मुसहर बस्ती विस्थापित हुने अवस्थामा

मदन भण्डारी लोकमार्ग विस्तारसँगै कटारी नगरपालिका ४ बसपार्क नजिकको मुसहर बस्ती प्रभावित
‘सरकारले जग्गा दिएर घर बनाइदियो, अब फेरि सुकुम्बासी हुने भइयो’

कटारी, उदयपुर — धरान–चतरा–हेटौंडा सडक योजना (मदन भण्डारी लोकमार्ग) विस्तारसँगै कटारी नगरपालिका ४ बसपार्क नजिकको मुसहर बस्ती विस्थापित हुने भएको छ । दक्षिण क्षेत्रमा प्रशस्त स्थान भए पनि नजिकैबाट सडक विस्तार हुँदा २२ परिवार रहेको मुसहर बस्ती विस्थापित हुने अवस्थामा पुगेको हो ।

मुसहर बस्ती विस्थापित हुने अवस्थामा

सडक विस्तारसँगै बस्ती विस्थापित भएमा त्यहाँका मुसहर पुन: सुकुम्बासी हुने छन् । सरकारले सुकुम्बासी मुसहरलाई २०५५ सालमा अहिले बसोबास गरिहेको जग्गामा लालपुर्जा दिएर जग्गाको मालिक बनाएको हो । सरकारले नै जनता आवासअन्तर्गत घर बनाइदिएको छ ।


पुस्तौंदेखि अहिले बसोबास गरिरहेका स्थानमै मुसहरहरू बस्दै आएका थिए । विकल्प नहुँदा तावा खोला किनार र कटारी बजारभन्दा तल खोलाछेउ बस्दै आएका सरकारले उनीहरूकै नाममा जग्गा दर्ता गराएर लालपुर्जा समेत दिएको थियो । तर अब विकल्प नदिई बस्तीबाटै सडक विस्तार हुने भएपछि समस्यामा परको स्थानीय बताउँछन् । ‘दुई पुस्ता अहिलेकै स्थानमा बित्यो,’ स्थानीय रामकुमार सदाले भने, ‘दुई पुस्ता बितेपछि तेस्रो पुस्ता मेरो बुवालाई सरकारले जग्गा दर्ता गरिदिएको हो ।’ सरकारले नै दिएको जग्गा सडक विस्तार हुने भएपछि फेरि सुकुम्बासी हुने अवस्था भएको उनले बताए ।


सडक विस्तार गर्न बस्तीभन्दा दक्षिण क्षेत्रमा तावाखोला किनारको खाली जग्गा रहेको रामकुमारले बताए । तर त्यस क्षेत्रमा नलगेको र अन्य बोलवाला भएका व्यक्तिको जग्गा र घर बचाएर मुहसर बस्तीतर्फ सडक विस्तार गरेको स्थानीयको आरोप छ ।


अहिले सडक विस्तार गर्ने क्रममा बस्तीबाटै विस्तार हुँदै गरेको स्थानीय रमेश परियाले बताए । तलतिरबाट सडक लैजाँदा बस्ती बच्ने उनको भनाइ छ । तर सडक सर्भे भइसकेकाले अहिले आएर फेर्न नमिल्ने भन्दै बस्तीबाट सडक बन्न लागेको उनले बताए । ‘सडक बस्ती विस्थापित हुँदै निर्माण हँुदै छ,’ रमेशले भने, ‘बस्ती बचाएर लैजान बारम्बार अनुरोध गरिए पनि यसतर्फ ध्यान गएको छैन ।’ सडक विस्तारबाट बस्ती विस्थापित भए मुसहरसँगै दुई घर परियार परिवार पनि सुकुम्बासी हुने उनले बताए ।


बाजेकै पालमा बसेको बस्तीलाई सरकारले नापी गरेर पुर्जा दिएको स्थानीय ५३ वर्षीया नन्दमाया परियारले बताइन् । ‘सरकारले दिएको जग्गा अब सरकारले नै सडक बनाउने भन्दै खोस्ने भयो,’ उनले भनिन्, ‘जग्गा पाउने बुढा पनि मरेर गए, भएका छोराछोरी, नातिनातिना लिएर अब काहाँ जाने ।’ पुन: सुकुम्बासी भएर जंगलक्षेत्र वा खोला किनारमै बसोबास गर्नुपर्ने अवस्था रहेको उनले बताइन् ।


लोकमार्ग विस्तारले मुसहर बस्ती विस्थापित हुने कटारी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष कृष्ण दनुवारले बताए । ‘पटकपटक मुसहर बस्ती जोगाएर सडक विस्तार गर्न पहल गरियो,’ दनुवारले भने, ‘अहिले पनि २२ परिवार रहेको मुसहर बस्ती जोगाएर सडक विस्तार गर्न पहल भइरहेको छ ।’ विकल्प हुँदाहुँदै सडक बस्तीबाटै विस्तार हुन दुर्भाग्य भएको उनले बताए । यता सडक एलाइमेन्ट बाहेकको क्षत्रेमा रहेको मानव बस्ती विस्थापित नगरिने सडक योजनाको पूर्वी खण्ड आयोजन कार्यालय गाईघाटका प्रमुख ललितजन खनालले बताए । ‘सडक विस्तार हुने क्षेत्रमा पनि एलाइमेन्ट एरियामै परेमात्रै बस्ती विस्थापित हुन्छ,’ प्रमुख खनालले भने, ‘सडक एलाइमेन्टमा नपरेर बस्ती विस्थापित हुँदैन ।’


पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा सडक निर्माण कार्य जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले करिव अढाई वर्षयता गरिरहेको छ । यो खण्डमा निर्माण हुने ४३ वटा पुल बाहेक सडकको पूर्वाधार निर्माण गर्ने कार्य भइसकेको छ । कतिपय स्थानमा बेस र सबबेसको काम भई कालोपत्रे गर्ने अवस्था भइसकेको छ ।


यो सडक योजना दुई खण्डमा विभाजन गरेर निर्माणका लागि ठेक्का लगाइएको छ । धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ । पूर्वी खण्डमा ४३ वटा पुलसहित १ सय ३४ किलोमिटर सडक निर्माण कार्य करिव दुई वर्षयता भइरहेको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुल बाहेक ६ अर्बको लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने गरी सडक निर्माणको काम भइरहेको सडक आयोजनाले जनाएको छ । यस खण्डमा पर्ने ४३ ओटा पुल निर्माणको ठेक्का भने कोभेक/रसुवा/टुन्दी जेभी कन्स्ट्रक्सनले लिएर काम गरिरहेको छ ।


सवारी साधनका लागि ७ मिटर र दायाँबाँया सोल्जर क्षेत्र २/ २ मिटर गरी ११ मिटर सडक कालोपत्रे हुने यो सडक २०७६ सालसम्ममा निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले ठेक्का सम्झौता गरेको छ ।


प्रकाशित : पुस २५, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?