दमकल छैन, डोेजर

पर्वत पोर्तेल

काँकडभिट्टा — बुद्धशान्ति गाउँपालिका ७ सुनमाईका कुलबहादुर खरेलको घर बिहीबार बिहान आगलागीबाट क्षणभरमै स्वाहा भयो । चिया कारखानाका श्रमिक खरेलको भए जति जायजेथा सकियो ।

दमकल छैन, डोेजर

टिनको छाना भएको र चित्राको बेरा लगाएको घरमा ननिभाई राखिएको चुलाको आगो सल्किएको प्र्रहरीको अनुमान छ ।

खाना पकाएर खरेल दम्पती नजिककै चिया कारखानामा काम गर्न गएका थिए । नानीहरू पनि स्कुल हिँडेका थिए । त्यही क्रममा घरमा आगो सल्किएको थियो । ‘दमकल हुन्थ्यो भने क्षति कम हुन्थ्यो होला,’ स्थानीय वीरेन सुवेदी भन्दै थिए, ‘जनप्रतिनिधि दमकलभन्दा डोजर किन्नमा खुसी हुन्छन् ।’ यो गाउँपालिकामा दमकल छैन ।

करिव एक वर्षअघि गाउँ कार्यपालिका बैठकले डोजर किन्ने निर्णय गर्दा ‘दमकल किन्नुपर्छ’ भन्ने आवाज कसैले उठाएनन् । करिव ३६ लाख रुपैयाँमा डोजर, करिव ५१ लाखमा अध्यक्ष चढ्ने सुविधा सम्पन्न गाडी तथा १५ लाख जतिमा ट्र्याक्टर खरिद गरियो । साथमा खरिदियो ७ वटा वडाका अध्यक्षहरूलाई न्यूनतम २ लाखदेखि साढे ३ लाखसम्मका मोटरसाइकलहरू ।

उपाध्यक्ष मीरा भुर्तेलका लागि भाडाको गाडी छ । यो गाडीलाई गाउँपालिकाले मासिक करिब ८० हजार रुपैयाँ भाडा बुझाउँछ । गाडी खरिद गरेको थाहा पाएपछि स्थानीयवासीले सामाजिक सञ्जालमार्फत जनप्रतिनिधिप्रति आक्रोस त पोखे । तर, जनआक्रोशप्रति जनप्रतिनिधिले कुनै चासो दिएनन् । ‘करिब करोडभन्दा बढी खर्च डोजर र गाडीहरू किन्न भएको छ’, स्थानीय रमा तिवारीले प्रश्न गरिन, ‘डोजरको साटो दमकल किन्नुपर्छ भन्ने जनताको मागप्रति गाउँपालिकाले बेवास्ता गरेको छ ।’

बुद्धशान्ति ३ का वडाध्यक्ष कमल उप्र्रेतीका अनुसार दमकल किन्नुपर्छ भन्ने सोचमा गाउँपालिका रहेको भए पनि पाल्न समस्या पर्ने थाहा भएपछि डोजर किनिएको हो । ‘दमकलमा अत्यधिक खर्च लाग्ने देखियो’, उप्रेतीले भने, ‘दमकल किन्दा विकास निर्माणमा समस्या हुने देखेर डोजर किनिएको हो ।’

दमकल ‘सेतो हात्ती’

झापाका स्थानीय तहका जनप्रतिनिधिहरूको एउटा साझा भनाइ छ, ‘दमकल पाल्नु सेतो हात्ती पालेजस्तै ।’ झापाका नगर तथा गाउ“पालिकाहरूलाई अत्यावश्यक पूर्वाधार मानिने दमकल जनप्रतिनिधिको नजरमा ‘सेतो हात्ती’ सावित भएको छ ।

मेचीनगरका एक जनप्रतिनिधिका अनुसार दमकलमा प्रयोग हुने इन्धन, मर्मतदेखि कर्मचारीको तलव भत्ता समेत नगरपालिका आफैंले व्यहोर्नुपर्ने बाध्यताले स्थानीय तहहरू दमकल किन्न डराउँछन् ।

मापदण्डअनुसार एउटा दमकलका लागि बढीमा तीन जना चालक अनिवार्य हुन्छ । कर्मचारी पाल्न स्थानीय तहहरूलाई हम्मे परेको देखिन्छ । हावाहुरीको मौसममा दमकल झन् खर्चिलो बन्ने गरेको छ । कहिलेकाहीँ एकैपटक धेरै ठाउ“मा आगलागी हुने गर्छ । धेरै टाढासम्म पनि जानुपर्ने बाध्यता छ ।

