क्याम्पसमा ‘आर्थिक अनियमितता’

प्राध्यापक संघद्वारा छानबिन माग 
कार्यकक्षमा चार महिनादेखि तालाबन्दी
विनोद भण्डारी

विराटनगर — स्नातकोत्तर क्याम्पस विराटनगरमा आर्थिक अनियमितता भएको भन्दै प्राध्यापक संघले उपकुलपतिसमक्ष छानबिनको माग गरेका छन् । क्याम्पसको नाममा करिव २४ बिघा जमिन छ । त्यसमध्ये करिब १२ बिघा जमिन ठेक्कामा लगाइएको छ ।

ठेक्कामा लगाइएको उक्त जमिनको आम्दानी क्याम्पस प्रशासनले डेढ दशकदेखि नदेखाएको प्राध्यापक संघको दाबी छ ।
क्याम्पसका पूर्वप्रमुख हरिहर भण्डारी, बल्लभ पौडेल, मनोजकुमार राउत र हालका प्रमुख महेशकुमार खत्रीको कार्यकालमा भएका सवै खाले आर्थिक अनियमितता र परीक्षाको बील भर्पाइको छानबिन गर्न उपकुलपतिसमक्ष आग्रह गरिएको प्राध्यापक संघका सभापति टुनाराज भट्टराईले बताए ।

क्याम्पसका पूर्व र अहिलेका प्रमुख सबै बाह्य क्याम्पसबाट नियुक्त भएर आएका हुन् । उनीहरू सवैले क्याम्पसमा व्यापक आर्थिक अनियमितता गरेको पाइएपछि छानबिनका लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसमक्ष आग्रह गरिएको भट्टराईको भनाइ छ । चारै जना क्याम्पस प्रमुखको कार्यकालमा भएको क्याम्पसको आन्तरिक स्रोत संकलन, विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त आर्थिक अनुदान, खरिद, निर्माण मर्मत र स्याहार शीर्षकको खर्च पारदर्शी नभएको र उनीहरूको कार्यकालमा भएका परीक्षाको बिल भर्पाइ समेत नपाइएको संघको दाबी छ ।

त्यसैगरी स्नातकोत्तर विद्यार्थीले थेसिस लेख्दा ३ हजार ५ सय बुझाउनुपर्छ । संघका सभापति भट्टराईले भने उक्त रकमको २० प्रतिशत कर क्याम्पसको नाममा जम्मा हुनुपर्नेमा त्यो कर बापतको रकम समेत क्याम्पसको नाममा आम्दानी बाँधिएको पाइँदैन ।

त्यसैगरी पूर्वप्रमुख मनोजकुमार राउतको कार्यकालमा प्राध्यापक संघ, विद्यार्थी संगठन र क्याम्पस व्यवस्थापन समितिलाई जानकरी नै नगराई क्याम्पसको नाममा रहेको जमिनमध्ये १ कठ्ठा १० धुर प्रहरी बिट स्थापना गर्न र हनुमान मन्दिर निर्माणका लागि दिइएको संघको दाबी छ । तत्कालीन क्याम्पस प्रमुख राउतले वडा अध्यक्ष वलदेव यादवको सभापतित्वमा २५ जना स्थानीयवासीको उपस्थितिमा सर्वपक्षीय बैठक राखेर क्याम्पसको उक्त जमिन प्रहरी बिट राख्न र मन्दिर बनाउन दिएको उक्त बैठकको माइन्युटमा उल्लेख छ ।

संघको दाबी पूर्वाग्रही भएको क्याम्पस प्रमुख खत्रीको भनाइ छ । ‘पूर्वप्रमुखहरू सहित म पनि एउटा लाइनबाट आएका हौं, संघ अर्को लाइनको छ,’ खत्रीले भने, ‘प्राध्यापक संघको चस्मा लगाइमा समस्या भएकाले आर्थिक अनियमितताको सवाल उठेको हो ।’ उनका अनुसार क्याम्पसमा अनियमितता भएको छैन ।

त्यसैगरी पूर्वप्रमुख मनोजकुमार राउतले पनि माओवादी कोटाबाट आएको क्याम्पस प्रमुखहरूलाई संघले पूर्वाग्रही भएर आरोप मात्र लगाएको दाबी गरे । आफनो कार्यकालमा एक रुपैयाँको पनि आर्थिक हिनामिना नभएको दाबी गर्दै उनले भने, ‘कुनै पनि निकायले सुक्ष्म अनुसन्धान गर्दा हुन्छ ।’

आफनो कार्यकालमा प्रहरी बिट राख्न क्याम्पसको जमिन उपलब्ध गराएको राउतले स्वीकारे । मधेस आन्दोलनताका क्याम्पसमा कोही पनि पुग्न सकिएन । त्यस बेला क्याम्पसको भौतिक सम्पत्ति पनि चोरी भए । त्यसलाई रोक्न क्याम्पसले हनुमान मन्दिरको नाममा छुट्याएको डेढ कठ्ठा जमिनमध्ये एक कठ्ठा प्रहरी बिट राख्न र १० धुर मन्दिरलाई दिइएको राउतको भनाइ छ ।

४ महिनादेखि ताला
यसैबीच राजनीतिक भागबण्डाका आधारमा बाहिरका शिक्षकलाई क्याम्पस प्रमुखमा नियुक्ति गरेको विरोधमा प्राध्यापक संघले चार महिनाअघि यो क्याम्पस प्रमुखको कार्यकक्षमा लगाएको ताला अझै खुले नखुल्दा क्याम्पसको शैक्षिक कार्यक्रम प्रभावित बनेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत यहाँका तीनवटा आंगिक क्याम्पस स्नातकोत्तर, महेन्द्र मोरङ र नर्सिङ क्याम्पसको प्रमुख नियुक्ति हुँदा राजनीतिक भागबण्डा गरिँदै आएको छ । स्नातकोत्तर तत्कालीन एमाओवादी, महेन्द्र मोरङ कांग्रेस र नर्सिङ क्याम्पस तत्कालीन एमालेको भागमा पर्दैआएको छ ।

राजनीतिक भागबण्डा अनुसार स्नातकोत्तर क्याम्पस प्रमुखमा गत भदौ २६ मा तत्कालीन माओवादी समर्थक महेन्द्र मोरङ क्याम्पसको मनोविज्ञानशास्त्रका शिक्षक महेश खत्री नियुक्त भएपछि प्राध्यापक संघले बाहिरका शिक्षकलाई प्रमुखमा नियुक्त गरेको भन्दै उनको कार्यकक्षमा त्यसै दिन तालाबन्दी गरेको थियो ।

चार महिना बित्यो ताला खुलेको छैन । प्राध्यापक संघका अध्यक्ष भट्टराईले भने प्रमुखले तालाबन्दी खुलाउने पहल समेत गरेका छैनन् । तालाबन्दीले प्रमुख खत्री आफनो कार्यकक्षमा छिर्न समेत पाएका छैनन् भने क्याम्पसको शैक्षिक कार्यक्रम पनि प्रभावित भएको भट्टराईले जनाए । यसअघि पनि यो क्याम्पसको प्रमुखमा महेन्द्र मोरङ क्याम्पसकै शिक्षक बल्लभमणी पौडेल र हरिहर भण्डारी नियुक्त भएका थिए ।

बाहिरका शिक्षकलाई प्रमुखमा नियुक्ति गर्दा शैक्षिक वातावरण खस्कदै जाँदा यो क्याम्पसमा विद्यार्थीको आकर्षण हरेक वर्ष घटदै गएको छ । विभिन्न दर्जन संकायमा दशक पहिलासम्म विराटनगरमा दशक पहिलासम्म दुई हजारभन्दा बढी वद्यार्थी अध्ययनरत हुन्थे । अहिले करिव डेढ सय विद्यार्थीमा सीमित छ । क्याम्पसमा भर्ना भएका विद्यार्थी पनि नियमित अध्ययनका लागि आउने विद्यार्थीको संख्या न्यून रहेको संघका अध्यक्ष भट्टराईको भनाइ छ ।

