कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पेनिक अट्याक’ भइहाले आत्तिनु पर्दैन

जितेन्द्र साह

विराटनगर — स्थानीय पिचरा बस्तीकी एक गृहिणीले राति सुत्ने बेलामा अचानक निसासिएको महसुस गर्न थालिन् । उनी सास फेर्न सकिरहेकी थिइनन् । उनी कोठाभित्रै धेरै बेर हिंडिन् ।

‘पेनिक अट्याक’ भइहाले आत्तिनु पर्दैन

खुला हावा खाँदै बरन्डाको खाटमा पल्टिन खोजिन तर सकिनन् । श्रीमानले रातो चिया र तातो पानी खुवाए । बाफसमेत लिइन् । उनी सुत्न खोजिन् । निद्रा लागेन । उनलाई परिवारले कोसी अञ्चल अस्पतालको आकस्मिक कक्षमा पुर्‍याए ।

स्वास्थ्यकर्मीले तत्काल नेबुलाइजर यन्त्रबाट केहीबेर सास फेर्न लगाए । ईसीजी, इकोकार्डियोग्राम, रक्तचाप र मधुमेह परीक्षणको पनि सामान्य रिपोर्ट आयो । मेडिकल अधिकृतले निकैबेरको सोधपुछ उनी धेरै दिनदेखि छोराछोरीको खस्कँदो पढाइलाई लिएर चिन्तित रहेको खुलासा भयो ।

चिकित्सकीय भाषामा भन्दा उनलाई ‘पेनिक अट्याक’ भएको उक्त अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रोशन पोखरेलले कान्तिपुरसँग बताए । अहिलेको प्रतिस्पर्धात्मक समयमा सन्तानको चिन्ता, दिनहुँको धपेडी र बढ्दो खर्चले हुने मानसिक दबाब एवं तनावले अचानक यस्तो स्वास्थ्य समस्या आउने गरेको उनले जानकारी दिए । पोखरेल वरिष्ठ मनोचिकित्सक पनि हुन् ।

उक्त अस्पतालको आकस्मिक कक्षमा दिनहुँ ३ देखि ५ र बहिरंगमा ५ जना यस्ता बिरामी आइरहेको उक्त अस्पतालले जनाएको छ । ‘परामर्श सेवा र औषधीबाट उपचार गर्छौं,’ उनले भने, ‘उपचार नगराउँदासम्म सामान्य जीवनयापन गर्न सकिन्न, चाँडो उपचार गराएमा बेलामै निको हुन्छ ।’

मुख्यत: बिरामीको मुटु दु:खने, आत्तिने एवं डराउने लक्षण भएको यो समस्या सुरुवाती चरणमा ह्दयघात (हर्ट अट्याक) झैं लाग्ने उनले बताए । ‘तर, यो ह्दयघात बिल्कुलै होइन,’ पोखरेलले भने । उनका अनुसार असन्तुलित खानपिन, निद्रा नपुग्नु, यौन असन्तुष्टि र दबाबयुक्त जीवनशैली भएकालाई यो हुने गर्छ । चिकित्सकका अनुसार महिलापुरुषमा बरोबरी यो समस्या देखिने गर्छ ।

‘यस्तो अट्याक भएकालाई शान्त राख्नुपर्छ, वरिपरिकाले सान्त्वना दिनुपर्छ, सकारात्मक कुरा गर्नुपर्छ,’ उक्त अस्पतालका वरिष्ठ फिजिसियन डा.दीपक सिग्दलेले भने । उनका अनुसार मधुमेह एवं उच्च रक्तचापका बिरामीलाई बारम्बार यस्तो समस्या आइरहेमा नियमित परीक्षणसँगै चिकित्सकले लेखेको औषधी पनि नछुटाई खानुपर्छ । यो जटिल स्वास्थ्य समस्याको शारीरिक र मानसिक असर हुन्छ ।

पोखरेलका अनुसार उपचार नगराएमा सोसियल फोबिया (सार्वजनिक थलोमा बोल्दा वा इन्टरभ्यु दिंदा हुने चिन्ता) एवं डिप्रेससनसमेत हुन सक्छ । स्वत: स्फूर्त रुपमा उचित उपचार गराएमा मनबाट डर हराउने, आत्मविश्वास फिर्ता आउने र जीवन पुन: सामान्य हुँदै जाने उक्त अस्पतालका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सर्वेशकुमार झाले बताए ।

उनका अनुसार स्नातकोत्तरको थेसिस, पीएचडी वा अन्तिम जाँचको तयारीमा व्यस्त विश्वविद्यालयका छात्रछात्रालाई पनि यो समस्या हुने गर्छ । यस्तो खाले अट्याकपछि बेहोस भई आकस्मिक कक्षमा पुर्‍याएको आधी घण्टासम्ममा बिरामी होस्मा आउने उनले सुनाए ।

‘यस्तो खाले अट्याक दोहोरिन नदिन बढी मानसिक एवं शारीरिक श्रम गरेको दिनमा सुत्नुभन्दा दुईचार घण्टा अगाडि औंषधी सेवन गर्नुपर्छ, भारी काम गर्ने बेलामा मुटु दु:खेमा खाने औषधी पनि दिन्छौं,’ डा. झाले भने ।

विज्ञका अनुसार पेनिक अट्याक भनेको नयाँ पता लागेको स्वास्थ्य समस्या होइन । २०६२/६३ को आन्दोलनपछि बढ्दो राजनीतिक आकांक्षा, धन तथा नाम कमाउने प्रतिस्पर्धा, बढ्दो महंगी र अरुकाभन्दा आफू एवं छोराछोरीलाई अगाडि देख्ने चाहनाले यो बढेको हो । ‘दुई दसक अघिको तुलनामा यो समस्याबाट ग्रसितको संख्या झन्डै ५० प्रतिशत बढेको हो,’ डा.पोखरेलले भने ।

विज्ञका अनुसार विनाकारण वा पूर्व संकेत नदिइ जतिखेर पनि हुन सक्ने यो अट्याक १० मिनेटभित्रै उत्कर्षमा पुग्छ ।

प्राय: बिरामी २० देखि ३० मिनेटमा सामान्य स्थितिमा पनि आउँछन् । कमै बिरामीमा यसको असर एक घण्टाभन्दा बढीसम्म रहन्छ । छिछिटो सास चल्नु, ढुकढुकी बढ्नु, छाती दु:खने वा असहज महसुस हुने, काम्नु, इसाराले बोल्न खोज्नु, शरीरले साथ छाडेझैं लाग्नु, पसिनाले भिज्नु, बान्ता आउलाजस्तै हुनु, पेटमा गडबडी र स्तब्ध हुनुजस्ता अनौठा लक्षण यो अट्याकमा देखा पर्छ ।

प्रकाशित : पुस १९, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?