कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मानसिक बिरामी स्याहार्दै कैदीबन्दी

धनकुटा — कारागारभित्रै मानसिक सन्तुलन गुमाएका उमेश रम्तेल अन्य कैदी बन्दीका साथ बस्छन् । डेढ वर्षदेखि कारागारमा रहेका उनको व्यक्तिगत सरसफाइ समेत अरू कैदीबन्दीको सहयोगबाट हुने गरेको छ ।

मानसिक बिरामी स्याहार्दै कैदीबन्दी

अझै ८ वर्ष कैद भुक्तान गर्नुपर्ने रम्तेलसहित जटिल प्रकारका स्वास्थ्य समस्याका बिरामी अन्य व्यक्तिका साथ रहँदा कुनै पनि अस्वाभाविक घटना हुन सक्ने चिन्तामा छन्, धनकुटा कारागारका कैदीबन्दी । २५ जनाको क्षमता रहेको कारागारमा कोचिएर ६९ जना बस्दै आएका छन् ।


जीर्ण भवनको सानो कोठालाई कारागारको रूप दिइएको स्थानमा कतिपय दीर्घ रोगी समेतसँगै कोचाकोच गरेर रहँदा जटिलता निम्तिएको त्यहाँ ९ वर्षदेखि बस्दै आएका पूर्वचौकीदार देवराज अधिकारी बताउँछन् ।


एक जनालाई रूघाखोकी मात्र लाग्दा पनि अरू धेरैलाई सर्ने गरेको उनले सुनाए । ‘थोरै अटाउने कोठामा कोचाकोच गरेर बस्नु पर्दा हामीले सास्ती खेप्नु परेको छ’, उनले भने, ‘कम्तीमा सहज रूपमा बस्न सक्ने व्यवस्थापन गरिनुपर्छ ।’ मानसिक बिरामीबाट जुनसुकै समयमा पनि जोखिमपूर्ण व्यवहार हुनेमा अन्य कैदीबन्दी चिन्तित छन् ।


कैद जीवन भोग्दै आएका चौकीदार डिल्लीप्रसाद अधिकारीले पनि मानसिक बिरामी एकै स्थानमा रहँदा सास्ती खेप्नु परेको बताए । जथाभावी फोहोर सौच गर्दा आफूहरूले नै सरसफाइ गर्नुपर्ने पिरलो रहेको उनले जनाए । अरूबाट सर्ने प्रकारका रोगबाट पनि चाँडै असर गर्ने गरेको उनको भनाइ छ ।


नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई संक्रमण अझ चाँडो हुने गरेको छ । मानसिक असन्तुलन रहेका बिरामीलाई व्यवस्थापन गरिनुपर्नेमा कारागारका लेखापाल जीवन कटेल सहमति जनाउँछन् । नयाँ भवन बनाएर कैदीबन्दीलाई सहज रूपमा राख्ने पहल भइरहेको उनले बताए । तर कारागारको नाममा पर्याप्त जग्गा भए पनि नयाँ भवन बनाउने टुंगो लागिसकेको छैन ।


नियमित फिजियोथेरापी गर्नुपर्ने बिरामीलाई भने अन्यत्र सरुवा गर्ने गरेको उनले बताए । वर्षौंदेखि जीर्ण भवनको कोठालाई कारागारको रूप दिइएको जेलर टंकबहादुर श्रेष्ठ बताउँछन् । केही वर्षअघि महिला कैदीबन्दीका लागि नयाँ भवन बने पनि पुरुषका लागि पुरानै भवन काम चलाउका रूपमा रहेको छ ।


पक्षघात भएकाको बिजोक

छथर जोरपाटी २ स्थित हात्तीखर्क घर भएका ५२ वर्षीय पहलमान सारू मगर मस्तिष्क पक्षघातबाट थलिएका छन् ।


२०६७ सालदेखि कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका मगरको अवस्था दयनीय बन्दै गएको छ । दस दिनअघि स्वास्थ्य समस्या देखिएपछि आकस्मिक उपचारका लागि जिल्ला अस्पताल लगिएका उनलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको जेलर टंकबहादुर श्रेष्ठले बताए ।


उपचार गरेर फर्काइएका मगरलाई हाल कारागारको अन्य कैदीबन्दीभन्दा फरक स्थानमा राखिएको छ । कारागारमा बिरामी कैदीबन्दीको स्याहार गर्ने व्यवस्थापन अभावमा मगरका छोरा दुर्गबहादुरलाई साथमा राखिएको छ ।


बाबुसँगै दिनरात बस्नु पर्दा आफैं बिरामी हुने अवस्था आएको दुर्गबहादुरले बताए । ओच्छ्यान मै दिसापिसाब हुने गर्दा स्याहार्नै समस्या हुने उनले जानकारी दिए । ‘हिँडडुल गर्न नसक्ने थला परेका व्यक्तिलाई यो अवस्थामा जेलमा राखिदा चिन्ता लागेको छ’, उनले भने, ‘घरैमा स्याहार्न पाए हुन्थ्यो ।’


उपचारका क्रममा हालसम्म ४८ हजार रुपैयाँ खर्च भइसकेको जेलर श्रेष्ठले बताए । सामान्य होस भए पनि बोल्न समेत नसक्ने उनी चौबिसै घण्टा ओच्छ्यानमा थलिएका छन् । कारागारमा कैदीबन्दीका लागि वार्षिक करिब १ लाख औषधि खर्च बापतको बजेट रहेको जनाइएको छ । चिसो कोठामा कोचिएर बस्नु पर्दा श्वासप्रश्वासका बिरामी समेत बढेका छन् ।

प्रकाशित : पुस २२, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?