‘बोलाएका ठाउँमा जानै पर्‌यो’, दमक नगरका एक कर्मचारीले भने, ‘दमकले आसपासका नयाँ नगरपालिका र मोरङका केही जिल्ला समेत भ्याउनुपर्ने बाध्यता छ ।’ छिमेकी नगर गौरादह, शिवसतासी तथा कमल, गौरीगन्ज गाउँपालिकाका घटना भ्याउनुपर्ने हुन्छ । मेचीनगर नगरपालिकाका अनुसार एकपटक आगलागी हुँदा मासिक १० देखि १५ लाख रुपैयाँ खर्च हुन्छ ।

कहिलेकाहीँ दमकल विग्रिन्छ । पार्टपुर्जा फेर्न महँगो खर्च हुन्छ । जति कुद्छ त्यहीअनुसार दमकलमा खर्च थपिँदै जान्छ । दमकलका लागि कम्तीमा ३ जना कर्मचारी तयारी अवस्थामा चाहिन्छ ।


कर्मचारीसहितको सवै खर्च नगरपालिकाले व्यहोर्नुपर्ने बाध्यता छ । १५ स्थानीय तहमध्ये मेचीनगर, भद्रपुर, बिर्तामोड र दमकमा मात्रै दमकल छ । अर्जुनधारा, कन्काई, गौरादह, शिवसतासी नगरमा दमकल छैन । बुद्धशान्ति, कचनकवल, झापा, बाह्रदशी, गौरीगन्ज, आदि गाउँपालिका पनि दमकलविहीन छन् ।

बुद्धशान्ति गाउँपालिकाले खरिद गरेको डोजर ।तस्बिर : पर्वत।कान्तिपुर

समयमा दमकल नपुग्दा क्षति बढी

समयमा दमकल नपुग्दा आगलागीमा क्षतिबढी भएको स्थानीयवासीले बताए । बिहीबार राति पूर्वी सहर मेचीनगर नगरपालिका ६ साठी बिघाको वधशाला क्षेत्रमा भीषण आगलागी हुँदा २० घर जलेर खरानी भए । आगलागीबाट करिव डेढ करोड क्षति भएको प्र्रहरीको अनुमान छ ।

अग्नी पीडित केशव श्रेष्ठको आक्रोश थियो, ‘समयमा दमकल आइदिएको भए क्षति बढ्ने थिएन ।’ आगो लागेको करिव आधा घण्टापछि मात्र दमकल घटनास्थल आइपुगेको स्थानीयको भनाइ छ ।

घटनास्थलबाट नगरपालिका क्षेत्र गाडीमा करिब ५ मिनेटको दूरी हो । ‘बल्ल तल्ल दमकल त आयो त्यो पनि आधा ट्यांकी पानी मात्रै रहेछ’, अर्का अग्निपीडित प्रदीप राजवंशीले भने, ‘पाँच मिनेटपछि ट्यांकीको पानी सकिहाल्यो, लिन जा“दा अरू घरहरू जले ।’

करिब ८ बजेतिर लागेको आगो राति करिब १० बजे मात्र पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । आगो नियन्त्रणमा स्थानीयवासी र सुरक्षाकर्मीहरू जोखिम मोलेर सक्रिय बनेका थिए । आगो नियन्त्रणपछि अन्य क्ष्ँेत्रबाट समेत दमकल आएका थिए । छविलाल सुब्बाको घरबाट आगो सल्किएको थियो ।

घरभित्र टुकी बालेर सुब्बा दम्पती बाहिर घुम्न निस्किएका बेला टुकी लडेर सिलिन्डर ग्यासमा आगो सल्किएको थियो । केही बेरमा सिलिन्डर पड्किएको थियो । त्यसपछि अन्य घरमा समेत आगो सल्किएको थियो ।

आगलागीबाट सुवास शिवाकोटी, विक्रम साम्सुहाङ, मदन कँडेल, मानबहादुर तामाङ, रत्न सामसुहाङ, मानबहादुर गुरुङ, भुपाल तामाङको घर पूर्ण रूपमा जलेर नष्ट भयो । त्यस्तै शान्ति देवी श्रेष्ठ, गोपाल मिश्र, प्रदिप राजवंशी, मउले तामाङ, केशव श्रेष्ठ, नवीन राई र मनमाया लिम्बूको घर पनि नष्ट भयो ।


त्यस्तै छविलाल सुव्बा, धनवीर तामाङ, चन्द्रमाया पुरी, देशबहादुर सुव्बा, ज्ञानबहादुर तामाङ र रिता गिरीको घर खरानी भए । आगलागीपीडित स्थानीय राजनीतिक दल तथा संंघसंस्थाहरूले राहत वितरण सुरु गरेका छन् ।

प्रकाशित : पुस १४, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?