१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

गिटी दोहन छानबिन

खोटाङ — निर्माणाधीन मध्यपहाडी लोकमार्ग निर्माणमा संलग्न गोल्डेन गुड जेवी निर्माण कम्पनीले बगरेभन्ज्याङमा अवैध रुपमा गिटी दोहन गरेको भन्दै गुनासो आएपछि डिभिजन वन कार्यालय खोटाङले अनुसन्धान सुरु गरेको छ ।

गिटी दोहन छानबिन

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा ६ नेर्पा र वडा ११ खार्मीको बीचमा पर्ने डाडाँखर्क खिसापत्रे सामुदायिक वन क्षेत्रभित्र पर्ने बगरेभन्ज्याङमा कानुनी प्रक्रिया पूरा नगरी गिटी दोहन गरेको उजुरीपछि छानविन गरिएको हो ।


डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णका अनुसार दिक्तेलस्थित सव–डिभिजन वन कार्यालयका सहायक वन अधिकृत चतुरनारायण साहलाई उक्त छानविनका लागि खटाएको बताए । कर्णका अनुसार डाँडाखर्क खिसापत्रे सामुदायिक वन र गोल्डेन गुड जेबी निर्माण कम्पनीलाई गिटी उत्खननका लागि नेपाल सरकारले दिएको इजाजत छ/छैन भनी पत्राचार गरिएको छ ।


सामुदायिक वन तथा डिभिजन वन कार्यालयले भने वातावरणीय प्रभाव मूल्यांकनका लागि निर्णय तथा सिफारिस नगरेको खुलासा भएको छ । वातावरणीय प्रभाव मूल्यांकनका लागि सम्बन्धित सामुदायिक वन, डिभिजन वन कार्यालय र सम्बन्धित नगरपालिकाको सिफारिस आवश्यक पर्ने कर्णले सुनाए ।


यसमध्ये सम्बन्धित सामुदायिक वन र डिभिजन वन कार्यालयले सिफारिस नदिएकाले कसरी वातावरणीय प्रभाव मूल्यांकन गरियो भन्ने प्रश्न उठेको कर्णले सुनाए । ‘तैपनि सबै कागज मगाइएको छ ।’ कर्णले भने, ‘हेरेपछि मात्र सही या झुटो भन्ने खुल्छ ।’


यसबारेमा निर्माणमा संलग्न कम्पनीसँग सम्बद्ध साङ्गे शेर्पाले भने वातावरणीय प्रभाव मूल्यांकन गरेर गिटी खानी सञ्चालन गरिएको बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले पनि कानुनी प्रक्रिया पुर्‍याएरै गिटी उत्खनन गरेको बताए ।


‘राष्ट्रिय गौरवका आयोजना अन्तर्गतको योजनामा असर पर्ने भएकाले गिटी उत्खनन गर्न दिइएको हो ।’ नगरप्रमुख रिजालले भने, ‘नत्र काम नै अवरुद्ध हुने अवस्था छ ।’

प्रकाशित : माघ २, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?