दुर्गममा थपिँदै टेम्पो

कान्तिपुर संवाददाता

भोजपुर — केही महिनाअघि भित्रिएको टेम्पोमा स्थानीय बासिन्दाको आकर्षण बढेको छ । जिल्लाका ग्रामीण भेगमा टेम्पो आएसँगै स्थानीय बासिन्दा टेम्पो चढ्न तँछाडमँछाड गर्न थालेका छन् ।

भोजपुर र संखुवासभा सीमामा रहेको अरुण नदीमा पर्ने लम्सुवाघाटबाट टेम्पो तार्दै स्थानीय ।तस्बिर : एलिसा श्रेष्ठ/कान्तिपुर

उत्तरी व्यापारिक केन्द्र दिंलामा टेम्पो सञ्चालन सुरू भइसकेको छ । संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटमा पक्की पुल नहुँदा डुुङ्गाबाट तारेर टेम्पोलाई दिङ्ला बजार ल्याई सञ्चालन सुरु भएको हो ।

यसअघि भोजपुरको प्याउली, भोजपुर, सिम्ले, घोरेटार लगायतका रूटमा दर्जनभन्दा बढी टेम्पो सञ्चालनमा छन् । टेम्पाले दिंला आसपासका रूटमा सतिघाट, लम्स्वा, केराबारि, बैदारभञ्ज्याङ, चिउरिबोटे लगायतका स्थानसम्म यात्रु र सामान ओसारपसार गर्ने गर्छन् । सुरुवाती अवस्था भए पनि यात्रुको ओइरो लाग्ने गरेको र रिजर्भ भाडामा राम्रो फाइदा हुने गरेको व्यवसायी बताउँछन् ।

चार जनासम्म यात्रु अटाउने टेम्पोले दैनिक ५ हजारसम्म आम्दानी हुने भएपछि धरानबाट आएर दिंलामा टेम्पो चलाइरहेको चालक हेम तामाङले बताए । कच्ची सडक भएका कारण १२ महिनौ टेम्पो चल्न नसक्ने र मरितरि आठ महिना मात्र टेम्पो सञ्चालन हुन सक्ने तामाङले बताए । ग्रामीण भेगमा टेम्पोले लिने भाडादर ट्याक्सी र बसभन्दा दोब्बर भए पनि स्थानीय बासिन्दाहरू आनाकानी नै नगरी टेम्पो चढ्न लालयित हुने गरेको टेम्पो चालक बिनोद विश्वकर्माले बताए ।

दिंला लगायत आसपासका क्षेत्रमा सेवाग्राहीलाई ओसारपसार गर्न भ्याइनभ्याइ हुन थालेको उनले बताए । टेम्पो सञ्चालन सुरु भएपछि आसपासका क्षेत्रमा जान सहज भएको स्थानीय कल्पना श्रेष्ठले बताइन् । भनेको समयमा आफूले चाहेअनुसारको स्थानमा छोटो दूरीको यात्रा गर्न आनन्द र सहज हुने उनेको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७५ ०८:५३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मूर्ति बनाएर छोरा इञ्जिनियर पढाउँदै

जहदा डङ्ग्राहाका रघुनाथ मण्डलले मूर्तिको आम्दानीले छोराको खर्च टार्दै
सिजनमा मूर्ति बिक्री गरेर न्यूनतम २ लाख आम्दानी
कान्तिपुर संवाददाता

मोरङ — माटोको मूर्ति बनाएर जहदा गाउँपालिका २ डङ्ग्राहाका रघुनाथ मण्डलले छोरालाई इञ्जिनियर पढाउन थालेका छन् । उनी २० वर्षदेखि माटोको मूर्ति बनाउने पेसामा लागेका हुन् । 

मोरङको जहदा गाउँपालिका २ डङ्ग्राहाका रघुनाथ मण्डल सरस्वतीको मूर्ति बनाउँदै । तस्बिर : देवनारायण साह/कान्तिपुर

