दुर्गममा सडक सञ्जाल

स्थानीय तह र जलविद्युत् आयोजनाको प्राथमिकतामा सडक 
ताप्लेजुङका सिरिजंगा गाउँपालिका ६ मामांखे र मिक्वाखोला ५ पापुङमा मात्रै सडक पुग्न बाँकी 
आनन्द गौतम

ताप्लेजुङ — स्थानीय तह र जलविद्युत् आयोजनाको प्राथमिकतामा सडक परेपछि अधिकांश दुर्गम हिमाली क्षेत्रमा सडक सञ्जाल पुगेको छ । प्रदेश १ को दुर्गम हिमाली जिल्ला ताप्लेजुङका ९ स्थानीय तहका ६१ वडामध्ये २ वटामा मात्रै सडक पुग्न बाँकी छ । 

दुर्गममा सडक सञ्जाल

सिरिजंगा गाउँपालिका ६ मामांखे र मिक्वाखोला ५ पापुङलाई अहिलेसम्म सडकले नछोएको हो । एक नगरपालिका र ८ गाउँपालिका रहेको ताप्लेजुङ ३ हजार ६ सय ४६ वर्गकिलोमिटरमा फैलिएको छ । मामांखे यसै आर्थिक वर्षमा सडकले जोडिँदै छ । यहाँ सडक पुर्‍याउन ४६ लाख रुपैयाँमा ठेक्का लागेको छ ।


यसै आर्थिक वर्षमा वडाभरि पुर्‍याउने उद्देश्यअनुरूप कामभइरहेको गाउँपालिका अध्यक्ष टीका गुरुङले बताए । पापुङमा चाहिं कहिले पुग्छ पत्तो छैन । पापुङ चीन र संखुवासभा जिल्लासँग सिमाना जोडिएको वडा हो । बाँकी वडा सडकले छोएको छ ।


पापुङमा गाउँपालिकाको केन्द्र साँवा हुँदै सडक जाने वडाध्यक्ष डण्डु शेर्पाले बताए । साँवाको थलङसम्म ट्रयाक पुगेको छ । वाड्नं ३ लिवाङ हुँदै गाउँपालिकाको केन्द्र जोड्न बजेट विनियोजन गरिएको शेर्पाले बताए । मेवा डेभलर्पर हाइड्रो प्रालिले साँवाको थुङलुङबाट फुङफुङे झरनातर्फ सडक विस्तार गरिरहेको छ ।


यो आर्थिक वर्षमा पुर्‍याउने कम्पनीका सल्लाहकार डम्बरध्वज तुम्बाहाम्फे बताउँछन् । मेवा खोला र लंवा खोलामा अस्थायी पुल पनि हाइड्रो कम्पनीले बनाएको छ । होम पाइप राखेर बनाइएपछि अहिले यातायात सञ्चालन भइरहेको छ । यो आर्थिक वर्षमै वडामा सडक पुग्ने सम्भावना भने कम रहेको डण्डु बताउँछन् । पापुङ तार्न फुङफुङेबाट ताङखु पुर्‍याउनुपर्छ । यो करिब पाँच किलोमिटर दूरीमा छ ।


चीनसँगै सिमाना जोडिएको फम्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलामा पनि सडक खनिएको छ । गाउँमा गाडी पनि पुगेको छ तर सदरमुकाम फुङलिङसँग सिधा जोडिन भने बाँकी छ । चीनको तिब्बतबाट सडक निर्माण गरेर बस्तीसम्म ल्याइएको हो । यहाँ जन्मेर देशविदेशमा रहेका आफैंले रकम संकलन गरेर २४ किलोमिटर सडक निर्माण गरेका छन् । सदरमुकामबाट विस्तार भइरहेको सडक भने लेलेपको टाँसी गाउँ पुगेको छ । ओलाङचुङगोला पुग्न अब ३८ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । काठमाडांैको एलाइट जेभी निर्माण कम्पनीले विस्तारको काम गरिरहेको छ ।


भारतसँग सिमाना जोडिएको सिरिजंगा गाउँपालिका ८ याम्फुदिन पनि सडकले छोएको छ । गाउँपालिका अध्यक्ष टीका गुरुङका अनुसार यो वडामा दुई सय मिटर ट्रयाक ओपन भएको छ । गतवर्ष निर्माण क्रममा पानीको मूल निस्किएर मेसिन भासिने भएपछि काम स्थगित गरिएको थियो । वडाको केन्द्रमा जोडिन अब तीन किलोमिटरको हाराहारीमा बाँकी रहेको छ ।


आगामी हिउँदे अधिवेशनबाट बजेट छुट्याएर जोड्ने योजनामा गाउँपालिका छ । मामांखेबाट पनि याम्फुदिन जोडिने भएकाले यसवर्षको बजेटमा मामांखेलाई जोड दिइएको अध्यक्ष गुरुङले बताए । यहाँ काम गरिरहेका ठेकदार ओमप्रकास राईका अनुसार अब ३५ लाख जति बजेट भए खेवाङबाट याम्फुदिनको केन्द्र जोडिन्छ । यो सडक सदरमुकामसँग जोडिन्छ । सदरमुकामबाट पाथीभरा याङवरक १ सिनाम, सिरिजंगाको आम्बेगुदिन हुँदै हप्पुखोलासम्म ठूलासाना गाडी चल्ने गरेको छ ।


वडा नं ६ खेबाङसम्म भने ट्रयाक्टर चल्ने गरेको छ । काबेली नदीमा पुल नहुँदा साना गाडी चलाउन नसकिएको वडा सदस्य उमेश गौतम बताउँछन् । सिरिजंगा जिल्लाकै सबैभन्दा बढी ८ वटा वडा रहेको गाउँपालिका हो । यहाँ पुग्न सिदिङवा गाउँपालिकाको सुरुमखिम, मेहेले हुँदै सडक विस्तार गरिएको छ । पेदाङ मामांखेको सडक याम्फुदिनमा जोडिएपछि गाउँपालिकामा चक्रपथ बन्छ ।

भौगोलिक हिसाबले जिल्लाको आधा बढी भूभाग ओगटेको फक्तालुङ गाउँपालिकाले तमोर नदीको तीन स्थानमा काठेपुल बनाएर वडा नं ७ ओलाङचुङगोलाबाहेक प्रत्येक वडामा गाडी पुर्‍याएको छ । अर्को विकट मानिएको मिक्खाखोला गाउँपालिकामा सानिमा हाइड्रोपावर कम्पनीले फुङलिङ १ र मिक्वाखोला १ खोक्लिङ जोड्ने हेमपाइप राखेर गाडी आवतजावत गर्ने बनाएको छ ।


खोक्लिङको डाँडाँ गाउँबाट अहिले यातायात चलिरहेको छ । भारतसँग सिमाना जोडिएको पूर्वको सिदिङवा गाउँपालिका १ कालिखोला र सादेवामा पाँचथरको याङवरक गाउँपालिका हुँदै हिउँदमा यातायात चल्ने गरेको छ । कालिखोलाको तेम्बुवासम्म हिउँदमा गाडी आउँछ, वडाध्यक्ष विजय चापागाईंले भने, ‘बर्खामा मात्रै समस्या हो ।’ इन्द्रवती खोलामा ढुंगा ओछ्याएर हिउँदमा गाडी तार्ने गरिएको चापागाईंले जानकारी दिए । पूर्वका कालिखोला, सादेवा, सुरुमखिम, याम्फुदिन भारतसँग जोडिएका र उत्तरको ओलाङचुङ, पापुङ चीनसँग जोडिएका वडाका गाउँ हुन् ।

प्रकाशित : माघ ३, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?