१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डा. केसीको समर्थनमा जेष्ठ नागरिक

विप्लव भट्टराई

इलाम — १६ औं सत्याग्रहमा रहेका डा. गोविन्द केसीको समर्थनमा आइतबार सदरमुकाममा जेष्ठ नागरिकले र्‍याली निकालेका छन् । सत्याग्रहस्थल फूलगाछीबाट सुरु भएको र्‍याली चोक बजारमा कोणसभामा परिणत भएको थियो । केसीका माग चाँडो सम्वोधन गर्नु पर्ने माग राख्दै र्‍याली निकालिएको हो ।

डा. केसीको समर्थनमा जेष्ठ नागरिक

उनीहरुले १५ औं अनशनमा सरकारसँग भएका सम्झौता पालन गरेर केसीको जीवन रक्षा गर्नु पर्ने माग गरेका छन् ।


कोणसभामा सम्बोधन गर्दै भुमी ढुंगानाले डा. केसीले उठाएका माग पूरा गराउन नागरिक खबरदारी र दबाब आवश्यक रहेको बताउँदै सरकारको उदासिनताप्रति कडा आपत्ति जनाए । आफैंले गरेको सम्झौता पालना नगर्नु सरकारको कमजोरी रहेको उनको भनाइ थियो ।


सत्याग्रह सुरु भएदेखि नै इलाम सदरमुकाममा दैनिक र्‍याली र कोणसभा भइरहेको छ । आइतबार डा. केसीका वार्ता टोली संयोजक डा. अभिशेक सिंहसमेत इलाम आएका छन् । साथै केसीको पक्षमा ओम साही अस्पताल झापाबाट भरत तिम्सिनासहित एक टोलीसमेत इलाम आएर स्वास्थ्य जाँच गर्दै आन्दोलको समर्थनसमेत गरेको छ ।

पाँचौ दिनसम्म सत्याग्रहमा अडिग रहेका डा.केसीको छातीमा समस्या आएको जिल्ला अस्पतालका चिकित्सक टोलीले बताएको छ । शनिबारदेखि नै सुतिरहेका केसीका स्वास्थ्यमा क्रमिकरुपमा समस्या थपिँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । डा. केसीको पिसाबसमेत कम आएको र छातीमा संक्रमण भएको डा. रामकृष्ण आचार्यले जानकारी दिए । समस्या थपिँदै गएकाले अस्पताल भर्नाको तयारी भएको उनले जनाए ।

भुइँमा बसेका डा.केसीलाई पछिल्लो समय बेडमा राखिएको छ । केसीको रक्तचाप र ग्लुकोजको मात्रा दिनैपिच्छे घटिरहेको उनको भनाइ छ ।

प्रकाशित : पुस २९, २०७५ १६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?