सानै उमेरमा गाउँकै मिस्त्रीसँग माटोको मूर्ति बनाउने पेसामा लागेकाले आफू पढन नसकेकाले छोरालाई पढाउन मिहिनेत गरेको मण्डलले बताए । ‘एक्लो छोरा मोहनकुमारले १२ कक्षा सकेर विराटनगरमा इञ्जिनियर पढन थालेको छ,’ उनले भने, ‘मूर्ति बनाएर वर्षभरमा राम्रै आम्दानी भइरहेको छ ।’

उनले बसन्त पञ्चमीका लागि यस वर्ष ६५ वटा सरस्वतीको मूर्ति बनाएका छन् । ‘एक हजारदेखि ६ हजारसम्मको मूर्ति बनाएको छु,’ उनले भने, ‘बनाएको मूर्ति सबै बिक्री भइसकेको छ ।’ यो सिजनमा मूर्ति बिक्री गरेर न्यूनतम २ लाख आम्दानी हुने मण्डलले सुनाए । उनले गणेश चतुर्थी, भगवती, कृष्णजन्माष्टमी, दिनाभद्री, विश्वकर्मा पूजालगायत स्थानीय पर्वका अवसरमा मूर्ति बनाएर बिक्री गर्दै आएको बताए । मूर्ति बेचेर मण्डलले ७/८ कठ्ठा जग्गा जोडेको र पक्की घरसमेत बनाएको बताए । जहदा गाउँपालिका २ को वडा कार्यालय सञ्चालनका लागि अहिले आफूले बनाएको घर भाडामा दिएको उनले सुनाए ।

यस्तै, बुढीगंगा २ टंकिसिनबारीका रामदास ऋषिदेवलाई यति बेला माटोको मूर्ति बनाउन भ्याइनभ्याइ छ । उनले विराटनगर २ दुर्गाचोकमा सरस्वती पूजाका लागि मूर्ति बनाएको हो । एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्मको मूर्ति बनाएको रामदासले बताए । ‘केही मूर्ति पहिले नै अर्डर लिएर बनाएको र बाँकी धमाधम बुकिङ भइरहेको छ,’ उनले भने, ‘मूर्ति बेचेर भएको आम्दानीले परिवार पाल्दै आएको छु ।’

उनले दसैंमा दुर्गा गणेश चतुर्थी, कृष्णजन्माष्टमी, दिनाभद्री, सरस्वती पूजामा मूर्ति बनाएर बिक्री गर्दै आएको र फुर्सदका बेलामा सिमेन्टको समेत मूर्ति बनाउने गरेको बताए । मूर्ति बनाउन उनकी पत्नी बिहाबत्तीदेवी र छोराहरू बच्चु र ध्यानीदासले सघाइरहेको उनले सुनाए । सुकुम्बासी परिवारका उनले गरिवीका कारण अक्षर चिन्न सकेनन् तर मूर्ति बेचेर भएको आम्दानीले छोराहरूलाई बोर्डिङ स्कुलमा पढाइरहेको बताए ।

रामदासले जेठो छोरा बच्चु ऋषिदेव कक्षा ९ मा र कान्छो ध्यानीदास कक्षा ५ मा पढिरहेको बताए । ‘मूर्ति बनाउने सिजनमा छोराहरूले पनि सघाउन लगाउने गरेको छ,’ उनले भने, ‘मूर्ति बनाउने कला सिक्नुका साथै ध्यानकेन्द्रित गर्ने सीपको समेत विकास गराउनका लागि छोराहरूलाई काममा सघाउन लगाउँछु । यसले पढाइका बेला पूर्णरूपमा ध्यान केन्द्रित गरेर पढ्न मद्दत मिल्छ ।’

‘मूर्ति बेचेर नै जस्ता हालेर घर बनाएको छु,’ उनले भने, ‘मेरो जीवनको एउटै उद्देश्य भनेको छोराहरूलाई ठूलो मान्छे बनाउनु हो ।’ ठूलो मान्छेलाई समाजमा सबैले मानसम्मान गर्नुका साथै इज्जत गर्ने गरेको उनले बताए ।

प्रकाशित : पुस २८, २०७५ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT