२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

आँखा जोगाउन सडक नाटक

जितेन्द्र साह

विराटनगर — परम्परागत पर्चा, पम्प्लेट, ब्यानर र वाल पेन्टिङ छँदै थियो । सञ्चार माध्यमबाट आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सन्दश प्रकाशन प्रसारण भइरहेकै थियो ।

आँखा जोगाउन सडक नाटक

अझ ठूलो लक्षित वर्ग र पहुँच बिहीनसम्म पुग्ने उसको चाहना थियो । यी सबै माध्यमसँगै उसले सडक नाटकको सहारा लियो । वृद्धदेखि बालबालिकासम्ममा आँखा हेरचाहको सन्देश पुर्‍याउन सुरु गर्‍यो । सफल पनि भयो । अनि यसलाई जारी राख्यो ।


सीमावर्ती रानीस्थित विराटनगर आँखा अस्पतालले २०६५ देखि तराई–मधेस भेकमा पाका उमेरका लागि ‘इजोत (उज्यालो)’ र गत वर्षदेखि बालबालिकाका लागि ‘जाँच’ भन्ने सडक नाटक मञ्चन गर्दै आइरहेको छ । अस्पतालले ठाउँ एवं परिवेश हेरी नेपाली वा मैथिली भाषामा वर्षेनी २० ठाउँमा सडक नाटक ‘इजोत’ को प्रदर्शन गरिरहेको छ ।


नाटक ‘इजोत’ मा मोतियाबिन्दु, समयमा उपचार नगराउँदा हुने जोखिम, जलबिन्दु र आँखा दानको महत्त्वमा जोड दिइएको छ । ‘मैथिली शब्द इजोतको अर्थ उज्यालो वा प्रकाश हुन्छ, आँखासँग सम्बद्ध यो नाटक स्थानीय समुदायको भाषिक बहुलता हेरी नेपाली वा मैथिली भाषामा पस्किन्छौं,’ उक्त अस्पतालका प्रबन्धक कुमार पृथुले कान्तिपुरसँग भने ।


खानपीन सम्बद्ध खराब आनीबानी सुधार्ने, हरियो साग, तरकारी र पहेंलो फलफूल खाने, आँखा सफा राख्ने, धारिलो हतियारले नखेल्ने र चोटपटक लागि हालेमा तुरुन्तै विज्ञ चिकित्सक भएका राम्रो आँखा अस्पतालमा उपचार गराउने बारेमा घचघच्याउनु सडक नाटक ‘जाँच’ को सन्दश हो ।


‘यो सडक नाटकमा जाँचको अर्थ आँखाको परीक्षण हो, विद्यालयले लिने परीक्षा होइन,’ पृथुले भने । नेपाली भाषामा मात्र प्रस्तुत गरिने यो सडक नाटक वर्षेनी ५० विद्यालयमा मञ्चन गर्ने लक्ष्य राखिएको बताए । गत वर्ष पनि ५० विद्यालयमा सडक नाटक प्रदर्शन गरेको उनले सुनाए । यी दुवै नाटकको लेखक एवं निर्देशक पृथु हुन् । विद्यालय/कलेज स्तरका छात्रछात्रामार्फत यी दुवै नाटकको मञ्चन हुन्छ ।


‘प्रशिक्षण र पारिश्रमिकको प्रबन्ध अस्पतालले नै गर्छ,’ उनले कान्तिपुरसँग भने । यी नाटकमा सहभागी भइसकेकी कलाकार स्माइली रोजीले यस्तो सामाजिक एवं जनचेतनामूलक नाटकमा काम गर्दा आनन्द लाग्ने बताइन् । ‘बालबालिकामाझ चेतना फैलाउनलाई अभिनय गर्दा अदभुत सन्तुष्टि हुन्छ, अझै यस्तो नाटक गर्न पाए हुन्थ्यो जस्तो लाग्छ,’ उनले भनिन् ।


शरीरको प्राकृतिक क्यामेराका रूपमा चिनिने आँखा सुरक्षाका लागि आखिर यो अस्पतालले नाटककै सहारा किन लिनुपर्‍यो त ? ‘उपचार सेवा त दिइनैरहेका छौं तर आँखामा समस्या देखा परिरहेका समाजका सबै बिरामी अस्पतालसम्म आइपुग्दैनन्,’ पृथुले भने, ‘आइपुग्दासम्म ढिला वा निको नहुने अवस्था हुन्छ ।’


पाकाका लागि मात्र सडक नाटक मञ्चन गरिरहेको उक्त अस्पतालले एक दसकपछि दोस्रो चरणमा सन २०१८ को जनवरीदेखि बालबालिका लागि सडक नाटक ‘जाँच’ सुरु गरेको हो ।


धेरै बेरसम्म टीभी हेर्नु, भीडीयो गेम खेल्नु, मोबाइल चलाउनु र खानपिनमा बेबास्ता यसको प्रमुख कारण भएको उक्त अस्पतालका जल बिन्दु विभागकी विज्ञ डा. रक्षा पन्तले बताइन् । उनका अनुसार बालबालिकामा बढी दृष्टि दोष, एलर्जीले आँखा रातो हुने पाक्ने र धेरै बेरसम्म एकोहोरो मोबाइल, ट्याबलेट एवं ल्यापटपलगायतका ग्याजेट्स चलाउँदा आँखाको संचरना/ढाँचा बिग्रने समस्या पाएका छौं । भिटामिन ‘ए’ को सेवनामा डा.पन्तले जोड दिइन् ।


अस्पतालले सडक नाटकअघि केही विद्यालयमा पुगेर विद्यार्थीमा आँखाबारे के र कति जानकारी छ भन्ने बारेमा पूर्व सर्वेक्षण गर्यो । त्यसपछि उक्त अस्पतालले तिनै विद्यालयमा सडक नाटक गर्‍यो । एक महिनापछि नाटक हेरेका उनै बालबालिका माझ पुगेर आँखा स्वास्थ्यबारे पुन: सर्वेक्षण गर्‍यो । ‘पूर्व सर्वेक्षणमा ५० प्रतिशत मात्र आँखाबारे सचेत पाएका थियौं,’ अस्पतालका प्रबन्धक पृथुले भने, ‘नाटक देखाइसकेपछि तीन गुणा चेतना अभिवृद्धि भएको पायौं ।’


यस एक वर्षमा मात्रै मोरङ एवं सुनसरीका विभिन्न ५० वटा विद्यालयमा उक्त अस्पतालले आँखा स्वास्थ्यको हितमा नाटक गरिसक्यो । यो अभियानलाई अगाडि बढाउँदै लग्ने क्रममा उक्त अस्पतालले सुनसरीमा १० बाल क्लब स्थापना गरेको छ ।


पाँच सदस्यीय यी क्लबमा सबैभन्दा ठूला बालक वा बालिकाको नेतृत्वमा महिनामा एकपटक स्थानीय बालबालिकाको दृष्टि परीक्षण हुन्छ । अस्पतालले यो वर्षदेखि आँखाको चेतना एवं सुरक्षा लागि मोरङका विद्यालयमा पनि बालक्लब खोल्ने योजना बनाएको छ ।

प्रकाशित : पुस १५, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?