कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक निर्माण, विकासभन्दा विनाश बढी

उदयपुर — प्राविधिकको जाँचबिना नै प्रतिस्प्रर्धा र प्रतिष्ठाका रूपमा ग्रामीण क्षेत्रमा सडक निर्माण हुने क्रम रोकिएको छैन । यी सडकमा यातायातका साधन चल्ने भन्दा पनि प्राकृतिक जोखिम बढाएका छन् । 

सडक निर्माण, विकासभन्दा विनाश बढी

स्थानीय तहले पहाडी क्षेत्रमा बिकासका नाममा जथाभावी सडकको ट्रयाक खोल्ने कामलाई प्राथमिकतामा राखेका छन् । वातावरण प्रभाव असर मूल्यांकन गर्ने काम नगरि बिना प्राविधिक एस्काभेटर अपरेटरको भरमा ट्रयाक खनि रहेका छन् । यस्ता ट्रयाकमा यतीबेला सवारीका साधन गुड्न सक्ने अवस्था छैनन् । प्राकृतिक प्रकोपको जोखिम पनि बढाएको छ । जिल्लाको पहाडी क्षेत्रका एउटै डाँडामा पाँचवटासम्म सडक ट्रयाक खोलिएका छन् । त्यसमा व्यक्तिपिच्छेका घरपुग्ने सहायक बाटो पनि खोलिएका छन् ।


अधिकांश ट्रयाक आवश्यक्ताभन्दा पनि राजनैतिक पहुँचका भरमा खनिएका छन् । वातावरण प्रभाव असर मूल्यांकन गर्नु त परैको कुरा सर्भे समेत नगरी एस्काभेटर अपरेटरको भरमा ट्रयाक खोलिएका छन् । पुराना सडकको स्तरोन्नतिमा ध्यान नदिई नयाँ ट्रयाकमात्र खोल्ने क्रमले एकातिर यस्ता ट्रयाकमा गाडी गुड्ने अवस्था छैन भने अर्कोतिर प्रकृतिक प्रकोपको जोखिम समेत बढाएको छ । अहिले धेरै घरहरू पहिरोको जोखिमा परेकाछन् । पानीको श्रोत समेत सुक्दै गएका छन् ।


जथाभावी खोलिएका सडकका कारण प्राकृकित प्रकोपसंगै शहरी र गाउँबस्तीको सौन्दर्यसमेत असर परेको छ । सुन्दर गाउँबस्ती कुरुप बन्दै गएको छन । आवश्यकताभन्दा ज्यादै धेरै सडक खोलिएको छ । घुमेर जादाँ एउटै सडकले पुगीने स्थानमा जनप्रतिनिधिले सर्वसाधारणको माग सम्बोधन गरिदिने बहानमा सोझे सडक खनिएको छ ।


आफनो आफन्त र ससुराली घरमा पुग्नपनि सजिलो होस भन्ने उद्देश्यले सडक खनिएको पाइएको छ । जनप्रतिनिधि आफै एस्काभेटर, डोजर र ट्याक्टरको मालिक भएकाले ती उपकरणलाई कामपनि दिईने र कामाईपनि हुने भएकाले स्थानीय तहले सडकलाई पहिलो प्राथमिकता दिएर काम भइरहेको सर्वसाधारणले गुनासो गरेका छन ।


‘बाटो आवश्यक हो, बनाउनुपर्दछ’ कटारी नगरपालिकका स्थानीय नरेन्द्र कार्कीले भने, ‘तर आवश्यकताभन्दा धेरै होइन ।’ सडक खन्दा सडक बनाइने स्थानमा रहेको पहाडको अवस्था र त्यसले प्राकृतिक रूपमा पार्ने जोखिमपनि हेरिनुपर्ने उनले बताए । कटारी नरपालिकको ८ नम्बर वडाको बेतेनीबाट कोलबोटे जोड्ने सडकले कटारी बजारलाई कुरूप बनाएको छ । नगरपालिकको केन्द्र रहेको कटारी बजारको शिरैमा पर्ने त्यो सडक जथाभावी खनिएकाले सौन्र्दयमा नै प्रहार गरेको छ ।


