कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

गुराँस क्षेत्रमा आगन्तुकको घुइँचो

चन्द्र कार्की

तेह्रथुम — तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा आन्तरिक र वाह्य पर्यटकको चहलपहल बढेको छ । वसन्तपुरको पदमार्ग भएर कञ्चनजंघा, मकालु र कुम्भकर्ण हिमालको आधार शिविरतर्फ जाने विदेशी पर्यटकको संख्यासमेत उल्लेख्य वृद्धि भएको छ ।

गुराँस क्षेत्रमा आगन्तुकको घुइँचो

गुराँस फुल्ने बेला हुन लागेकाले आन्तरिक पर्यटकको आगमन पनि बढेको होटल व्यवसायी धु्रव खड्काले बताए । कात्तिक सुरु भएयता यो क्षेत्रमा आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको खड्काले बताए ।


वसन्तपुर र तीनजुरेको फेदी आरआर गार्डेनमा मात्र दैनिक १ हजारको हाराहारीमा आन्तरिक पर्यटक आइरहेको पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठले जानकारी दिए । यस क्षेत्रमा पछिल्लो समय पर्यटकीय पूर्वाधार समेत निर्माण भइरहेकाले पर्यटकको संख्या बढिरहेको पर्यटन व्यवसायीको भनाइ छ । पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा तीनजुरे डाँडामा करीव २ करोड रुपैंयाको लागतमा भ्युटावर बन्ने क्रममा छ ।


यो क्षेत्र पछिल्लो समय पर्यटकको रोजाइमा परेकाले सुविधायुक्त भ्युटावर निर्माण थालिएको पर्यटन मन्त्रालयका उपसचिव पुष्पराज कटुवालले बताए । टिएमजेलाई पर्यटन मन्त्रालयले हालै पर्यटकीय नयाँ गन्तव्यको सूचीमा राखेको छ । पछिल्लो समय कोसी पहाडको पर्यटन व्यवसाय फस्टाउँदै गएकाले पर्यटकीय सम्भावना बोकेका व्यवसाय छनोट गरी लगानी बढाइएको ब्लाक वाटर रिसोर्टका सञ्चालक धर्मराज खड्काले बताए ।


पर्यटक आगमनको संख्या देखेर उनले वसन्तपुर नजिक कालापानीमा ३ करोड रुपैयाँ लागतमा सुविधायुक्त रिसोर्ट सञ्चालनमा ल्याएका छन् । ‘यस क्षेत्रमा पर्यटन व्यवसायले गति लिँदै गएको छ,’ खड्काले भने । भविष्यमा यो क्षेत्र १ नम्बर प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बन्ने सोचेर धरानको बसोबास छोडेर यहाँ आएर रिसोर्टमा लगानी गरेको उनले बताए ।


वर्षको ६ महिना विदेशी पर्यटकका कारण भरीभराउ हुने यो पदमार्गका होटल तथा लजहरू अहिले आन्तरिक पर्यटकले भरिभराउ छन् । यो पदमार्गमा विदेशी पर्यटकसमेत आउन थालेपछि होटल व्यवसायीदेखि पदमार्गमा खुलेका साना पसल तथा अन्य व्यवसायमा लागेकाहरूसमेत हौसिएका छन् ।


पर्यटकको संख्या बढेर पहिले भएको होटलमा बास बसाउन समस्या भएपछि वसन्तपुरमा रहेको याक होटलका सञ्चालक पेम्वा छिरिङ भोटीयाले ठुलो लगानीमा सुविधा सम्पन्न होटल संचालनमा ल्याएका छन् । केही महिना भित्रै होटल संचालनमा ल्याउने तयारकिा साथ निर्माणको काम भैरहेको संचालक भोटीयाले वताए । याक होटल यो क्षेत्रकै वढी विदेशी पर्यटक आएर वस्ने होटलमा पर्छ ।


वसन्तपुरसम्म स्थलमार्ग भएर सवारी साधन मार्फत आउने विदेशी पर्यटक यहांबाट माथी पैदलै जान्छन् । काठमाडौंमा रहेका विभिन्न ट्रेकिङ एजेन्सीले समेत यहां सम्म विदेशी पर्यटक घुमाउन ल्याउन थालेका छन् । स्थलमार्ग मार्फत सवारी साधनमा वसन्तपुर सम्म आएका पर्यटकको पहिलो क्याम्प वसन्तपुर आसपासका खुल्ला चौरमा हुने गरेको छ ।


दोश्रो दिन गुफा वजारमा बास वसेपछि उनीहरू तेस्रो दिन ताप्लेजुङको गोर्जा पुग्छन् । विदेशी पर्यटक फुरुम्वु र छिरुवा हुदै कञ्चनजंघा आधार शिविर पुगेर फर्किन्छन् । तर यतीबेला मौषम चिसो भएकाले माथिल्लो क्षेत्रमा पर्यटकको संख्या भने कम हुने गरेको छ ।


‘मौसम चिसो भए पनि विदेशी पर्यटक आउन थालेका छन्,’ गुफा बजारमा रहेको याक होटलकी सञ्चालक डोङगा लामाले भनिन् । पर्यटक आउन थालेपछि स्थानीय बासिन्दाले पर्यटकको समान बोक्नेदेखि बाटो देखाउनेलगायत काम पाएका छन् ।

प्रकाशित : पुस २१, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?