कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

मकर स्नान गर्नेको भीड

अर्जुन राजवंशी

दमक — मकर स्नानका लागि मंगलबार कन्काई नदीमा भक्तजनको ठूलो भीड लागेको छ । धार्मिक दृष्टिकोणले पवित्र नदीका रूपमा मानिँदै आएको कन्काईमा स्नान गर्ने तथा मेला भर्नेको घुइँचो लागेको हो । 

जिल्लाकै ठूलो नदीसमेत रहेको कन्काईको दुवै किनारमा मेला लागेको थियो । पूर्व पश्चिम राजमार्गसँगैको शिवसताक्षी नगरपालिका १० स्थित माइधार, दोमुखा र वार्ड नं. ४ स्थित रंगियाथान तथा कन्काई नगरपालिका ४ स्थित कोटीहोममा ठूलो मेला लाग्यो ।


विगतमा एक सातासम्म लाग्ने कन्काई मेला यो वर्ष भने तीन दिन लगाउने निर्णय भएको छ । शिवसताक्षी र कन्काई नगरपालिकाले आआफ्नो क्षेत्रमा पर्ने खोला धारमा ८/८ लाख रुपैयाँको टेण्डर आह्वान गरी मेला लगाएको हो ।


पुस ३० देखि सुरु भएको मेला माघ २ सम्म चल्ने छ । ‘१ गतेको मेला शान्तिपूर्ण रूपमा सम्पन्न भयो’ शिवसताक्षी १० का वडाध्यक्ष कर्णबहादुर थापाले भने, ‘विगतभन्दा भक्तजनको उपस्थिति केही कम रह्यो ।’ उनका अनुसार मंगलबार करिब ७० हजार भक्तजन मेला भर्न तथा स्नान गर्न आए ।


मंगलबार कन्काई किनारमा रहेको पर्यटकीय स्थल दोमुखा पनि भरिभराऊ रह्यो । कन्काई मेला भर्न आएका ठूलो संख्याका युवायवती दोमुखा घुम्न आए । पर्यटकीय हिसाबले विकास गरिएको दोमुखामा कन्काई सिँचाइ प्रणालीको हेडबक्स, झोलुङ्गे पुलमा प्रेमिल जोडीको फोटो खिच्ने भीड थियो ।


यस वर्ष पूर्व पश्चिम राजमार्गमा सवारी आवागमनलाई व्यवस्थित बनाउन मेला भर्न आएका तथा स्नान गर्ने भक्तजनलाई पुल माथिबाट वरिपारि गर्न रोक लगाइएको थियो । भक्तजनलाई वारिपारि गर्न मेला आयोजक समितिले नदीको दुवै किनार जोड्ने गरी अस्थायी पुलको व्यवस्था गरेको थियो ।


पछिल्ला वर्षमा कन्काई नदीको दक्षिणी किनारमा पनि ठूलो मेला लाग्ने गरेको छ । शिवसताक्षी ४ र गौरीगञ्ज गाउँपालिका १ स्थित रंगियाथानमा पनि मकर स्नान तथा मेला भर्नेको मंगलबार बिहानैदेखि घुइँचो लाग्यो । ‘विगत ५ बर्ष यता हामी माइधारको मेला जानै छाडेका छौं’ रंगियाथानका अबिनाश राजवंशीले भने,‘गाउँमै कन्काई किनारमा ठूलो मेला लाग्ने गर्छ ।


त्यसैले गाउँमै रमाइलो हुन्छ ।’ उनले माइधारसम्म जान सवारीसाधनको कठिनाइ, खर्चिलो र झैझगडाको डर हुने भएकाले गाउँकै मेलामा रमाउने गरेको बताए । पछिल्लो तीन वर्षयता रंगियाथानस्थित कन्काई किनारमा लाग्ने मेलामा पनि रोटेपिङ, विभिन्न खेल तमासा, सौन्दर्य सामग्रीका स्टल, मिठाइलगायत करीब एक सय स्टल रहने गरेको उनले बताए ।


जिल्लाकै ठूलो मेलाका रूपमा लाग्ने गरेको कन्काई माई मेलामा यस वर्ष मादक पदार्थ विक्री वितरणमा कडाई गरिएको थियो । मेलामा जथाभावी मदिरा बिक्री वितरण नगर्न प्रहरीले माइकिङ गरेको थियो ।

प्रकाशित : माघ २, २०७५ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?