साहसी खेलमा जोड

चन्द्र कार्की

तेह्रथुम — भारतको विहार र पूर्वी तराईबाट नजिकको दूरीमा रहेको पहाडी जिल्ला तेह्रथुममा साहसिक खेल पर्यटनको राम्रो सम्भावना रहेको सरोकारवालाको भनाइ छ । जिल्लामा प्याराग्लाइडिङ, रकक्लाइम्बिङ, र्‍याफ्टिङ, साइक्लिङ, क्यानोनिङ, फुटबल, भलिबल, 
गल्फ, ब्याडमिन्टन, डन्डीबियोलगायतका प्रतियोगिता सञ्चालन गर्न सकिने उनीहरूको भनाइ छ ।

साहसी खेलमा जोड

प्याराग्लाइइिङका लागि तीनजुरे, पटेक डाँडा, मंगलबारे र मेन्छ्यायाम डाँडा उपयुक्त रहेको जिल्ला खेलकुद विकास समिति अध्यक्ष केशव भट्टराईले बताए । यी डाँडामा नेपाल हवाई खेलकुद संस्था पोखराले परीक्षण उडान समेत गरिसकेको छ । यहाँ वर्षको ८ महिना प्याराग्लाइडिङको उडान गर्न सकिने सञ्चालक राजेश बम्जनले बताए ।


यी डाँडाबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथा हिमाल र लेकाली फाँटको अवलोकन गर्न सकिन्छ । यी डाँडामा सामान्य पूर्वाधार मात्र निर्माण गर्न सकेको खण्डमा पनि साहसिक खेल प्याराग्लाइइिङ प्रतियोगिता गराउन सकिने भट्टराईले बताए । तीन तहका सरकार बनिसक्दा पनि कसैको चासो त्यसतर्फ जान सकेको छैन । तर स्थानीयहरूले भने पहल थालेका छन् ।


साहसिक खेलकै रूपमा लिइने रक क्लाइम्बिङको पनि यहाँ राम्रो सम्भावना रहेको प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । विभिन्न स्थानमा धेरै उचाइका पहरा भएकाले यो खेलको राम्रो सम्भावना देखिएको सांसद तिवारीले बताए । त्यसका लागि पहिलो चरणमा तीनजुरे डाँडा नजिक रहेको कैलाश हिलको पहरोमा सम्भाव्यता अध्ययन गर्न लागिएको सांसद तिवारीले बताए ।


धेरैले सहजै खेल्न सक्ने गल्फ पनि तेह्रथुमको खेल पर्यटनको अर्को माध्यम बन्न सक्ने खेलाडीको भनाइ छ । गल्फ कोर्सका लागि पर्याप्त स्थान भए पनि त्यसका लागि सर्वेक्षण नहुँदा यो खेल यहाँका खेलाडीको रोजाइमा पर्न सकेको छैन ।


वसन्तपुरमा निर्माण भइरहेको खेल मैदानलाई पूर्णता दिएर सञ्चालनमा ल्याउन सके गल्फ खेल पनि जिल्लाको खेल पर्यटनको माध्यम बन्न सक्ने पाथीभरा सामुदायिक युवा क्लब वसन्तपुरका अध्यक्ष मिलन थापाले बताए । यो खेलका लागि जिल्लाका माथिल्लो क्षेत्रमा ठूला ठूला नागी र चौर रहेकाले ठूलो लगानीको खेल मैदान पनि नचाहिने थापाको भनाइ छ ।


जिल्लामा पर्यटक भित्र्याउनका लागि तमोर नदीको जलयात्रा पनि निकै प्रभावकारी हुने देखिएको छ । वर्षको बाह्रै महिना तमोर नदीमा र्‍याफ्टिङ सञ्चालन गर्न सके जिल्लाको खेल पर्यटनको विकास हुने जिल्ला समन्वय समिति संयोजक शिव ढुंगानाले बताए । तमोर नदीमा र्‍याफ्टिङ गर्दै सुनसरीको चतरासम्म सजिलै पुग्न सकिन्छ । र्‍याफ्टिङका लागि चाहिने आवश्यक सामान नदीसम्म पुर्‍याउन बाटोको व्यवस्था गर्न सके यो साहसिक खेल वर्षभरि नै सञ्चालन गर्न सकिने पर्यटन व्यवसायीको भनाइ छ ।


तमोर नदीसँग सीमा जोडिएका म्याङलुङ नगरपालिका र छथर गाउँपालिकाले तमोर नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न तयारी थालेका छन् ।


जिल्लाका वसन्तपुर, म्याङलुङ, संक्रान्ती, छातेढुंगा, छथर लगायतका स्थानलाई फुटबल खेल विकासका लागि प्रयोग गर्न सकिन्छ । यी स्थानमा पर्याप्त पूर्वाधार निर्माण गरेर प्रतियोगिता आयोजना गर्न सके खेल क्षेत्रको विकाससँगै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने देखिएको छ ।


पूर्वी तराईबाट नजिकको दूरीमा रहेको वसन्तपुरमा गर्मी मौसममा फुटबल प्रतियोगिता आयोजना गर्न सके खेल पर्यटनलाई थप सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष समेत रहेका पाथीभरा सामुदायिक युवा क्लबका अध्यक्ष थापाले बताए । क्यानोनिङ खेलका लागि जिल्लामा रहेका ह्यात्रुङ, लम्बु, पिंगुवा, खोरुङ्गा लगायतका खोलामा भएका झरनालाई प्रयोगमा ल्याउन सकिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।


एउटै उचाइको पहाड भएर गएको गुराँस भूमि तीनजुरे मिल्के जलजले क्षेत्रको करिब २ सय मिलोमिटर क्षेत्रमा साइक्लिङ प्रतियोगिता गराउन सकिने सम्भावना छ । यो खेलले पनि यहाँको खेल पर्यटनलाई थप सहयोग पुर्‍याउन सक्ने देखिएको छ । पाँच वर्षअघि राष्ट्रिय भलिबल प्रतियोगिता समेत सम्पन्न भइसकेको तेह्रथुममा भलिबल खेलको समेत उत्तिकै सम्भावना छ ।


सरकारले थोरै मात्र सहयोग गरिदिने हो भने जिल्लामा भलिबल खेलको सबैभन्दा धेरै सम्भावना रहेको जिल्ला भलिबल संघका अध्यक्ष भूपतिलाल श्रेष्ठले बताए । थोरै जमिन भए पनि खेल्न सकिने भलिबल खेललाई विकास गर्न सके यहाँको खेल पर्यटनलाई महत्त्वपूर्ण सहयोग पुग्ने श्रेष्ठको भनाइ छ ।

प्रकाशित : माघ २, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?