रोकिएन गाँजा खेती

रोप्ने बेलामा वास्ता नगर्ने, पाकिसकेपछि रोक्ने प्रयास निरर्थक 
उदयपुरमा गाँजाको व्यावसायिक उत्पादन माओवादी सशस्त्र द्वन्द्वसँगै सुरु

उदयपुर — जिल्लाका पश्चिमउत्तर क्षेत्रका भइरहेको गाँजा खेती नियन्त्रण हुन सकेको छैन । प्रहरीले नियन्त्रण गर्ने भन्दै वर्षेनी हजारौं बोट गाँजा नष्ट गरे पनि यसको खेती भने रोकिएको छैन ।

रोकिएन गाँजा खेती

गाँजा उत्पादन रोक्न रोप्ने समयमै कडाइ गर्नुपर्ने हो । फसल (बिक्री गर्ने अवस्था) तयार भएपछि मात्रै नष्ट गर्ने गरिएकाले नियन्त्रण प्रयास प्रभावकारी हुन नसकेको हो । ‘पाकिसकेको गाँजा नष्ट गरेर समाधान हुँदैन,’ ताप्लीका नरेन्द्र कुमालले भने, ‘गाँजा साँच्चै रोक्ने हो भने बिरुवा लगाउने समयमै रोक्नुपर्छ ।’ ताप्ली गाउँपालिका र आसपासको क्षेत्रमा वर्षौंदेखि गाँजा खेती हुँदै आएको छ ।


झन्डै ५/७ वर्षदेखि प्रहरीले गाँजा नष्ट गरिरहेको छ । वार्षिक हजारौं बोट गाँजा नष्ट गरेर प्रहरीले नियन्त्रण भएको दाबी गर्ने गरेको छ । तर खेती गर्ने किसानको संख्या घटे पनि गाँजा खेतीलाई खासै प्रभाव नपारेको सर्वसाधारणले बताए ।


यस वर्ष पनि साताअघि ताप्ली गाउँपालिकाको विभिन्न क्षेत्रमा राेिपएका ५ हजार बोट गाँजा प्रहरीले नष्ट गर्‍यो । कात्तिक मंसिरमै पहिलो लट गाँजा उत्पादन भई बजारमा गएपछि प्रहरीले बल्ल गाँजा नष्ट गर्‍यो । ‘कात्तिक मंसिरमै पहिलो लटको उत्पादन बजार गइसक्छ,’ एक स्थानीयले भने, ‘दोस्रो र तेस्रो लट माघ र फागुनमा चल्ने हो ।’


गाँजा उत्पादन गर्ने किसानका अनुसार पहिले जस्ता सजिलो भने छैन । उदयपुरमा गाँजाको व्यावसायिक उत्पादन माओवादी सशस्त्र द्वन्द्वसँगै भएको किसानले बताए । विशेष गरेर ०४८ सालतयता उदयपुरको पश्चिम उत्तर क्षेत्रमा पर्ने रुपाटार र ओख्लेबाट गाँजा खेती सुरु भएको हो । ०४८ सालबाट सुरु भएको गाँजा खेती ०५२ सालदेििख क्रमस मौलाउँदै गएर अहिलेसम्म भइरहेको सम्बद्ध किसान बताउँछन् । ‘विकल्प नहुँदा गुजाराकै लागि खेती गरियो,’ ती किसान भन्छन्, ‘पहिले गुजाराका लागि अहिले व्यावसायका लागि गाँजा खेती गरिँदै छ ।’


इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब निरीक्षक गोविन्द लालकर्णको नेतृत्वमा गएको प्रहरी टोलीले साता पहिले गाँजा नष्ट गरेको थियो । तर त्यो टोलीले ५ हजार बोट गाँजा नष्ट गर्दैमा गाँजा खेती नियन्त्रण हुन नसक्ने प्रहरी अधिकारी नै बताउँछन् । ‘गाँजा नष्ट गर्न त्यसको विकल्प दिन सक्नुपर्‍यो’ एक प्रहरी अधिकृतले भने, ‘वर्षेनी गाँजा नष्ट गरेर मात्र समाधान हुँदैन ।’


प्रहरीको रेकर्डअनुसार आर्थिक वर्ष ०७१/०७२ मा १ हजार ९९ रोपनी जग्गामा गरिएको गाँजा खेती नष्ट गरेको देखाउँछ । ०७२/०७३ मा १ हजार ८ सय १६ रोपनी, ०७३/०७४ मा १ सय ७४ रोपनी ,०७४/०७५ मा १७ रोपनी नष्ट गरेको थियो । चालु आर्थिक वर्षमा ५ हजुर बोट अनुमानित १० रोपनी क्षेत्रफलमा लगाएको गाँजा नष्ट गरेको प्रहरीको तथ्याकमा उल्लेख छ । तर त्यसको विकल्प दिन नसक्दाँ पुन किसान गाँजा खेतीमै फर्किदै गरेको स्थानीयले वताए ।


केन्द्रीय स्तरबाटै विकल्प दिन सकेमात्रै गाँजा खेती नष्ट हुने ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए । ‘गाँजा खेती गर्नेको संख्या घटेको छ, तर विकल्प दिन नसक्दा गाँजा खेती उन्मूलन गर्न सकिएको छैन,’ प्रमुख थापाले भने, ‘अहिलेसम्म गाँजाको विकल्पमा केन्द्र, प्रदेश र स्थानीय तीनै तहका सरकारले गाँजाको विकल्प दिन सकेको छैन ।’ तर गाँजा खेती गर्ने केही किसान आफैं विकल्पमा लागेको उनले बताए ।


स्थानीय तहले गाँजाको विकल्पमा सुन्तला, नास्पाति, कागतीलगायत बिरुवा रोप्न सुझाएको थियो । त्यसै अनुरूप गत वर्ष सुन्तला, नास्पाती, कागतीलगायतको बिरुवासमेत वितरण गरेको प्रमुख थापाले बताए । त्यसैगरी सरकारले ताप्ली गाउँपालिकालगायत छिमेकी स्थानीय तहलाई समेटेर सुन्तला जोन कार्यक्रम लागु गरेकाले पनि केही हदसम्म गाँजा खेती गर्ने किसान विकल्पमा लागेको गाउँपालिका प्रमुख थापाले बताए ।


उदयपुरको गाँजा भारतमा

उदयपुरमा उत्पादन भएको गाँजाको मुख्य बजार भनेको भारत नै हो । भरीयामार्फत ढुवानी गरेर गाँजा भारत पुर्‍याइन्छ । पहिले भरियाले चुरे जंगलको बाटो हुँदै सिरहा, सप्तरीबाट भारत पुर्‍याउने गरेका थिए ।


अहिले चुरेको बाटामा प्रहरीको बढी निगरानी हुने भएकाले सुनकोसी नदीमा बाँसको चागमा राखेर कोसी व्यारेज हुँदै भारत पुग्ने गरेको ओसारपसारमा संलग्न भरिया नै बताउँछन् ।


विगतमा भरियाले इनामेको रुन्चे भञ्याङ्ग, तावाखोला हुँदै रिस्कुबाट सिरहाको मुक्सारदेखि भारत, लेखगाउँको नारिमाला हुँदै कटारी र रिस्कुको जंगलबाट सिरहाबाट पनि भारत, सोरुछविसे, लिम्पटारको सोरुङखोला र कमला नदीको बाटो धनुषा हुँदै भारत निकासी गर्ने बाटोसमेत परिवर्तन भएको बताइन्छ ।

प्रकाशित : पुस २१, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?