क्याम्पसका ५० जना शिक्षक छन् । तर विद्यार्थी मुस्किलले डेढ सय छन् । एक शिक्षक बराबर तीन विद्यार्थी छन् । भट्टराईका अनुसार नेपालीमा ३, ग्रामीण विकासमा ८, संस्कृतिमा ३, अंग्रेजीमा शून्य, राजनीति शास्त्रमा ३, इतिहासमा ३, प्राणी शास्त्रमा २०, वनस्पती शास्त्रमा २०, अर्थशास्त्रमा ५ र समाजशास्त्रमा १५ जना विद्यार्थी भर्ना भएका छन् । बाहिरका शिक्षकलाई प्रमुखमा ल्याउँदा र क्याम्पसको शैक्षिक वातावरण खस्कँदा विद्यार्थी संख्या घटेको उनको दाबी छ ।

प्रकाशित : पुस २८, २०७५ ०८:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुर्गममा थपिँदै टेम्पो

कान्तिपुर संवाददाता

भोजपुर — केही महिनाअघि भित्रिएको टेम्पोमा स्थानीय बासिन्दाको आकर्षण बढेको छ । जिल्लाका ग्रामीण भेगमा टेम्पो आएसँगै स्थानीय बासिन्दा टेम्पो चढ्न तँछाडमँछाड गर्न थालेका छन् ।

भोजपुर र संखुवासभा सीमामा रहेको अरुण नदीमा पर्ने लम्सुवाघाटबाट टेम्पो तार्दै स्थानीय ।तस्बिर : एलिसा श्रेष्ठ/कान्तिपुर

उत्तरी व्यापारिक केन्द्र दिंलामा टेम्पो सञ्चालन सुरू भइसकेको छ । संखुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटमा पक्की पुल नहुँदा डुुङ्गाबाट तारेर टेम्पोलाई दिङ्ला बजार ल्याई सञ्चालन सुरु भएको हो ।

यसअघि भोजपुरको प्याउली, भोजपुर, सिम्ले, घोरेटार लगायतका रूटमा दर्जनभन्दा बढी टेम्पो सञ्चालनमा छन् । टेम्पाले दिंला आसपासका रूटमा सतिघाट, लम्स्वा, केराबारि, बैदारभञ्ज्याङ, चिउरिबोटे लगायतका स्थानसम्म यात्रु र सामान ओसारपसार गर्ने गर्छन् । सुरुवाती अवस्था भए पनि यात्रुको ओइरो लाग्ने गरेको र रिजर्भ भाडामा राम्रो फाइदा हुने गरेको व्यवसायी बताउँछन् ।

चार जनासम्म यात्रु अटाउने टेम्पोले दैनिक ५ हजारसम्म आम्दानी हुने भएपछि धरानबाट आएर दिंलामा टेम्पो चलाइरहेको चालक हेम तामाङले बताए । कच्ची सडक भएका कारण १२ महिनौ टेम्पो चल्न नसक्ने र मरितरि आठ महिना मात्र टेम्पो सञ्चालन हुन सक्ने तामाङले बताए । ग्रामीण भेगमा टेम्पोले लिने भाडादर ट्याक्सी र बसभन्दा दोब्बर भए पनि स्थानीय बासिन्दाहरू आनाकानी नै नगरी टेम्पो चढ्न लालयित हुने गरेको टेम्पो चालक बिनोद विश्वकर्माले बताए ।

दिंला लगायत आसपासका क्षेत्रमा सेवाग्राहीलाई ओसारपसार गर्न भ्याइनभ्याइ हुन थालेको उनले बताए । टेम्पो सञ्चालन सुरु भएपछि आसपासका क्षेत्रमा जान सहज भएको स्थानीय कल्पना श्रेष्ठले बताइन् । भनेको समयमा आफूले चाहेअनुसारको स्थानमा छोटो दूरीको यात्रा गर्न आनन्द र सहज हुने उनेको भनाइ छ ।

प्रकाशित : पुस २८, २०७५ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT