सञ्चालन गरेको प्रमुख रामकुमार कामतको भनाइ छ ।


आउँदो शैक्षिक सत्रमा सवै सामुदायिक विद्यालयको कक्षा २ मा अनिवार्य रूपमा अंग्रेजी माध्यमबाट पढाइ सुरु गर्न र बालबालिकालाई पोसाक, किताव कापी, कलम र ब्याग नि:शुल्क दिन १ करोड बजेट विनियोजन गरिएको कामतले जनाए ।


गाउँपालिकाले प्रत्येक सामुदायिक विद्यालयमा हरेक वर्ष थप एक एक कक्षामा अंग्रेजी माध्यमबाट पढाउने र सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीलाई पोसाक, किताव कापी, कलम र ब्याग नि:शुल्क दिने योजना छ ।


प्रमुख कामतले भने गाउँपालिकाले विकास निर्माणको कामलाई दोस्रो प्राथमिकतामा राखेर सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने रणनीति बनाएको छ । यो गाउँपालिकामा भएका १९ सामुदायिक विद्यालय मध्ये २ वटा माध्यमिक र एक उच्च माध्यमिक छन् ।


गाउँपालिकाले ती तीनवटैमा ईहाजीरीको व्यवस्था गरेको छ । आगामी शैक्षिक सत्रदेखि सवै विद्यालयमा ईहाजीरीको व्यवस्था गरिने शिक्षा शाखा अधिकृत घिमिरेको भनाइ छ । उनका अनुसार कटहरी गाउँपालिका भित्र रहेका १९ वटा सामुदायिक विद्यालयका शिक्षकलाई तलब भत्ता मात्र माशिक ४५ लाख खर्च हुँदै आएको छ ।

प्रकाशित : पुस १३, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?