कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्षेत्रीय विमानस्थलको तयारी

१ सय २० बिघा जमिन रहेको विमानस्थललाई २ सय ५० बिघा जमिन अधिग्रहण गरी क्षेत्रीय स्तरमा विस्तार गरिने
विनोद भण्डारी

विराटनगर — प्रदेश सरकारले विराटनगर विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणको २० औं वार्षिकोत्सव अवसरमा सोमबार मुख्यमन्त्री शेरधन राईले चाँडै २ सय ५० विघा जमिन अधिग्रहण गरी क्षेत्रीय स्तरको बनाइने बताए ।

विमानस्थल पश्चिमतर्फको अढाई सय बिघा जमिन अधिग्रहण गरेर तीन हजार मिटर धावनमार्ग बनाएर क्षेत्रीय विमानस्थल बनाउने राईको भनाइ थियो । विमानस्थलको विस्तार तथा स्तरोन्नतिका लागि आवश्यक विवरण संकलन गरिसकेको जानकारी दिँदै मुख्यमन्त्री राईले प्रधानमन्त्री र पर्यटनमन्त्रीलाई चाँडै भेटेर निर्णय गरिने बताए ।


उनले यो विमानस्थलबाट प्रदेशका विभिन्न १३ स्थान सहित पोखराका लागि चाँडै उडान सुरु गर्ने बताए । यो विमानस्थलबाट काठमाडौंका लागि विभिन्न ४ वटा जहाजले दैनिक २८ उडान गर्दै आएका छन् । त्यसैगरी तुम्लिङटार र साप्ताहिक रूपमा पर्वतीय उडान हुँदै आएको छ ।


प्राधिकरणले विमानस्थल पूर्वको ४ विघा ८ कठ्ठा जमिन हालै ७० करोड मुआब्जा तिरेर अधिग्रहण गरिसकेको छ । विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार हाल विमानस्थलको स्वामित्वमा १ सय २० विघा जमिन छ ।


हाल धावनमार्ग १ हजार ५ सय मिटर लामो छ । क्षेत्रीयका लागि कम्तीमा पनि २ हजार ४ सयदेखि तीन हजार मिटर लम्बाइ भएको धावन मार्ग आवश्यक पर्छ ।


दुई हजार चार सय मिटर बनाउने कि तीन हजार मिटरको धावन मार्ग बनाउने विषयमा गृर्हकार्य भइरहेको छ । सिटौलाले भने २ हजार चार सय मिटर बनाउँदा १ सय ५० बिघा र तीन हजार मिटर धावन मार्ग बनाउदा २ सय ५० मिटर जमिन अधिग्रहण गर्नुपर्ने हुन्छ ।


उनका अनुसार यसबारे केन्द्रले माष्टर प्लान बनाउन सुरु गरेको छ । सिटौलाका अनुसार प्राधिकरणले तत्काललाई पश्चिमतर्फको जमिन अधिग्रहण गर्ने तयारी गरेको छ । हालै गरिएको ४ बिघा ८ कठ्ठा जमिन अधिग्रहणपछि यो विमानस्थलको क्षेत्रफलको कुल लम्बाइ २ हजार १ सय मिटर पुगेको छ । विमानस्थलको दक्षीण र उत्तर तारजाली बीचको दूरी २ सय १२ मिटर छ ।


विमान स्थलको पूर्वतर्फवाट जहाज उडान र अवरणको सुरक्षाकोलागि जमिन अधिग्रहण गरेर क्षेत्रीय स्तरमा परिणत गर्ने सुरुवात गरिएको सिटौलाको भनाइ छ । उक्त जमिन अधिग्रहणपछि विमान स्थलको आन्तरिक क्षेत्रफल विस्तार र पूर्वतर्फबाट हुने उडान र अवतरणको सुरक्षाका लागि प्रयोगको तयारी गरिएको छ ।


विमानस्थलको पश्चिममा मात्र एप्रोज लाइट हुँदा रात्रिकालीन जहाज अवतरण पश्चिमबाट मात्र हुँदै आएको छ । पूर्वतर्फ एप्रोज लाइट स्थापनाका लागि अहिले अहिले अधिग्रहण गर्न लागिएको जमिनको आवश्यकता थियो । सिटौलाले भने पश्चिमतर्फ मात्र एप्रोज लाइट हुँदा पश्चिमतर्फबाट हावा चल्दा रात्रिकालीन अवतरण गर्न समस्या हुन्छ ।


दुवैतर्फबाट रात्रिकालीन अवतरण गर्न पूर्वतर्फ एप्रोज लाइटको व्यवस्था गर्नैका लागि विमानस्थलले आठ वर्ष पहिला पूर्वपट्टिको अहिले अधिग्रहण गरिएको जमिन रोक्का गरेको थियो । विमानस्थलमा जहाजको उचाइ र दूरी देखाउने भिओआर–डिएमई पश्चिमतर्फ मात्र छ ।


यो विमानस्थल २०२५ सालमा भारतको लगानीमा स्थापना भएको हो । सन् २०१८ को ११ महिनामा यो विमानस्थलबाट ४ लाख ८५ हजार ६९ जनाले यात्रा गर्दा ८ करोड ४७ लाख राजस्व संकलन भएको विमान स्थलले जनाएको छ ।

प्रकाशित : पुस १७, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?