कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सडक मापदण्ड मिचेर संरचना

ओखलढुंगा — सोलुखुम्बुको सोलुखोलामा निर्माणाधीन ‘माथिल्लो सोलुखोला जलविद्युत् आयोजना’ले साल्मे–सल्लेरी सडकमा मापदण्ड विपरित स्थायी संरचना निर्माण गरेको छ ।

सडक मापदण्ड मिचेर संरचना

सडकको मापदण्ड अनुसार राजमार्गको दायाँबायाँ १५ मिटरको दरले खाली छोड्नुपर्नेमा माथिल्लो सोलुखोला जलविद्युत् आयोजनाले मापदण्ड मिचेको हो ।


सडकको पाँचदेखि दस मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गरिएको छ । साल्मेस्थित पावरहाउस छेउदेखि झण्डै चार किलोमिटरसम्म सडक मापदण्ड विपरीत पाइप राखिएका हुन् । हर्कपुर–ओखलढुंगा हुँदै सोलु सल्लेरी सडक तीन वर्षअघि कालोपत्रे भइसकेको छ । राजमार्गको मापदण्डमा राखिएको सडकसँगै जोडेर विद्युत् आयोजनाले स्थायी संरचना निर्माण गर्दा सडक विभाग लगायतले प्रतिक्रिया जनाएका छैनन् ।


‘दीर्घकालीन रुपले हेर्ने हो भने सडकलाई असर पुग्ने स्पष्ट रुपमा देखिएको छ ।’ सोलुखुम्बु प्रदेशसभा सदस्य उत्तम बस्नेतले भने, ‘यो सडक केही वर्षपछि त अवश्य विस्तार हुन्छ । त्यतिखेर यही समस्याले गर्दा अप्ठ्यारो परिस्थिति सिर्जना अवश्य हुन्छ ।’ आफूले पटक पटक यो विषय प्रदेश र जिल्लामा उठाए पनि कार्यान्वयनमा ल्याउन गाह्रो भएको उनले बताए । हर्कपुर सडक डिभिजन कार्यालयका प्रमुख विजय थापाले यस विषयमा कुरा भइरहेको बताए । आफ्नो कार्यकालअघि नै एकपटक आयोजनालाई परिपत्र गरिएको प्रमुख थापाले बताए । ‘यस विषयमा सिडिओसँग सल्लाह गरेर एउटा बैठक राख्ने तयारी भएको छ ।’ प्रमुख थापाले भने, ‘केही दिनमै छलफल हुन्छ र केही निष्कर्ष निस्किन्छ होला ।’


तत्काल सडक विस्तार नभएपनि भविष्यमा यस्ता स्थायी संरचनाले असर गर्ने प्रमूख थापाले स्वीकारे । तर हाल सडकका दायाँबायाँको १५ मिटर क्षेत्रका लागि व्यक्तिलाई मुआब्जा दिई नसकेको र व्यक्तिले जग्गा भोगचलन गरिरहेको कारण विभागले काम रोक्न लगाउन नमिलेको उनले बताए ।


आयोजनाले सडक मापदण्ड मिचेको विषयमा कुरा गर्न आयोजनाको फिल्ड इन्चार्जका रुपमा काम गर्दै आएका मार्कण्डेय न्यौपानेसँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । सल्लेरी र काठमाडौं दुवै कार्यालयमा सम्पर्क गर्दा समेत उनीसँग सम्पर्क हुन सकेन ।


उनको दुईवटा मोबाइल नम्बर उपलब्ध भएपनि ती नम्बरहरूमा आगमन कल निषेध गरिएका छन् । माथिल्लो सोलु जलविद्युत् आयोजना २३.५ मेगावाट क्षमताको हो । सोलु करिडोरअन्तर्गत यस आयोजनाले अन्यको तुलनामा तीव्र गतिमा काम गरिरहेको छ ।

प्रकाशित : माघ ३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?