कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्निपीडितले पाएनन् राहत

संक्रान्ती बजारका अग्निपीडितले सरकारले ३ वर्षअघि घोषणा गरेको राहत अझै पाएका छैनन्

तेह्रथुम — संक्रान्ती बजारका अग्निपीडितले सरकारले घोषणा गरेको राहत रकम आगलागी भएको ३ वर्ष पुगिसक्दा पनि नपाएको गुनासो गरेका छन् । आगलागीपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल आएर दिने भनेको राहत रकम समेत नपाएको पीडितको भनाइ छ । 

दाहालले विभिन्न राहत प्याकेज कार्यक्रम घोषणा गरेका थिए । ०७३ पुस १ मा भएको भीषण आगलागीमा परी संक्रान्ती बजारका ३२ घर जल्दा ५६ परिवार विस्थापित भएका थिए । आगलागीमा परी १४ करोड ८ लाख क्षति भएको थियो । पीडित परिवारलाई तत्कालीन प्रधानमन्त्री दाहालले संक्रान्ती बजारमै आएर १ करोड सहितको विशेष राहत प्याकेज कार्यक्रम घोषणा गरेका थिए ।

१९ पुसमा संक्रान्ती बजार आएका दाहालले आगलागी क्षेत्रको स्थलगत निरीक्षणपछि पीडितलाई सम्बोधन गर्दै पीडितको घर निर्माण र व्यवसाय पुन:स्थापनामा सहयोग पुर्‍याउन सरकारले विशेष राहत प्याकेज कार्यक्रम ल्याएको बताएका थिए ।

पीडितका नाममा घोषणा गरेको कुनै पनि राहत प्याकेज कार्यक्रम नपाएको अग्नि पीडितमध्येका वद्री सेढाईले बताए ।


अहिले पीडितहरू ऋण खोजेर बास बस्ने घर बनाउन थालेका छन् । दाहालले पीडितको सहयोगका लागि न्यूनतम व्याजदरमा बैंकबाट बिनाधितो ऋण उपलव्ध गराउने समेत आश्वासन दिएका थिए । दमकल नहुँदा धेरै क्षति भएको भन्दै संक्रान्ती बजारमा तत्कालै दमकल पठाउने व्यवस्था आफूले मिलाइसकेको प्रचण्डले बताएका थिए ।


संक्रान्ती बजार र सदरमुकाम म्याङलुङ बजारमा तत्कालै बृहत खानेपानी आयोजना सञ्चालन गर्ने आश्वासन पनि दिएका थिए । त्यस्तै जिल्लाको विकासका लागि तमोर जलाशययुक्त आयोजना तत्काल अघि बढाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएर आफू यता आएको उनले सुनाउन भ्याएका थिए ।


तेह्रथुम जोड्ने पाँचथर हाक्पाराघाटमा मोटरेवल पुल निर्माण, जिल्लाका तमोर नदीसँग जोडिएका साविकका ९ सुख्खाग्रस्त गाविसमा खानेपानीको व्यवस्था, संक्रान्ती बजारमा एम्बुलेन्स्, संक्रान्ती बजारमै विद्युतको सवस्टेशन निर्माण र क्षमता वृद्धि, द्वन्द्वकालमा संक्रान्ती बजारबाट विस्थापित भएका कृषि र नेपाल बैंक लिमिटेडका शाखाको पुन:स्थापना, मध्यपहाडी लोकमार्गको दू्रततर विकास तथा वसन्तपुर म्याङलुङ सडकको कालोपत्रे गर्ने काम सरकारले गरिरहेको तत्कालीन प्रधानमन्त्री प्रचण्डले त्यस समय पीडितलाई सम्बोधन गर्दै बताएका थिए ।


तर आगलागी भएको तीन वर्ष लागिसक्दा पनि तत्कालीन प्रधानमन्त्री दाहालले पीीडतलाई दिने भनेको राहत प्याकेज सहितको आश्वासन पूरा भएको छैन् । पीडित अझै सरकारले बोलेको राहत प्याकेज आउने आशामा बसिरहेका छन् । संक्रान्ती बजार उद्योग वाणिज्य संघ उपशाखाका अध्यक्ष प्रेम पौडेल तत्काली प्रधानमन्त्री दाहालले पीडितलाई आश्वासन मात्र दिएर ढाँटेको बताउँछन् ।


देश विदेशमा छरिएर रहेका सर्वसाधारण र विभिन्न संघसंस्थाले जुन गतिमा सहयोग गरे, त्यस्तो सहयोग सरकारी स्तरबाट पीडितले नपाएको उनले बताए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि म्याङलुङवासीलाई ढाटेका थिए । ०५९ साल मंसिर २२ गते तेह्रथुम सदरमुकाम म्याङलुङ बजार जल्दा ज्ञानेन्द्रले म्याङलुङमै आएर १० लाख दिने घोषणा गरेका थिए । तर पछि दिएनन् । उक्त आगलागीमा परी ८५ घर जलेका थिए ।

प्रकाशित : पुस २८, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?