गोरु जुधाइः जुभाने भयो उत्कृष्ट

धनकुटा — प्राकृतिक रूपमा निर्मित स्टुडियममा दर्शक खचाखच भरिएका थिए । बाँझो बारीको गहिरो भागमा रहेको गजेभन्ज्याङ खेल मैदानमा प्रतिस्पर्दी भिड्दै थिए । एकपछि अर्को गर्दै प्रतिस्पर्दीलाई पाखा लगाउँदै अग्लो जुरो, तिखारिएको सिं र कसिलो शरिर भएको जुभाने गोरु जुधाइमा सर्वोत्कृष्ट हुन सफल भयो । 

गोरु जुधाइः जुभाने भयो उत्कृष्ट

माघे संक्रान्ति पर्वका अवसरमा धनकुटाको पाख्रिबास नगरपालिका ७ स्थित मुगामा पहिलो पटक आयोजना गरिएको गोरु जुधाइमा स्थानीय महशुर राईको जुभाने नामको गोरु पहिलो भएको हो । १५ प्रतिस्पर्दी गोरु थिए । जुभानेले सुरुदेखि फाइनलमा समेत उत्कृष्ट प्रदर्शन गरेको आयोजकले जनाए । माघे संक्रान्ति मेला आयोजक समितिले मनोरञ्जनात्मक खेलका रूपमा गोरु जुधाउने प्रतियोगिता पहिलो पटक आयोजना गरेको आयोजक समितिका कोषाध्यक्ष नवीन बराइलीले बताए । ‘पहिलो पटकको प्रयासमा नै हौसला मिलेको छ’, उनले भने, ‘सर्वसाधारणले अत्यन्त रोचक मानेकाले यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइँदै जाने छौं ।’


६ वर्षको जुभानेसँग कतिपय गोरु भिड्न डराएर भागेका थिए । जुध्न आएकालाई पनि उसले सहजै जितेको स्थानीय नगेन्द्र गहतराजले बताए । जुभानेलाई लिएर ६६ वर्षिय मालिक राई साथमा गएका थिए । बारी जोत्दा समेत निकै फुर्ति र हत्तपत्त नगल्ने स्वभावको भएकाले आफ्नो गोरुले जित्ने आशा भएर प्रतिस्पर्दामा भाग लिएको राईले बताए ।


जितको साथमा उनले १५ हजार रुपैयाँ राशिको पुरस्कार पाएका छन् । आफ्नो गोरुले पाएको नगदबाट स्तरीय कुडो खुवाउने उनले बताए । ‘बहादुर देखाएर जोभानेले पाएको पैसा उस्कै लागि खर्च गर्दिन्छु’ उनले भने, ‘उसले जितेर मेरो नाम समेत चर्चित बनाइदिएकाले सारै खुसी लागेको छ ।’


मेलामा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको गोरु जुधाई रोचक भएको पाख्रिबास नगरपालिकाका प्रमुख बिर्खबहादुर राईले बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका उनले जुभानेको सिङमा उसले पाएको नगद राखेर मालिकलाई हस्तान्तरण गरे ।


पाख्रिबास नगरपालिका र स्थानीय युवाको सहकार्यमा गोरु जुधाइ कार्यक्रम आयोजना गरिएको कार्यक्रमलाई आगामी वर्षमा अझ व्यवस्थित रूपमा निरन्तरता दिइने आयोजकले जनाएको छ । स्थानीय ७५ वर्षे पिलारूप विश्वकर्माले जीवनमा पहिलो पटक गोरु जुधाई खेल हेर्न पाएको बताइन् । प्रतियोगितामा सहभागी गोरुको बिमासमेत गरिएको थियो । गोरु जुधाइ हेर्न धनकुटा लगायत छिमेकी जिल्लाबाट समेत सर्वसाधारणको उल्लेख्य उपस्थित थियो ।


यसैबिच धनकुटाको साँगुरीगढी ६ स्थित नाम्जे थुम्की गाउँमा सोमवारदेखि जारी माघे संक्रान्ति मेलामा हुर्रा, याम्फू, राई तथा लिम्बु जातिको नृत्य लगायतको कार्यक्रम आयोजना गरिएको छ । आजसम्म जारी महोत्सवमा मौलिक परिकार र सांस्कृतिक कार्यक्रम समावेश गरिएको मुल आयोजक समितिका सचिव अशोककुमार मगरले जानकारी दिए । यस्तै भलिबल र फुटसल प्रतियोगिता समेत सञ्चालन गरिने जनाइएको छ ।


प्रकाशित : माघ २, २०७५ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?