तल्लो समथर भामा रहेको कटारी बजारको मुख्य आकर्षण भनेको माथिल्लो क्षेत्रको हरियाली प्रकृतिक रूपले भरिपूर्ण पहाड हो । त्यहि पाहाडमा जथाभावी सडक खनिएकलो कटारी बजार पुग्ने जो कोहिले कटारी नगरपालिकालाई गिज्याउने गरेका छन । ‘माथि जथाभावी खनिएको सडकले कटारी बजारलाई गिज्याइरहेको छ’ स्थानीय कार्कीले भने, ‘तल बाहिरबाट कटारी बजार आइपुग्ने जो कोहिले कटारी बजारलाई गिज्याउँछन ।’ बेतेनी कोलबोटे जोडन जथाभावी खनिएको सडकको करण भएको उनले वताए ।


जथाभावी खनिएका सडकले अहिले जोखिम बढाएको रौतामाइ गाउँपालिकका स्थानीय पूणबहादुर राउतले वताए । ‘पहिले आवश्यकता भन्दै जथाभावी सडक खनियो, अहिले तीनै सडकले जोखिम बढाएको छ ।’ यस्तै अवस्था रहेका आगामी वर्षात्को समयमा पहाडी क्षेत्रमा ठूलो पहिरो जाने सम्भावना रहेको उनले बताए । गाँउ विकासमा सडक आवश्यकता हो ।


तर आवश्यकता भन्दै जथाभावी खनिएका सडक र तीनलाई मर्मत सम्भार नर्गदा भूक्षयको जोखिम छ । जसका करण माथिल्लो क्षेत्रका कतिपय स्थानमा रहेका सडक पहिरोको जोखिममा तल्लो पहाडका वस्ती पुरीने अवस्था सहरको स्थानीय वताएछन । ‘सडककै कारण पहाडमा पहिरो जाँदा कतिपय बस्ती नै बसाइँसराइ हुने अवस्थामा छन्,’ स्थानीय राउतले भने, ‘भूक्षय रोक्ने कार्यक्रम र पर्यवरण सरक्षण गर्ने चासो नदिई सकड खनिँदा भवी सन्ततिले दु:ख पाउने निश्चित छ ।’


‘निर्वाचन ताका सर्वसाधरणसँग गरेको प्रतिबद्धता पुरा गर्नपनि सडक खन्नु परेको हो’ ताप्ली गाउँपालिका प्रमुख उद्धवसिंह थापाले भने, ‘जनताको माग सडक खन्नुपर्ने आयो, त्यसै अनुरूप खनिएको हो ।’ तर अहिले आएर सडक खन्ने काम रोकिएको छ , अब पहिले खनेका सडकलाई नै मर्मत सम्भार गरिने र पर्यावरणीय जोखम भएका स्थानमा वृक्षारोपण गरिने उने बताए ।


स्थानीय तहमा जनप्रतिनिधि आएपछि ट्रयाक खोल्ने क्रम झनै बढेको छ । चुनावताका सडक निर्माण गर्नेलगायतका बिकासे बाचा गरेका जनप्रतिनिधिले ट्रयाक खोल्ने कामलाई प्राथमिक्तामा राखेकाछन् । अन्य विकासका कामभन्दा ट्रयाक खोल्ने काम सजिलो र देखिने भएकाले जनप्रतिनिधीहरूको समेत यसैतर्फ केन्द्रित भएको लेखिन्छ ।


पुराना सडकको स्तरोन्नतिको कामलाई प्राथमितामा राख्दै नयाँ ट्रयाक खोल्दा राजनैतिक पहुँचका भरमा नभई आवश्यक्तालाई प्राथमिक्ता दिने र प्राबधिकको निगरानीमा खन्ने कामलाई कडाइका साथ लागु गर्न सकेमात्रै प्रकृतिक रूपले सुन्दर देखिने पहाडलाई बचाइराख्न सकिने पर्यावण विज्ञ बताउँछन् । ‘सडक आवश्यकता हो, तर जथाभावी खनिने सडक आवश्यता होइन,’ विज्ञले सुझाए ।


त्यसैले सडककलाई पैसा कमाउने माध्यम र जनप्रतिनिधिले जनातालाई काम गरेको देखाउनेभन्दा अवश्यकता महसुस गरी वातावरणीय प्रभाव असर मूल्याकन प्रतिवेदन तयार गरेर दक्ष प्राविधिकबाट लगत स्टिमेट गरे सडक खन्दा विकाससँगै पर्यावरण पनि जोगिने र सर्वसाधारणले ढुक्क भएर बाँच्न पाउनेमा दुईमत छैन ।

प्रकाशित : माघ २, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?