कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यौन हिंसाका घटना बढे

डम्बरसिं राई

खोटाङ — जिल्लामा यौन हिंसाका घटना बढेका छन् । यो आर्थिक वर्षमा मात्र १७ यौन हिंसाका घटना दर्ता भएका छन् । यौन हिंसाका घटनामा प्रहरीदेखि ६१ वर्षीय बृद्धसमेत पक्राउ परेका छन् । 

यौन हिंसाका घटना बढे

एक बालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा गत मंसिर २४ मा जालपा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक ३६ वर्षीय रमेशकुमार बस्नेत पक्राउ परेका छन् । उनले जालपाकै एक दलित बालिकामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।


उदयपुर त्रियुवा नगरपालिका–१३ असारी घर भएका बस्नेतले मंसिर १८ मा दिदीको घर हिँडेकी १४ वर्षीया बालिकालाई मोटरसाइकलमा लिफ्ट दिएर लोचा जङ्गलमा यौन दुव्र्यवहार गरेको भन्दै पीडितको जाहेरीका आधारमा पक्राउ परेका हुन् । बस्नेतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


ऐसेलुखर्क गाउँपालिका–१ राखावाङेलका ३५ वर्षीय राजु जोगीले स्थानीय २९ वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा पुस ६ मा पक्राउ गरी पुस २६ मा अदालतमा पेस गरी पुर्पक्षका लागि कारागार पठाइएको छ । केपिलासगढी गाउँपालिका २ खार्तम्छाका २० वर्षीय मनराज विश्वकर्मा स्थानीय ४१ वर्षीया महिलालाई बलात्कार गरेकोमा मंसिर २२ गते पक्राउ परी पुस १४ गते अदालतमा पेसपछि पुर्पक्षका लागि थुनामा पठाइएको छ ।


दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँकी १७ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने पाँचथर फिदिम नगरपालिका–५ का ५३ वर्षीय राजेन्द्र लिम्बू पनि पक्राउ परेका छन् । उनले मंसिर ३ गते किशोरीलाई बलात्कार गरेपछि परेको उजुरीका आधारमा कात्तिक ४ गते पक्राउ परी कात्तिक १८ गते अदालतमा पेस गरी कारागार पढाइएको छ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी १६ वर्षीया किशोरीलाई बलात्कार गर्न खोजेको अभियोगमा केपिलासगढी गाउँपालिका–७ सुङेलका २३ वर्षीय दिक्पाल राई पक्राउ परेका छन् । उनले असोज ६ मा किशोरीलाई बलात्कारको प्रयास गरेपछि उजुरीको आधारमा असोज १८ मा पक्राउ गरी कात्तिक १२ मा अदालत पेसपछि कारागार पठाइएको छ ।


त्यस्तै साकेला गाउँपालिका–२ रतन्छाका २२ वर्षीय मौसम राई स्थानीय २२ वर्षीया महिलालाई बलात्कार गर्न खोजेको अभियोगमा पक्राउ परेका थिए । उनले भदौ २२ गते स्थानीय जङ्गलमा बलात्कार गर्न खोजेको भन्दै परेको उजुरीको आधारमा असोज १० मा पक्राउपछि असोज २२ मा अदालत बुझाउँदा तारेखमा छुटेका छन् ।


खोटेहाङ गाउँपालिका–३ का ३५ वर्षीय रामकुमार भुजेल स्थानीय ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको अभियोगमा भदौ २३ गते पक्राउ परी असोज १५ गते अदालत पेशपछि कारागार पठाइएको छ ।


उनले भदौ २२ गते उक्त बालिकालाई जबरजस्ती करणी गर्न खोजेका थिए । ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेकी १४ वर्षीया किशोरीलाई जबरजस्ती गर्न खोज्ने स्थानीय १५ वर्षीय किशोरलाई भदौ ९ गते पक्राउ गरी अनुसन्धानपछि भदौ ३१ गते अदालतमा बुझाएपछि आफन्तलाई जिम्मा लगाइएको छ ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाकी २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोज्ने ३७ वर्षीय असलमान गजमेर पक्राउ परेका छन् । उनले भदौ ७ गते महिलालाई बलात्कार गर्न खोजेको उजुरीपछि भदौ ८ गते पक्राउ गरी भदौ ३१ गते अदालतमा बुझाएको र पुर्पक्षका लागि कारागार पठाइएको छ ।


दिप्रुङ चुइचुम्मा गाउँपालिका–९ टेम्माकी १३ वर्षीया बालिकालाई बलात्कार गर्ने २२ वर्षीय किशान राई पक्राउ परेका छन् । साउन १५ गते बालिकालाई बलात्कार गरी फरार रहेका राईलाई कात्तिक ७ गते पक्राउ परेका हुन् । पक्राउपछि अनुसन्धान सकेर कात्तिक १९ गते अदालतमा बुझाइएको थियो ।


त्यसपछि पुर्पक्षका लागि कारागार पठाइएको छ । साकेला गाउँपालिका–२ रतन्छाकी ३५ वर्षीया महिलालाई बलात्कार गर्ने निशान राई पक्राउ परेका छन् । साउन १ गते स्थानीय बेलिया दोभान जङ्गलमा बलात्कार गरेको उजुरी परेपछि मंसिर ३ गते पक्राउ गरी अदालतमा बुझाएर पुर्पक्षका लागि कारागार पठाइएको छ ।


खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी ३५ वर्षीया महिलालाई बलात्कार गर्ने स्थानीय ६१ वर्षीय हर्कबहादुर विश्वकर्मा पक्राउ परेका छन् । उनले साउन १५ गते बलात्कार गरेको उजुरीपछि साउन १६ गते पक्राउ गरिएको हो । पक्राउपछि अनुसन्धान सकेर भदौ १ गते अदालतमा बुझाइएको र त्यसै दिन पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।


खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकै १९ वर्षीया युवतीलाई बलात्कार गर्न खोज्ने स्थानीय ४० वर्षीय पर्शुराम विष्ट पक्राउ परेका छन् । उनलाई साउन २१ गते पक्राउ गरी अनुसन्धानपछि भदौ १ गते अदालतमा बुझाइएको र अदालतले दुई लाख ५० हजार धरौटी माग गर्दा बुझाउन नसकेपछि कारागार पठाइएको छ ।


जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका २२ वर्षीय हरिबहादुर राई स्थानीय ३२ वर्षीय महिलालाई बलात्कारपछि फरार छन् । उनले असोज १२ गते बोपुङको जङ्गलमा महिलालाई बलात्कार गरी फरार छन् । त्यस्तै स्थानीय ५४ वर्षीया महिलालाई बलात्कार गर्ने खोटेहाङ गाउँपालिका–८ कात्तिकेका ४५ वर्षीय मदन तामाङ फरार छन् ।


त्यसैगरी दिप्रुङ चुइचुम्मा गाउँपालिका– १ याम्खाकी १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने स्थानीय ३२ वर्षीय दीपक भट्टराई फरार छन् । उनले साउन ४ गते बालिकालाई जबरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।


उनीहरूको खोजी भइरहेको खोटाङ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए । ‘प्रहरीमा परेको उजुरीका आधारमा यत्तिका यौन हिंसाका घटना घटेको पाइयो ।’ डिएस्पी बस्नेतले भने, ‘उजुरी नपरेका अन्य पनि यौन हिंसाका घटना हुन सक्छन् ।’

प्रकाशित : पुस १५, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?