कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

मूर्ति बनाएर छोरा इञ्जिनियर पढाउँदै

जहदा डङ्ग्राहाका रघुनाथ मण्डलले मूर्तिको आम्दानीले छोराको खर्च टार्दै
सिजनमा मूर्ति बिक्री गरेर न्यूनतम २ लाख आम्दानी

मोरङ — माटोको मूर्ति बनाएर जहदा गाउँपालिका २ डङ्ग्राहाका रघुनाथ मण्डलले छोरालाई इञ्जिनियर पढाउन थालेका छन् । उनी २० वर्षदेखि माटोको मूर्ति बनाउने पेसामा लागेका हुन् । 

मूर्ति बनाएर छोरा इञ्जिनियर पढाउँदै

सानै उमेरमा गाउँकै मिस्त्रीसँग माटोको मूर्ति बनाउने पेसामा लागेकाले आफू पढन नसकेकाले छोरालाई पढाउन मिहिनेत गरेको मण्डलले बताए । ‘एक्लो छोरा मोहनकुमारले १२ कक्षा सकेर विराटनगरमा इञ्जिनियर पढन थालेको छ,’ उनले भने, ‘मूर्ति बनाएर वर्षभरमा राम्रै आम्दानी भइरहेको छ ।’


उनले बसन्त पञ्चमीका लागि यस वर्ष ६५ वटा सरस्वतीको मूर्ति बनाएका छन् । ‘एक हजारदेखि ६ हजारसम्मको मूर्ति बनाएको छु,’ उनले भने, ‘बनाएको मूर्ति सबै बिक्री भइसकेको छ ।’ यो सिजनमा मूर्ति बिक्री गरेर न्यूनतम २ लाख आम्दानी हुने मण्डलले सुनाए । उनले गणेश चतुर्थी, भगवती, कृष्णजन्माष्टमी, दिनाभद्री, विश्वकर्मा पूजालगायत स्थानीय पर्वका अवसरमा मूर्ति बनाएर बिक्री गर्दै आएको बताए । मूर्ति बेचेर मण्डलले ७/८ कठ्ठा जग्गा जोडेको र पक्की घरसमेत बनाएको बताए । जहदा गाउँपालिका २ को वडा कार्यालय सञ्चालनका लागि अहिले आफूले बनाएको घर भाडामा दिएको उनले सुनाए ।


यस्तै, बुढीगंगा २ टंकिसिनबारीका रामदास ऋषिदेवलाई यति बेला माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । उनले विराटनगर २ दुर्गाचोकमा सरस्वती पूजाका लागि मूर्ति बनाएको हो । एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्मको मूर्ति बनाएको रामदासले बताए । ‘केही मूर्ति पहिले नै अर्डर लिएर बनाएको र बाँकी धमाधम बुकिङ भइरहेको छ,’ उनले भने, ‘मूर्ति बेचेर भएको आम्दानीले परिवार पाल्दै आएको छु ।’


उनले दसैंमा दुर्गा गणेश चतुर्थी, कृष्णजन्माष्टमी, दिनाभद्री, सरस्वती पूजामा मूर्ति बनाएर बिक्री गर्दै आएको र फुर्सदका बेलामा सिमेन्टको समेत मूर्ति बनाउने गरेको बताए । मूर्ति बनाउन उनकी पत्नी बिहाबत्तीदेवी र छोराहरू बच्चु र ध्यानीदासले सघाइरहेको उनले सुनाए । सुकुम्बासी परिवारका उनले गरिवीका कारण अक्षर चिन्न सकेनन् तर मूर्ति बेचेर भएको आम्दानीले छोराहरूलाई बोर्डिङ स्कुलमा पढाइरहेको बताए ।


रामदासले जेठो छोरा बच्चु ऋषिदेव कक्षा ९ मा र कान्छो ध्यानीदास कक्षा ५ मा पढिरहेको बताए । ‘मूर्ति बनाउने सिजनमा छोराहरूले पनि सघाउन लगाउने गरेको छ,’ उनले भने, ‘मूर्ति बनाउने कला सिक्नुका साथै ध्यानकेन्द्रित गर्ने सीपको समेत विकास गराउनका लागि छोराहरूलाई काममा सघाउन लगाउँछु । यसले पढाइका बेला पूर्णरूपमा ध्यान केन्द्रित गरेर पढ्न मद्दत मिल्छ ।’


‘मूर्ति बेचेर नै जस्ता हालेर घर बनाएको छु,’ उनले भने, ‘मेरो जीवनको एउटै उद्देश्य भनेको छोराहरूलाई ठूलो मान्छे बनाउनु हो ।’ ठूलो मान्छेलाई समाजमा सबैले मानसम्मान गर्नुका साथै इज्जत गर्ने गरेको उनले बताए ।

प्रकाशित : पुस २८, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?