कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

सुक्खा क्षेत्रमा खानेपानी योजना

मुहान सुकेर पिउने पानीको हाहाकार हुन थालेपछि पाँचथरको सुक्खाग्रस्त क्षेत्रमा सरकारले ठूलो लगानीमा खानेपानी आयोजना बनाउँदै
चन्द्र कार्की

पाँचथर — सरकारले पाँचथरको सुक्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयलाई खानेपानीको सुविधा उपलब्ध गराउन तयारी थालेको छ । पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका ७ वडाका बासिन्दालाई खानेपानीको व्यवस्थाका लागि सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएर काम अघि बढाएको हो । 

सुक्खा क्षेत्रमा खानेपानी योजना

दुवै स्थानीय तहमा रहेका स्थायी पानीका मुहान समेत सुकेर पिउने पानीको हाहाकार हुन थाले छ । सरकारले कुम्मायक र तुम्बेवा गाउँपालिकामा ठूला लिफटङ र पम्पिङ आयोजना सञ्चालन गरिरहेको छ । दुवै ठूला आयोजना अहिले निर्माणको चरणमा रहेका छन् । खानेपानीको संकट भोगिरहेका सात वडाका स्थानीयको जनसंख्या जिल्लाको कुल जनसंख्याको १० प्रतिशतभन्दा बढी छ ।

कुम्मायक गाउँपालिका केन्द्र यासोकमा निर्माण भइरहेको यासोक खानेपानी आयोजना निर्माणको चरणमा छ । ०७४ पुस १५ भित्रमा निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने आयोजनाको काम परामर्शदाताका ढिलाइ कारण योजनाको लागत अनुमानमा पहुँच सडक निर्माणको योजना समावेश नहुँदा र पानीको मुहान यकिन हुन नसक्दा उत्पन्न विवादले निर्माण कार्यमा ढिलाइ भएको गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।


०७२ पुस १६ गतेदेखि सुरु आयोजना निर्माण सम्पन्न गरिसक्नुपर्ने समय वितिसक्दा पनि निर्माणाधीन अवस्थामै छ । यो आयोजनाबाट कुम्मायक गाउँपालिकाका वडा नं १, ३, ४ र ५ का ३ हजार ४३ परिवारका १३ हजार ८ सय ४० जना लाभान्वित हुनेछन् ।


तमोर नदीको लोरिपा दोभानमा मूल ट्याङकी निर्माण गरी विद्युतीय पम्पिङ प्रविधिबाट माथि रहेका सात वटा लिफटिङ ट्याङकीमा पानी पठाइनेछ । यसरी पठाइएको पानी १७ किलोमिटर ४८ मिटर उचाइमा पुर्‍याएर वितरण गरिने आयोजनाका इन्जिनियर रविन्द्र रायले बताए ।


यसरी ल्याइएको पानी प्रसारण लाइनमार्फत यासोक बजार नजिकको थापागाउँसम्म ल्याएर वितरण गरिने आयोजनाले जनाएको छ । नदी सतहबाट सात वटै ट्याङकीसम्म सडक र विद्युतको पहुँच पुर्‍याइएको छ । यो आयोजना सम्पन्न गर्न प्रेरा स्वामी नारायण जेभी ललितपुरले १७ करोड ३० लाख ६५ हजार ६ सय ८ रुपैयाँ लागतमा प्रसारण लाइन निर्माणको जिम्मा लिएको छ ।


वितरण लाइनमा तीन प्रकारका पाइप प्रयोग गरिएका छन् । वितरण लाइनको ६ हजार ५ सय ४५ मिटरमा डीआइ पाइप प्रयोग हुनेछ भने १७ हजार ३ सय ४ मिटर वितरण लाइनमा जीआइ पाइप प्रयोग हुने आयोजनाले जनाएको छ । १ लाख ८६ हजार ६ सय ६७ मिटर लम्बाइ क्षेत्रमा एचडीपीइ पाइपको प्रयोग गरिनेछ । यसको जिम्मा २२ करोड १० लाख ८ हजार लागतमा कन्काई–महादेव खिम्ती–स्वामी नारायण जेभी सुनसरीले लिएको छ ।


०७३ फागुन ६ गते सम्झौता गरेको कम्पनीले आगामी फागुन ५ गतेसम्ममा पाइप वितरण लाइनको काम सम्पन्न गर्नुपर्ने समय सीमा छ । तर निर्धारित समयमा काम सम्पन्न गर्न नसकिने उपभोक्ता समितिका महासचिव अमरसिंह थापाले बताए । पाइप लाइन विस्तारको काम २० प्रतिशत बाँकी छ । आगामी वैशाखसम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने गरी काम भइरहेको थापाले बताए ।


सरकारले २०६८ सालमा साविकका यासोक, स्याबरुम्बा र रानीगाउँ गाविसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । साविकका आङ्ना र मौवा गाविसमा खानेपानीको समस्या समाधानका लागि दुबै क्षेत्रमा अर्को खानेपानी आयोजनाको निर्माण भइरहेको छ ।

यो आयोजनाबाट तुम्बेवा गाउँपालिकाको वडा नं १, २ र ३ का १ हजार ६ सय ४ घरधुरीका ८ हजार २ सय ३० जनालाई स्वच्छ खानेपानी सुविधा पुग्ने गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । आयोजना निर्माणको जिम्मा कन्काई–प्रेरा जेभी काठमाडौंले पाएको छ ।


०७३ असार २५ गते निर्माण सम्झौता गरेको कम्पनीले ०७६ पुस २५ गते सम्ममा निर्माण कार्य सम्पन्न गरिसक्ने समय सीमा पाएको छ । आयोजनाको लागत ४५ करोड २० लाख रहेको छ ।


सात वटा लिफ्टिङ ट्याङ्कीमार्फत विद्युतीय पम्पिङ प्रविधिबाट एक ट्याङकीबाट अर्को ट्याङ्कीसम्म पानी पुर्‍याइने आयोजनाले जनाएको छ । यो आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको उपभोक्ता समिति अध्यक्ष देवेन्द्र खत्रीले बताए । पानी जम्मा हुने पाँचवटा लिफटिङ रिजर्भ ट्याङकीको निर्माण कार्य सम्पन्न भएको र अन्य सवै ट्याङकीसम्म पहुँच सडक समेत पुर्‍याइसकिएको छ ।


यो क्षेत्रमा १ लाख २१ हजार ८ सय ९१ मिटर लामो पाइप लाइन बिछ्याइने आयोजनाले जनाएको छ । आगामी फागुन महिना भित्रमा आयोजना विस्तारका लागि चाहिने आवश्यक विद्युत् विस्तारको काम पनि सम्पन्न गरिसक्ने अध्यक्ष खत्रीले बताए ।

प्रकाशित : माघ ४, २०७५ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?