मलामीलाई १५ हजार जरिवाना

आमाको हत्या गरेको खुलेपछि छोराबुहारी पक्राउ
‘छिमेकमा मरिमराउ हुँदा स्वाभाविक रूपमा मलामी गइन्छ, तर यो मलामी महँगो पर्‍यो’
विनोद भण्डारी

विराटनगर — मोरङ धनपालथान ७ की ८० वर्षीया रुब्दो राजबंशीको मलामी गएका दिवाकर राजबंशीले १५ हजार जरिवाना तिरे । त्यहीँका प्रतिलाल र ताराचन राजबंशीले पनि मलामी गएकै कारण जनही १५ हजार जरिवाना तिरे । रुब्दोको मलामी १२ जना गएका थिए ।

मलामीलाई १५ हजार जरिवाना

सबैले जनही १५ हजार तिर्नुपर्‍यो । तीमध्ये ८ जनाले जरिवाना तिरिसकेका छन् । बाँकी चार जना फरार छन् । उनीहरूलाई जिल्ला अदालत मोरङले जरिवाना तोकेको हो ।

‘छिमेकमा मरिमराउ हुँदा स्वाभाविक रूपमा मलामी गइन्छ,’ मलामीमध्येका दिवाकरले भने, ‘तर यो मलामी महँगो पर्‍यो ।’ मृत्यु भएको भन्ने खबर आएपछि आफूहरू घर गएर त्यतैबाट मलामी गएको उनले बताए । ‘लास हेर्न दिइएको थिएन, हामीले अन्यथा सोच्ने कुरा पनि भएन,’ उनले भने, ‘पछि बुझ्दा पो रुब्दोलाई छोराले मारेको थाहा भयो ।’

रुब्दोको मृत्यु कात्तिक २२ राति र अन्त्येष्टि २३ गते भएको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका निरीक्षक कविन्द्र कार्कीका अनुसार उनको मृत्यु कालगतिले नभई छोरा भेटलु र बुहारी रामकुमारीको पिटाइले भएको थियो । यो पुष्टि भएपछि दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न र मलामीलाई जनही १५ हजार जरिवाना तिर्ने आदेश अदालतबाट भएको उनले बताए ।

स्थानीयका अनुसार रुब्दोको नाममा ८ बिघा जमिन थियो । भेटलु उनका एक्ला सन्तान हुन् । उनलाई कमाइ खान एक बिघा दिएकी थिइन् । छोरा बुहारी र रुब्दोबीच मिलाप थिएन । त्यसैले उनी बेग्लै बस्दै आएकी थिइन् । ‘बिहानबेलुका खाना छोरा बुहारीले नै पुर्‍याइदिन्थे,’ प्रहरी निरीक्षक कार्कीले भने, ‘कात्तिक २२ राति पनि छोराबुहारी खाना लिएर रुब्दोकोमा पुगे । त्यस बेला रुब्दोले नराम्रो गाली गरिछन्, त्यही झोंकमा छोरा भेटलुले कोदालोले टाउकोमा प्रहार गरेछन् ।’

आमाको हत्यापछि भेटलु र रामकुमारीले घटना आमा लडेर मरेको बनाउन रुब्दोलाई ओछ्यानमै कपडाले छोपेर राखेर कपडा र भुइँमा लपतिएको रगत धोइपखाली गरेर प्रमाण मेटाउने काम गरेछन् । भोलिपल्ट उज्यालो भएपछि भेटलुले गाउँलेलाई आमा राति खाटबाट लडेर मरेको सुनाएका थिए । प्रहरी निरीक्षक कार्कीले भने, ‘त्यस दिन भाइटीका भएकाले उनका १२ जना छिमेकी घटनास्थल पुगेर लासको सदगद गरेछन् ।’ तर लास उठाउँदा र सदगद गर्दा भेटलुले आमाको अनुहार (कोदालोले हानेको ठाउँ) कसैलाई पनि हेर्न दिएनछन् । ‘त्यसपछि मलामीलाई शंका लागेछ,’ उनले भने, ‘सदगद गरेको दिन राति एक स्थानीयले फोन गरेर रुब्दोको मृत्यु कालगतीले नभई हत्या हुन सक्ने भन्दै जानकारी दिए ।’

त्यसपछि लगत्तै प्रहरी घटनास्थलमा पुग्यो । प्रहरी त्यहाँ पुग्दा भेटलु आमाको क्रिया गर्न बसेका थिए । प्रहरीले उनकी पत्नी रामकुमारीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा भेटलुले आमाको गाली सहन नसकेको झोकमा कोदालोले हान्दा उनको तत्कालै मृत्यु भएको र मलामी कसैलाई पनि कोदालोले हानेको ठाउँ हेर्न नदिएर सदगद गरेको स्वीकारेका थिए ।

रुब्दोका सबै कपडा जलाउनुका साथै घटनास्थलका सबै प्रमाण भेटलुले नष्ट गरेका थिए । ‘हत्यामा प्रयोग गरिएको कोदालो प्रहरीले फेला पार्‍यो । कोदालोमा लागेको रगतका कारण प्रहरीले अनुसन्धानलाई टुंगोमा पुर्‍याएको कार्कीको भनाइ छ ।

प्रहरीले प्रारम्भिक छानबिन प्रतिवेदनका आधारमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । केही दिनअघि जिल्ला अदालत मोरङका न्यायाधीश कृष्णमुरारी सिवाकोटीको इजालसले भेटलु र रामकुमारीलाई पुर्पक्षका लागि थुनामा राख्ने र मलामी सबैलाई जनही १५ हजार जरिवाना गर्ने आदेश गरेको हो ।

रुब्दोको मलामीमा स्थानीय दिवाकर राजबंशी, दुर्गाप्रसाद राजबंशी, प्रतिलाल राजबंशी, पाण्डव राजबंशी, विक्रम राजबंशी, ताराचन राजबंशी, मंगल राजबंशी, सुरज राजबंशी, अर्जुन राजबंशी, नेफालाल राजबंशी, अशोक मण्डल केवट र सुमन गिरी मलामी गएका थिए । तीमध्ये दिवाकर, दुर्गाप्रसाद प्रतिलाल, पाण्डव, विक्रम, ताराचन, अशोक र सुमन अदालतमा हाजिर भएर जनही १५ हजार बुझाएका छन् । प्रहरीका अनुसार मंगल, सुरज, अर्जुन र नेफालाल फरार छन् ।

प्रकाशित : पुस २४, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?