२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

ठूला लगानीका व्यवसाय थपिँदै

सुरक्षाको सुनिश्चितता देखेपछि कटारी बजारमा व्यवसाय थपिँदै
सुविधासम्पन्न होटल, अस्पतालमा लगानी बढ्दो 

कटारी, उदयपुर — सुरक्षाको सुनिश्चितता देखेपछि मुख्य व्यापारिक केन्द्र कटारी बजारमा ठूलो लगानीका व्यवसाय थपिने क्रम बढेको छ । पछिल्लो समय ठूलो लगानीमा होटल, स्वास्थ्य र निर्माणका क्षेत्रमा व्यवसाय थपिएको हो । 

सशस्त्र द्वन्द्वका बेला धेरै व्यवसायी पलायन भएका थिए । व्यापार सम्बद्ध संघसंस्थाले व्यवसायी पलायन रोक्न गरेको प्रयास सफल हुन सकेको थिएन । पछिल्लो समय भने कटारी बजारमा व्यापार व्यवसाय फष्टाएको छ । स्थानीय तहले व्यावसायिक सुरक्षासँगै व्यवसाय गर्ने वातावरण तयार गरिदिएपछि व्यवसाय फष्टाएको हो ।


अहिले कटारी बजारमा सुविधा सम्पन्न होटल, अस्पताल र माथिल्लो सगरमाथालाई समेत पुग्ने गरी ठूलो लगानीमा निर्माण सामग्री बिक्री गर्ने केन्द्रहरू खुलेका छन् ।


महिनायता कटारी बजारमा होटल मेजेस्टी सञ्चालनमा आएको छ । करिव १० करोडको लागतमा व्यवसायी प्रताप राईले होटल खोलेका हुन् । यो होटल नै ठूलो लगानीमा पहिलो पटक कटारी बजारमा खुलेको होटल हो । त्यसैगरी माच्छापुछरेले पनि दोस्रो सुविधा सम्पन्न होटल खोल्दैछ । निर्माणको चरणमा रहेको होटल माच्छापुछरे दोस्रो पुराना होटन व्यवसायी सुरेश मगरको लागानी छ ।


यस्तै सगरमाथा अस्पताल पनि खुल्ने क्रममा छ । सम्पूर्ण सुविधा सम्पन ५ तले भवनमा सञ्चालन हुने अस्पताल करिव १० लाखको लागनी रहेको सञ्चालक दिपेस प्रसैलाले बताए ।


होटल, अस्पतालसँगै अन्य व्यवसायमा पनि लगानी भित्रिने क्रम बढेको व्यवसायी बताउँछन् । ‘मुलुक शान्ति प्रक्रियामा आएसँगै सर्वसाधारणको चहपहल बढयो,’ होटल सञ्चालक प्रताप राईले भने, ‘पछिल्लो समय पूर्वको पशुपति भनेर हलेसी महादेवको दर्शन गर्न जाने भक्तजनको चहलपहल बढ्यो ।’ कटारी आउने भक्तजन र सर्वसाधारणले स्तरीय होटलको आवश्यकता महसुस गरेको बुझेपछि करौडौंको लगानीमा होटल खोलेको उनले बताए ।


१ नम्बर प्रदेशको माथिल्लो सगरमाथाका सोलु, ओखलढुंगा र खोटाङमा प्रसस्त पर्यटकीय गन्तव्य रहेका छन् । विश्वको सर्वोच शिखर सगरमाथादेखि पोक्ली झरना, हलेसी महादेवलगायतमा पूर्व नेपाल र भारतबाट आउने जाने पर्यटक र सर्वसाधारणले कटारीमा बास बस्नुपर्ने हुन्छ । तर यहाँ गुणस्तरीय राम्रो र सुविधा सम्पन्न होटल नहँुदा सिराहाको लहान र धनुषाको बर्दीबास जानुपर्ने बाध्यता थियो ।


सर्वसाधारणको बाध्यतालाई बुझेरै होटल खोलेको मेजेस्टीका सञ्चालक राईले बताए । ‘अहिले सुविधा सम्पन्न होटल भए पनि

सरकारी उच्च ओहदाका कर्मचारीदेखि राजनैतिक दलका नेताकार्यकर्ता, धार्मिक र आन्तरिक पर्यटकलाई कटारीमा बास बस्न सजिलो भएको छ ।’ बाह्य र आन्तरिक पर्यटकलाई एक दिनमात्रै रोक्दा कटारीको आर्थिक अवस्थामा ठूलो सहयोग पुगेको उनले बताए ।


होटल, कपडा, खाद्यान्न, हार्डवयर, सिमेन्ट लगायतका थोक बिक्रीमा कटारी बजारमा करौडौंको लगानी भित्रिएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले बताए । ‘ठूलो लगानी कटारीमा अवश्यक पनि थियो,’ अध्यक्ष खड्काले भने, ‘त्यही आवश्यकतालाई पूरा गर्न व्यवसायीले ठूलो लागनी गरेपछि अब कटारी बजारको मुहार फेरिएको छ ।’ कटारी बजारलाई ठूलो व्यापारिक केन्द्र र व्यावसायिक स्थल बनाउन राष्ट्रिय स्तरका ६ वटा बंैक, मोटरसाइकल, टयाक्टर लागयतको सोरुम समेत भएकाले व्यवसायमा ठूलो लगानी भित्रिएको उनले बताए ।


स्थानीय तह व्यावसायिक सुरक्षाको २४ सै घण्टा तयारी अवस्थामा रहको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वताए । ‘नगरपालिकका कटारी बजारमात्रै होइन, घुर्मी बजारमा कसैले व्यवसाय गर्छु भन्छ भने सुरक्षा दिन तयार छ,’ नगर प्रमुख श्रेष्ठले भने, ‘ठूलाठूला लगानी र लगानीकर्ता भित्र्याउने वातावरण बनिसकेको र अझ मजबुत बनाउन लागिएको छ ।’

प्रकाशित : पुस २७, २०७५ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?