उखु रोप्नदेखि काट्नसम्म मेसिन

प्रविधिले कृषि कर्म सजिलो बनायो
कान्तिपुर संवाददाता

मोरङ — खेत खनजोत गर्न, उखु खेतीको लागत घटाउन एक आँखे बीउ काट्ने, रोप्ने, गोड्ने, काट्ने र खट्टी व्यवस्थापन गर्ने प्रविधि भित्रिएका छन् । प्रविधिले बहुवर्षे नगदे बाली उखु खेती सहज र किफायती भएपछि कृषकको आकर्षण बढेको छ ।

खेत खनजोतदेखि बीउ काट्ने, उखु काट्ने र त्यसको खुट्टी व्यवस्थापन गर्नेसम्मको प्रविधिले कृषि मजदुर र कामदारको अभावको झन्झटबाट कृषकलाई राहत भएको छ । यान्त्रिकीकरणले उखु खेतीतर्फ सुनसरी, मोरङ, झापाका कृषक आकर्षित भएका हुन् ।

यान्त्रिकीकरणले पछिल्लो दुई वर्षमा उखु खेती बिस्तार हुने क्रम बढेको छ । कृषकले उखु बाली लगाउन खेतलाई गहिरो खनजोत गर्न एनबी प्लाउ, जोतिएको खेतमा उखु रोप्नका लागि नाला बनाउन ट्रेन्ज रिजर, उखुको बीउ काट्न बर्ड चिपर र बर्ड कटर प्रयोग गर्न थालेका छन् ।

यस्तै, उखु रोप्न केन प्यान्टर, उखु गोड्न ट्रेन्ज, उखु काट्ने मेसिन र काटिसकेको उखुको खुट्टी व्यवस्थापन गर्न र्‍याटुन मेनेजमेन्ट डीभाईस मेसिनको प्रयोग कृषकले थालेका हुन् । किसानको खेतमा पाकेको उखु काट्न र ढुवानीका लागि लोड गर्ने एक करोड लागतको हार्भेस्टर मेसिन सुनसरीको बर्जु गाउँपालिकास्थित इस्टर्न सुगर मिलले भित्र्याएको छ ।

देबानगञ्ज ५ का सुबोधकुमाार यादवले उखु खेतीका लागि मेसिनले निकै सहज भएको बताए । ‘बैदेशिक रोजगारीले कृषि मजदुर अभाव भएसँगै गाउँमा उखु खेती घटै गएको थियो,’ उनले भने, ‘अहिले भित्र्याइएका मेसिनहरूले उखु खेतीका लागि मानिस नै आवश्यक नपर्ने भएको छ ।’

उखु खेतीका लागि खेत जोत्नेदेखि काट्ने र चिनी मिलसम्म पुर्‍याउन मेसिन नै प्रयोग गर्न थालेको उनको भनाइ छ । ‘उखु काटेपछि खुट्टी व्यवस्थापन गर्न पनि यसअघि निकै झन्झटिलो र धेरै मजदुर आवश्यक हुन थियो,’ उनले भने, ‘अहिले खुट्टी व्यवस्थापन गर्ने मेसिन आएपछि ५० जना मजदुर आवश्यक हुने काम छिनमै हुन थालेकोले उखु खेती सहज भएको छ ।’

देबानगञ्ज २ का सबुल अन्सारीका अनुसार मेसिनले उखु खेती सहज मात्रै नभई किफायतिसमेत भएको छ । ‘यसअघि मजदुर खोज्न, उनीहरूलाई नास्ताका लागि जल्खै, खाना र मजदुरी १० किलो धान दिनु पर्दा निनकै महँगो पर्न जान थियो,’ उनले भने, ‘मेसिन आइसकेपछि उखु खेतीमा लागत घट्नुका साथै उत्पादन बढेकाले किफायती भएको हो ।’

उखु खेतीमा भित्र्याइएको अन्तरबालीले झनै फाइदा भएको उनले बताए । ‘यसअघि ऋण लिएर उखु रोपेपछि आम्दानी लिनका लागि वर्ष दिन प्रतीक्षा गर्नु पर्दथ्यो,’ अन्सारीले भने, ‘अहिले उखुसँगै काउली, राजमा, बन्दा, मूला, आलु, गाजरलगायतको बाली लगाउन थालेका छौं ।’ यी सबै बालीले तीन महिनामै आम्दानी लिन सक्ने भएकाले उखु खेतीका लागि लिएको ऋण तिर्न पनि वर्ष दिन कुर्नु नपर्ने अवस्था आएको उनले बताए ।

