कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सडक गुणस्तरहीन

डम्बरसिं राई

खोटाङ — मध्यपहाडी लोकमार्ग गुणस्तरहीन बनेको गुनासो बढेको छ । बाँझेच्यानडाँडा–दिक्तेल सडक तथा हलेसी दिक्तेल सडक गुणस्तरहीन बनेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराइएका छन् ।

सडक गुणस्तरहीन

बाँझेच्यानडाँडा–दिक्तेल सडकअन्तर्गत जिरो प्वाइन्टमा निर्माणाधीन पर्खाल गुणस्तरहीन भएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काम रोकेको छ ।


यो क्षेत्रमा निर्माण भइरहेको टेवा पर्खाल र अन्य काम समेत गुणस्तरहीन भएकाले रोक लगाइएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । ‘जिरो प्वाइन्ट क्षेत्रमा कामको गुणस्तर नभएकाले बन्द गराइएको हो ।’ नगरप्रमुख रिजालले भने ‘गुणस्तरमा कुनै सम्झौता हुन्न ।’ त्यस्तै यसै सडक खण्डमा पर्ने छाकालुङ खोलाको सडक पुल बनिनसक्दै भाचिन लागेको स्थानीयको गुनासो छ । यसबारेमा सम्बन्धित निकायमा गुनासो राखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं–६ का वडा अध्यक्ष माधव राईले बताए ।


‘बनिनसक्दै पुल भाचिने अवस्थामा पुग्नु चरम लापरबाही हो ।’ राईले भने, ‘यसबारे सम्बन्धित निकायमा जानकारी गराइएको छ ।’ उनले थपे, ‘यस्तो ठेकेदारलाई कारबाही हुनुपर्छ ।’


त्यो त यो सडक बेलामा नसक्दा समस्या भएको छ । यसले जिल्लाको विकासमा समेत असर परेको छ । यो सडक करिब एक अर्ब नौ करोड १९ लाख रुपैयाँको लागतमा सम्पन्न हुनुपर्नेमा करिब सवा अर्ब करोड पुग्ने निर्माणमा सम्बद्धले जनाएको छ । बाँझेच्यानडाँडा–दिक्तेल ८८ किलोमिटर सडक बेलामा नसक्दा अब यसको लागत बढेको हो ।


यो सडकको चार वटा प्याकेजमा ठेक्का लागेको थियो । एक नम्बर र दुई नम्बर प्याकेजको २०७२ बैशाख २, तीन नम्बर प्याकेज असार १६ र चार नम्बर प्याकेजको चैत १६ दुई वर्षभित्र सक्ने गरी रमण गोल्डेन गुड जेबी कम्पनीले सडक विभागसँग सम्झौता गरेको थियो । यसमध्ये एक नम्बर प्याकेजको गत कात्तिकमा र दुई नम्बर प्याकेजको माघमा अवधि सकिएको छ ।


सकडको काम भने ट्रयाक खोल्नेबाहेक भएको छैन । चार नम्बर प्याकेजको निर्माण अवधि भने २०७५ चैतमा सकिने निर्माण कम्पनी सम्बद्ध साङ्गे सेर्पाले बताए । तीन नम्बर र चार नम्बर प्याकेजको (दिक्तेल–दारुलाचौकसम्मको १८ किलोमिटर ८८–७०) को काम यो आर्थिक वर्षभित्र सकिने सेर्पाले सुनाए । एक र दुई नम्बरको प्याकेजको काम भने ६० प्रतिशत मात्र सकिने सेर्पाको भनाइ छ ।


एक र दुई नम्बरको प्याकेजमा स्ट्रक्चरको काम सकिने सेर्पाले जनाए । बाँझेच्यानडाँडा दिक्तेल सडकका लागि आवश्यक सामग्री अपर्याप्तता र पेटीठेकेदारले गर्दा काममा ढिलाइ भएको सम्बद्ध ठेकेदार कम्पनीले जनाएको छ । यसमा पनि गुणस्तरहीन काम भएकाले पेटी ठेकेदारलाई हटाइएको सडक विभागका साइट इन्चार्ज इन्जिनियर भरत आचार्यले बताए ।


यसबाहेक यो सडकमा पर्ने सडक पुल भने नसकिने अवस्थामा छ । यो सडक खण्डमा पर्ने नौ वटा पुलमध्ये दुई वटा सकिएको, दुई वटा फागुनभित्र सकिने र अन्य पुल भने कहिले बन्छ भन्ने अत्तोपत्तो छैन । सेर्पाका अनुसार करिब तीन करोडको लागतमा निर्माणाधीन साप्सुखोला पुल र करिब चार करोडको लागतमा निर्माणाधीन चाम्दा खोलाको पुल फागुनभित्र सकिने छ ।


कालिखोला र लप्से खोलाको पुल भने सकिएको छ । अन्य दुई पुलको ठेक्का लागेको र तीन वटा पुलको टेन्डर नै हुन सकेको छैन ।

प्रकाशित : पुस १३, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?