१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजमार्गका रुख काटिए

पर्वत पोर्तेल

चारआली, झापा — सडक र बजार व्यवस्थित गर्ने नाममा पूर्व–राजमार्ग आसपासका ५० बढी रुख काटिएको छ । मेचीनगर नगरपालिकाको अगुवाइमा 
प्रहरी, प्रशासन र वन कार्यालयसमेतको संलग्नतामा जरैसहित रुख मासिएको हो । 

राजमार्गका रुख काटिए

चारआली बजारको आधा किलोमिटर आसपासमा काटिएका रुखमा सबभन्दा बढी वर र पिपल छन् । बाँकी कदम छ । वर र पिपल मान्छेका लागि चाहिने अक्सिजन र नाइट्रोजनको महत्त्वपूर्ण स्रोत मानिन्छ । रुख काटिएपछि पूर्व–पश्चिम र मेची राजगमार्गको संगमस्थल मानिने चारआली बजार झन् कुरुप बनेको छ । ‘अव्यवस्थित वजारका कारण कुरुप भयो भनेर सबै रुख काटियो,’ एक स्थानीयले भने, ‘रुख काटेपछि झनै कुरुप बनेको छ ।’


मेचीनगर १३ का वडाध्यक्ष कृष्ण सिग्देलका अनुसार राजमार्ग आसपास वर्षौं पुराना रुखहरू थिए । जसका कारण भविष्यमा दुुर्घटना निम्तने डरले बेलैमा काटेका हौं । गत वर्ष रुखको हाँगा भाँचिएर चार जना स्थानीय घाइते भएको उदाहरण दिंदै सिग्देलले थपे, ‘हावाहुरीको समय नजिकिँदै छ, पुन: दुर्घटना नहोस् भनेर रुख काटेका हौं ।’


उनले काटिएको एक रुख बराबर १० वटा बिरुवा लगाउने नगरको योजना रहेको बताए । वृक्षरोपण कहिले गर्ने भन्नेबारे उनले यकिन मिति भनेनन् । वातावरणविदहरूका अनुसार हुर्किएका रुख काट्नु मानव स्वास्थ्यकै लागि समेत हानिकारक हुन सक्छ । एउटा रुखको बिरुवा वयस्क हुन वर्षौं लाग्छ ।


वडाध्यक्षका अनुसार सडक विभाग कार्यालय दमकसँगको सहकार्यमा राजमार्ग स्तरोन्नति गरिएको बताए । अहिले राजमार्ग बढाएर साढे ८२ बनाइएको छ । उनले भने, ‘सडक फराकिलो पारिएसंगै सडक दुर्घटना समेत न्यूनीकरण भएर जाने पक्का छ ।’ जिल्ला वन कार्यालयका डीएफओ विष्णु घिमिरेका अनुसार राजमार्ग आसपासको जमिन अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने र राजमार्ग फराकिलो बनाउने अभियानसंगै राजमार्ग आसपासका रुखहरूसमेत हटाउनुपरेको दाबी गरे । ‘राजमार्ग फराकिलो बनाउन रुखहरू बाधक थिए । सबै निकाय मिलेर हटाइएको हो,’ घिमिरेले भने ।


काटिएका रुखबाट सयौं क्युफिट काठ उत्पादन हुने अनुमान छ । उक्त काठ टाँचा लगाएर बिक्रीका लागि जिल्ला वन कार्यालयमा पठाइने रेन्जर सुरेश खनालले बताए । उनले वडा कार्यालयसंगको सहकार्यमा वर र पिपलका काठहरू चाहिं स्थानीय पाउ पाथिभरा मन्दिरलाई दिइन लागिएको बताए । यता राजमार्ग आसपास पसल सञ्चालन गरेर बसेका सर्वसाधारणले भने विकल्पबिनै पसलहरू हटाएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले चाँडोभन्दा चाँडो वैकल्पिक व्यवस्था गर्न माग गरे ।


वडाध्यक्ष सिग्देलले सडक आसपासका व्यापारीहरूलाई आइतबारे साप्ताहिक हटियामा व्यवस्थित गरिने र आइतबारे हटियाका व्यापारीलाई धुलाबारी क्षेत्रमा सारिने जनाए । ‘त्यसका लागि नगरपालिकाले जमिन लिजमा लिइसकेको छ,’ उनले भने, ‘चाँडै व्यवस्थित गर्ने योजना छ ।’

प्रकाशित : पुस २१, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?