यसअघि उखु खेतीका लागि लिएको ऋणको ब्याज १२ महिनामा तिर्नुपर्ने हुन थियो तर अहिले तीन महिनामा नै तिरिसक्ने भएकाले निकै फाइदा भएको अन्सारीले बताए । प्रविधिको प्रयोगले उखु खेतीबाट कृषकले शतप्रतिशत मुनाफा लिन सफल भएको उनको भनाइ छ ।

दुई बघामा गर्दै आएको उखु खेती अहिले प्रविधिको सहयोगले ५ बिघामा बिस्तार गरेको अन्सारीले बताए । सुनसरी, मोरङ र झापाका कृषकको उखु खरिद गर्दै आएका इस्टर्न सुगर मिल्सले गत वर्ष भित्र्याएको हार्भेस्टरले तीन जिल्लाका उखु कृषकको माग र आवश्यकता धान्न सकेको छैन ।

यो मेसिनले उखु काटेर र ढुवानीका लागि टयाक्टरमा सोझै लोड गर्न सक्ने रहेको मिल्सका प्रमुख उखु प्रबन्धक सुरेशप्रसाद मेहताले बताए । ‘हार्भेस्टरले दैनिक दुई बिघा खेतको उखु काट्न सक्छ,’ उनले भने, ‘कृषकको माग र आवश्यकताअनुसार तीन जिल्लामा दसवटा हार्भेस्टर मेसिन आवश्यक छ ।’ हार्भेस्टर मेसिन कृषकले खरिद गर्न सक्ने अवस्था नरहेको मेहताले बताए । हार्भेस्टर मेसिनको मूल्य १ करोड रहेको उनले बताए ।

हार्भेस्टर बाहेकका मेसिन कृषकले खरिद गर्न सक्ने मेहताले बताए । ‘खुट्टी काट्ने र्‍याटुन मेनेजमेन्ट डिभाइसको एक लाख १६ हजार रुपियाँ मूल्य पर्छ,’ उनले भने, ‘खेत गहिरो खनजोतका लागि एनबी प्लाउको मूल्य ४० हजार, नाला बनाउने ट्रेन्ज रिजर ४२ हजार, उखु रोप्ने केन प्यान्टर २० हजार रुपियाँ पर्छ ।’ मेहताका अनुसार उखु खेतीमा प्रयोग हुने मेसिन मिल्सले भित्र्याएको बताए ।

‘उखु रोप्नेदेखि खुट्टी व्यवस्थापन गर्नसम्मको मेसिन मिल्सले कृषकलाई भाडामा उपलब्ध गराउँदै आएको छ,’ उनले भने, ‘अहिले हार्भेस्टर बाहेकका मेसिनहरू स्थानीय तहलाई अनुदानमा कृषकलाई उपलब्ध गराउन मिल्सले पहल थालेको छ ।’ मिल्सले भारतबाट भित्र्याएका मेसिनहरू स्थानीय तहलाई लागत मूल्यमा नै उपलब्ध गराएर अनुदानमा कृषकलाई दिन थालेको मेहताले सुनाए ।

गत वर्ष झापा, मोरङ र सुनसरीका दुई हजार किसानले ११ लाख ७८ हजार क्विन्टल उखु उत्पादन गरेर इस्टर्न सुगर मिललाई बिक्री गरेका थिए । यस वर्ष उखु उत्पादन गर्ने किसानको संख्या दुई हजार चार सय पुगेकाले १५ लाख क्विन्टल उखु उत्पादन हुने उनले बताए । ‘मिलले गत वर्ष ११ लाख ७८ हजार क्विन्टल उखु क्रसिङ गरेर १ लाख ७ हजार क्विन्टल चिनी उत्पादन भएको थियो,’ मेहताले भने, ‘मिलको दैनिक ३० हजार क्विन्टल र एक सिजनमा ३० लाख क्विन्टल उखु क्रसिङको क्षमता छ ।’

प्रकाशित : पुस २७, २०७५ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाबुले चलाएको बसको ठक्करबाट छोराको मृत्यु

प्रताप रानामगर

दमौली — बाबुले चलाएको बसले ठक्कर दिदाा तनहुाको बन्दीपुर–४ पिप्लेमा छोराको मुत्यु भएको छ । पिकनिक खान जानका लागि ग १ ख ४६५८ नम्बरका बसचालक बलक थापाले बस पछाडि गर्ने क्रममा १५ वर्षीय छोरा बिश्वास थापालाई ठक्कर दिदाा मुत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु आर्यालले बताए । 

बाबुले बस व्याक गरेको र छोराले पछाडिबाट इशारा दिने क्रममा बसको पछाडि भागले छातीमा लागेपछि गम्भिर घाइते भएका उनको स्थानीय बन्दीपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । घटना आफ्नै घर अगाडि भएको हो ।

प्रकाशित : पुस २७, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT