१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माघे संक्रान्ति : हुर्राको रमझम

धनकुटा — माघे संक्रान्ति पर्वको अवसरमा धनकुटाको गाउँबस्तीमा मगर समुदायको लोकप्रिय हुर्रा नाचले यतिबेला माघे संक्रान्तिको रौनक छाएको छ । पूर्वी नेपालमा लोकप्रिय हुर्रा नृत्य धनकुटाको चौबीसे क्षेत्रका मगर समुदायबाट सुरुवात गरिएको उक्त समुदायका अग्रजको भनाइ छ ।

माघे संक्रान्ति : हुर्राको रमझम

यतिबेला विशेषत: चौबीसे लगायत जिल्लाका मगर समुदायको बाहुल्य क्षेत्रमा मादल, बाँसुरी, खैजडीसहित हुर्राको आकर्षक भाका ‘हुर्रा हा..हा...’ र ‘देशैैं रमाइलो...’ ले रौनकता छाएको छ ।


गाउँबस्तीमा जोर मादल र बाँसुरीको साथमा हुर्राको रौनक सुरु भइसकेको मगर संघका जिल्ला अध्यक्ष जेबी घले बताउँछन् । जिल्लाको महालक्ष्मी नगरपालिका, साँगुरीगढी, चौबीसे, सहिदभूमि क्षेत्रमा विशेष रूपमा हुर्रा नृत्यले रमाइलो प्रदान गर्ने मगर संघका पूर्व सचिव इन्द्र सारु मगर बताउँछन् ।


खासगरी मुलुकको पूर्वी केही जिल्लामा लोकप्रिय हुर्रा नाच धनकुटासँगै सुनसरी, मोरङ लगायतका जिल्लामा पनि विस्तार हुँदै गएको मगरले बताए । ‘तिहार र माघे संक्रान्तिमा सिंगो मगर समुदाय मात्र नभएर अन्य जातजातिले पनि हुर्रा नाचेर साथ दिने गरेका छन्’, उनले भने, ‘गीतको रमाइलो भाका र नृत्य सहज भएकोले मगर समुदायमा मिश्रित अन्य जातजातिकाले पनि हुर्रा मन पराउँदै आएका छन् ।’


आफ्नै मौलिक पहिरनमा युवा युवतीहरू नृत्य र वाद्यवादनमा सहभागी हुने र वृद्धवृद्धा भने गीतको भाका हाल्न व्यस्त छन् । हुर्रामा प्रेम दर्शाउने गरिएको वसन्तटारका मनप्रसाद मगरको भनाइ छ । एकापसमा हात समाएर गोलो घेरा लगाउँदै नाचिने हुर्रामा नाच्दा नाच्दै दिन र रात बितेको समेत पत्तै नहुने उनले बताए ।


चौबीसेकी भीमकुमारी मगर पनि हुर्राको भाका हाल्न निकै सिपालु मानिन्छन् । मादल, बासुरी बजाउने र भाका हाल्नेहरू नृत्य गर्नेको गोलो घेराभित्र रहन्छन् । नृत्य गर्नेहरू बिस्तारै गीतको भाकामा चालमा चाल मिलाएर घुम्दै नाचिने गरिएको हुर्रामा सबै उमेर समूहका सहभागी हुन्छन् ।


नृत्यमा युवा युवतीको आकर्षण बढी रहने सहभागी सुवास मगर बताउँछन् । मगर मुक्ति मोर्चाका संयोजकसमेत रहेका सुवासले मादल र झ्यालीको ताल तथा गीतको भाका नाच्नका लागि जोशिलो हुने हुनाले मगर बाहेक अन्य समुदाय पनि हुर्रामा झुम्न आउने गरेको बताए । हुर्रा नृत्यलाई व्यवस्थित गर्न इन्द्र सारु, जेबी घले, मनबहादुर आले, डम्बर राना लगायतका युवा जमात अग्रसर छन् । हुर्रा चाडपर्वसँगै मेला महोत्सवमा पनि प्रस्तुति गरिने मगर संघका जिल्ला अध्यक्ष घलेले बताए ।


माघे संक्रान्तिमा महोत्सव

होमस्टे गाउँको रूपमा परिचित धनकुटाको साँगुरीगढी ६ स्थित नाम्जे थुम्की गाउँमा सोमबारदेखि माघे संक्रान्ति पर्वको अवसरमा तीनदिने महोत्सव सुरु भएको छ ।


आगामी बुधबारसम्म प्रथम माघे संक्रान्ति महोत्सव आयोजना गरिएको हो । अमेरिकी समाचार संस्था सीएनएनले पुग्नै पर्ने प्रमुख गन्तव्यको सूचीमा सूचीकृत नाम्जेमा गाउँपालिका र स्थानीय १३ वटा संघसंस्थाले संयुक्त रूपमा महोत्सव आयोजना गरेको आयोजक समितिका संयोजक अनिलकुमार राना मगरले बताए ।


मगर समुदायको बाहुल्य रहेको उक्त स्थानमा महोत्सवको पहिलो दिन हुर्रा नाच प्रस्तुत गरिएको छ । दोस्रो दिन राई जातिको साकेला र तेस्रो दिन याम्फु राईको ढोल नृत्य गरिने उनले जानकारी दिए । महोत्सवमा मौलिक परिकार र सांस्कृतिक कार्यक्रम समावेश गरिएको मूल आयोजक समितिका सचिव अशोककुमार मगरले बताए । महोत्सवमा २० स्टल छन् । यस्तै भलिबल र फुटसल प्रतियोगितासमेत सञ्चालन हुने भएको छ ।


महोत्सवमा कम्तीमा ३० हजार पर्यटक भित्र्याउने र १० लाखको खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । आत्माघर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्की होमस्टे, सैलुङडाँडा, पाथीभरा मन्दिर, शंखेश्वर महादेव, नमस्ते झरना, ध्वजेडाँडा, ओख्रे भ्यू, साँगुरीगढी लगायत क्षेत्रको प्रचार प्रवद्र्धनमा महोत्सव फलदायी हुने आयोजकको दाबी छ ।


माघे संक्रान्तिमा मेला

विराटनगर (कास)– माघे संक्रान्तिका दिन मंगलबार पूर्वका विभिन्न स्थानमा मेला लाग्दैछ । सूर्यधनु राशिबाट मकर राशिमा प्रवेश गरेको दिन मकर संक्रान्तिका रूपमा विभिन्न तीर्थस्थलहरूमा भेला भएर भक्तजनले स्नान र पूजापाठ गर्छन् । भाकल गर्नेहरूले परेवा उडाउने चलन पनि छ ।


यस अवसरमा परिवार र आफन्तजन भेला भएर चाकु, तरुल, तिलको लड्डु जस्ता वस्तु खाने चलन छ । यस अवसरमा इलामको माईखोला, झापाको कन्काई माई, पाँचथर–ताप्लेजुङ सीमामा पर्ने काबेली नदी, सुनसरीको बराहक्षेत्रलगायत स्थानमा मेला लाग्छ ।नदी र जलाशयहरूमा भेला भएर मकर स्नान गर्ने श्रद्धालु भक्तजनको यी क्षेत्रमा उल्लेख्य उपस्थिति हुन्छ ।


नदी किनारमा लाग्ने मेला व्यापारिक रूपले पनि महत्वपूर्ण हुने गरेको छ । यस अवसरमा विभिन्न जातजातिका मौलिक सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिन्छ । यसै अवसरमा थारू समुदायले माघी पर्वका रूपमा मनाउने गरेका छन् ।


सार्वजनिक बिदा

तेह्रथुम (कास)– माघे सक्रान्ति पर्वको अवसरमा मेन्छ्यायेम गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले माघे संक्रान्ति पर्व माघ १ गतेलाई सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।


गाउँपालिकाका विभिन्न स्थानमा माघेनी मेला लाग्ने भएकाले एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिनाले बताइन् । गाउँपालिकाको मोराहाङ र पौठाकको सीमास्थित खोरुंगा खोला किनारमा रहेको गौखुरी धाममा माघे संक्रान्तिका दिन विशेष पूजापाठ गरी मेला लाग्ने गरेको छ ।


माघे संक्रान्तिमा खोरुंगा खोलामा मकर नुहाएर गोउखुरी धाममा गौमाता र भकारी थानको दर्शन, ऐतिहासिक बोक्सीमारा ढुंगा र इत्रुङ झरनाको अवलोकन गरिने कार्यक्रम भव्यरूपमा बर्सेनि हुने गरेको गाउँपालिकाका प्रवक्ता प्रदीप बुढाथोकीेले बताए ।

प्रकाशित : माघ १, २०७५ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?