कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झापामा अवैध मदिरा निषेध

मदिराको व्यवस्थित बिक्री गर्न नियमन निकाय सक्रिय
पर्वत पोर्तेल

भद्रपुर, झापा — अवैध मदिराको अत्यधिक कारोबार हुने झापामा त्यस किसिमको मदिराको विक्री वितरणलाई पूर्णरूपमा बन्देज लगाउने अभियान स्थानीय प्रशासनले थालेको छ । 

मंगलबारदेखि अवैध मदिराको बिक्री वितरणमा बन्देज लगाउनुका साथै वैधानिक मदिराको बिक्री वितरणलाई समेत व्यवस्थित गरिनेछ । ‘झापालाई मदिराको व्यवस्थित कारोबार गर्ने नमुना जिल्ला वनाउने अभियानको उद्देश्य हो’, आन्तरिक राजस्व कार्यालय भद्रपुरका प्रमुख बोलराज आचार्यले भने, ‘अब अवैध मदिरा पूर्ण रूपमा निषेध गरिनेछ । अरू मदिरा पनि जहाँतहीँ बेच्न पाइने छैन ।’


झापाका राजनीतिक दल, उद्यमी, व्यवसायी, स्थानीय सरकार प्रमुख तथा प्रशासनको सहमतिमा गत कात्तिक ७ गते आन्तरिक राजस्व कार्यालयले यो अभियानको शंखघोष गरेको थियो । राजस्व प्रमुख आचार्यले थपे,‘३,४ महिना भित्र झापालाई मदिरा निषेधित जिल्ला नै बनाउने अभियानको लक्ष्य हो ।’


आन्तरिक राजस्व कार्यालय भद्रपुर र दमक आन्तरिक राजस्व कार्यालयले आ आफनो कार्यक्षेत्र माई पूर्व र माई पश्चिम क्षेत्रमा अवैध मदिरा व्यवस्थित गर्ने सम्बन्धमा काम सुरु गरिसकेको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । ‘मदिराको नियन्त्रण र व्यवस्थापनका सम्बन्धमा सचेतनामूलक कार्यक्रम पनि गरिने छ ।’


प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार पहिलो चरणमा इजाजत लिई कारोबार गरिरहेका तर नियमानुसार इजाजत नविकरण नगरेका करदातालाई करमा दायरामा ल्याइने छ । नियमानुसारको मदिराको खरिद बिक्री गर्ने व्यक्तिको उमेर १८ वर्षमाथि र झापाका विभिन्न स्थान हेरी कारोबार समय केहि फरक व्यवस्थापन गर्ने सोच रहेको छ । वर्षाैंदेखि घरेलु मदिरा व्यवसायमा आश्रित रहेका परिवारको बैकल्पिक रोजगारीको व्यवस्था समेत गरिने जनाइएको छ ।


अपराधको मूल कारण

झापामा हालसम्म भएका अधिकांश आपराधिक घटनाको मुख्य कारण मदिरा पाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी भीम प्रसाद ढकालले भने, ‘अपराधसम्बन्धी प्राय: घटनामा मदिरा कारण देखिएको छ ।’ ढकालका अनुसार झापा जिल्लामा गत आर्थिक वर्ष ०७४।०७५ मा १ हजार ६ सय ८७ घटना भएका थिए ।


जसमध्ये ५ सय १२ वटा घटनाको मूल कारण मदिरा सेवन थियो । चालु आवको ६ महिनामा ५ सय ७२ घटना भएमध्ये ८९ वटा घटना मादक पदार्थ सेवनकै कारण भएको पाइएको छ । ‘मदिराको बिक्री वितरण व्यवस्थित र सेवनलाई थप कडाइ गर्ने हो भने आपराधिक गतिविधिमा पनि कमी आउन सक्छ’, एसपी ढकालले भने,‘यसका लागि सवै जिल्लावासीको सहयोगको खाँचो छ ।’

मदिरामा नक्कली स्टिकर झापामा अन्त: शुल्क छलेर मदिराको अवैध कारोवार हुदै आएको छ । अन्त: शुल्कको नक्कली स्टिकर टास गरेका नक्कली मदिरा वजारमा छ्याप्छ्याप्ती भेटिन्छन् । मदिराको अवैध कारोबारीले भारतवाट अन्त शूल्कका नक्कली स्टिकरसँगै रक्सीको बिर्को समेत नक्कली ल्याउने र नक्कली रक्सीमा प्रयोग गर्ने गरेका पाइन्छ । ‘अन्त शुल्कको स्टिकर र ब्रान्डेड रक्सीका बिर्कोहरू भारतमा बन्छन्,’ प्रहरी स्रोत भन्छ, ‘भारतबाट लुकीचोरी ल्याएर नक्कली रक्सीमा स्टिकर र बिर्को टाँस गरिन्छ ।’


प्रहरीका अनुसार झापाको काँकडभिट्टा, धुलाबारी, चारआली, भद्रपुर, शनिश्चरे, सुरंगा, दमकलगायतका सहरी क्षेत्र र ग्रामीण क्षेत्रहरूमा समेत नक्कली मदिरा निर्बाध बिक्री वितरण भइरहेको । धेरै स्थानमा नक्कली मदिरा बनाउने भट्टीहरू नै छन् । तर, सम्बद्ध निकाय ती स्थानहरूसम्म पुगेकै छैन ।


स्रोतका अनुसार अधिकांश कारोबारीले रक्सी बनाउन स्पीरिड नामको एक केमिकल प्रयोग गर्ने गरेका छन् । त्यो पनि भारतबाट अवैध रूपमा आयात गरिन्छ । नक्कली मदिराको बढ्दो प्रयोग र बिक्री वितरणका कारण राज्यले वार्षिक करोडौं रुपैया राजस्व गुमाउँदै आएको छ ।

प्रकाशित : माघ १, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?