कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्थानीय तहका विवाद छताछुल्ल

भ्रष्टाचार, कानुन मिचेकासम्बन्धी उजुरी जिल्ला प्रशासनसम्म पुगे
अल्पमत र बहुमतबीचको राजनीतिक द्वन्द्व 
विवादले विकास प्रभावित 
कुम्भराज राई

ओखलढुंगा — चम्पादेवी गाउँपालिकामा भ्रष्टाचार भएको भन्दै गाउँपालिकाभित्रै चार वडा अध्यक्षले दुई साताअघि जिल्ला प्रशासनमा उजुरी दर्ता गरे ।

वडा अध्यक्षको सही किर्ते गरी बजेट निकासा गरेको, गाउँपालिकाको जग्गा सम्याउँदा अनियमितता भएको, कर्मचारी नियुक्तिमा ऐन कानुन मिचेको आरोप उनीहरूको छ ।


वडा ५, ६, ७ र ९ का अध्यक्ष झलकमान तामाङ, तिलक खड्का, सुरेश थापा र झम्कहरि बरालले उजुरी दिएका हुन् । हाल सोही उजुरीमध्येका कर्मचारी नियुक्तिको विषय अदालत पुगेको छ । उनीहरूले सुरुमा गाउँपालिकालाई सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए । तर गाउँपालिकाले आफ्नो मागबमोजिम सार्वजनिक नगरेपछि उजुरी गर्न आइपुगेका हुन् ।


उजुरी दर्ता भएपछि जिल्ला प्रशासनले सहायक सिडिओ रविन्द्र पौड्यालको संयोजकत्वमा छानबिन समिति बनाई किर्ते हस्ताक्षरबाट अनुसन्धान सुरु गर्‍यो । गाउँपालिकाको जग्गा सम्याउँदा भएको अनियमितताको छानबिन थाल्यो । छानविन सुरु भएको केही दिन नबित्दै लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकाविरुद्ध जिल्ला प्रशासनमा उजुरी दर्ता भए ।


ती दुई स्थानीय तहका विरुद्ध दर्ता भएका उजुरीको प्रकृति चम्पादेवीसँग मिल्दोजुल्दो छन् । यसरी तीनवटा स्थानीय तहहरू एकाएक विवादमा आउनुका पछाडि राजनीतिक द्वन्द्ध प्रमुख रहेको छ । चम्पादेवी गाउँपालिकामा प्रमुख, उपप्रमुख सहित छ जना वडा अध्यक्ष कांग्रेसबाट निर्वाचित छन् । बाँकी चार जना वडा अध्यक्ष नेकपा आबद्ध छन् । अल्पमत र बहुमतबीचको द्वन्द्व स्पष्ट देखिएका छन् ।


चम्पादेवीको विवाद सार्वजनिक भएसँगै नेपाली कांग्रेस जिल्ला कार्य समितिले विज्ञप्ति निकालेर नेकपा आबद्ध जनप्रतिनिधिको खण्डन गर्‍यो । चम्पादेवीका प्रमुख नवराज केसी आफै कांग्रेसका जिल्ला सचिव भएकाले हुन सक्छ कांग्रेस जिल्ला कार्य समितिले प्रतिरोध गर्ने किसिमले विज्ञप्ति जारी गरेको सर्वसाधारणले अनुमान गरे ।


चम्पादेवीकै प्रतिशोध साँध्ने उद्देश्यले लिखु गाउँपालिका र सिद्धिचरण नगरपालिकाको विरुद्धमा उजुरी परेको आरोप नेकपा निकट नेताहरूको छ । एक अर्काको कमजोरी खोतल्ने र अस्वस्थ प्रतिस्पर्धा गर्ने तहमा राजनीतिक दलहरू उत्रिएपछि स्थानीय तहका काम प्रभावित भएका छन् ।


सबैभन्दा अप्ठ्यारोमा ती स्थानीय तहमा काम गरिरहेका कर्मचारीहरू परेका छन् । जिल्ला प्रशासन कार्यालयले उजुरी छानबिन भइरहेकाले यसका आन्तरिक कारणहरू अहिले भन्न सकिने अवस्था नरहेको जनाएको छ ।


उजुरीमा राजनीतिकरण भएको हुन सक्ने प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् । दलहरूले अनियमितताका घटनाहरूको छानबिनमा सहयोग गर्नुको साटो राजनीतिक रंग दिँदा चुनौती थपिएको उनले बताइन् । जिल्लाको आठ स्थानीय तहमध्ये चार वटामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि प्रमुख छन् । बाँकी चार वटामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि छन् ।


स्थानीय तह र प्रदेश सांसदबीचको विवाद चर्किएकै बेला स्थानीय तहहरूबीचका द्वन्द्वले जिल्लाको विकास प्रभावित भएका छन् । सर्वसाधारणले अधिकांश स्थानीय तहमा भएका अनियमितता विस्तारै खुल्दै जाने आशा गरेका छन् । अहिले पनि कतिपय जनप्रतिनिधिले सीधै आफ्नो नाममा नभएर घुमाउरो किसिमले साथीभाइ र आफन्तका नामबाट डोजर व्यवसाय गर्ने, ठेक्का पट्टा गर्ने क्रम जारी छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?