कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

उपभोक्ताको रकम फिर्ता माग

दमक — सम्झौताबमोजिम सडक निर्माणको काम नभएको भन्दै उपभोक्ताले दमक नगरपालिकासँग लागत सहभागिताको रकम फिर्ता मागेका छन् । दिपिनी मार्ग सडक उपभोक्ता समितिले बिहीबार निवेदन दिँदै नगरपालिकासँग रकम फिर्ता गरिदिन माग गरेका हुन् ।

दमक ५ स्थित भृकुटी चोकदेखि सगरमाथा पम्पसम्मको दिपिनी मार्गका उपभोक्ता सडक निर्माणमा ढिलाइ भएको भन्दै दुई महिनायता विरोधमा उत्रिएका छन् । उनीहरू एक वर्षमा निर्माण सम्पन्न हुनुपर्ने सडकको काम डेढ वर्ष नाघिसक्दासम्म आधा पनि नभएको भन्दै विरोधमा उत्रिएका हुन् ।


उनीहरूले बिहीबार नगरपालिकाका मेयर रोमनाथ ओलीलाई उपभोक्ताको रकम फिर्ता दिन माग गर्दै पत्र बुझाएका छन् । उपभोक्ताहरूले रकम फिर्ता गराउन नगरपालिकालाई दबाब दिन बिहीबारै इलाका प्रशासन कार्यालयका प्रमुख प्रदीप श्रेष्ठलाई पनि ज्ञापन पत्र बुझाएका छन् । पत्र बुझदै मेयर ओलीले यसबारे ६ गतेको बोर्ड बैठकमा कुरा राख्ने आश्वासन दिए ।


नगरपालिकाले १२ सय मिटर लम्बाइको सडक निर्माणको ठेक्का इटहरीको जयबाबा–शेर्पा जेभीलाई दिएको छ । उपभोक्ताको लागत सहभागीतामा निर्माण थालिएको सडक भ्याट बाहेक चार करोड ७ लाख ९१ हजार ८ सय ८४ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । सडक निर्माणका लागि नगरपालिका र ठेकेदार कम्पनीबीच ०७४ साउन २२ गते ठेक्का सम्झौता भएको थियो ।


सम्झौता अनुसार सडक निर्माणको काम ०७५ असार २९ गते सम्पन्न गर्नुपर्ने उल्लेख छ । उक्त मितिमा काम नसकिएपछि नगरपालिकाले ठेकेदार कम्पनीलाई मंसिर मसान्तसम्मको समयावधि थप गरेको थियो । तर, ठेकेदार कम्पनीले अहिलेसम्म सडक निर्माणको काम आधा पनि सम्पन्न नगरेको उपभोक्ता समिति अध्यक्ष गोपाल कृष्ण संग्रौलाले बताए । उनले सडक निर्माणमा चरम लापरवाही भएपछि बाध्य भएर विरोधमा उत्रिनु परेको बताए ।


सडक निर्माणका लागि उपभोक्ताले प्रतिफुट एक हजार तीन सय ५० रूपैयाँका दरले रकम तिरेको गंगाराम धमलाले बताए । ठेक्का लागेको चार करोडमध्ये उपभोक्ताले एक करोड रूपैयाँ ब्यहोर्नु पर्नेछ । जसमध्ये ८० लाख रूपैयाँ उपभोक्ताबाट उठाएर नगरपालिकालाई बुझाएको संग्रौलाले बताए । उक्त सडकमा एक सय ५० बढी उपभोक्ता छन् ।


‘सडक बनाउन भनेर घरघरबाट पैसा उठाएर नगरपालिकालाई बुझायौं । तर, अहिलेसम्म सडक बनेन । उल्टै दुई वर्षदेखि सास्ती पाइरहेका छौं,’ राजकुमार गिरीले भने, ‘सडक नबाउने हो भने हाम्रो पैसा फिर्ता पाउँ भनेर नगरपालिकालाई निवेदन दिएका हौं ।’

‘हामीले प्रत्येक फुटको त्यति धेरै रकमका हिसाबले पैसा उठाएर दिएका छौं । तर, अहिलेसम्म सडक बनेको छैन । दुई वर्षदेखि धूलो र धूवाँ खाएर विरामी भइसक्यौं,’ स्थानीय विक्रम बस्नेतले भने, ‘सडक नबन्दा व्यापार चौपट भएको छ । घरसम्म जाने कुनै व्यवस्था गरिएको छैन । दैनिक आवतजावत गर्न गाह्रो भएको छ । धूलोले घर र घरभित्रका सबै सामान सेताम्मे बनेका छन् ।’ उनले ठेकेदार कम्पनीले गुणस्तरहीन काम गरेको आरोप समेत लगाए ।

प्रकाशित : माघ ४, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?