अन्योलमै लोकमार्ग

उदयपुर, सिन्धुली र मकवानपुरका शिवालिक र दुन क्षेत्रलाई जोड्न वैकल्पिक सडक बन्दै

बेल्टार, उदयपुर — धरान–चतरा–सिन्धुली–हेटौंडा सडक (मदन भण्डारी लोकमार्ग) निर्धारित समयमा नसकिने भएको छ । निर्माण अवधि सकिनै लाग्दा कामलाई तीव्रता दिइएको छ । काम सम्पन्न गर्नुपर्ने समय सीमा ०७६ असार मसान्त हो ।

अन्योलमै लोकमार्ग

निर्माण प्रारम्भ भएको अढाई वर्ष बितिसक्दा ५० प्रतिशत पनि काम भएको छैन । यही कारण निर्धारित समयमा काम नसकिने भएको हो ।


भित्री मधेसको उयदयपुर, सिन्धुली र मकवानपुरका शिवालिक र दुन क्षेत्रलाई जोड्ने यो सडक पूर्व/पश्चिम राजमार्गको विकल्पका रूपमा निर्माण भइरहेको छ । भौतिक रूपमा सडक निर्माणको काम ४५ प्रतिशत सकिएको छ । पुलको ६० प्रतिशत काम भइसकेको धरान–चतरा–सिन्धुली–हेटौंडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ ।


सडकको तुलनामा पुल निर्माण धेरै अगाडि बढेको छ । दुई खण्डमा विभाजन गरी लोकर्माग निर्माण भइरहेको छ । पूर्वी खण्डको १ सय ३५ किलोमिटर सिन्धुलीको भिमानदेखि धरान खण्डमा सडक, पुल, कजवे, ह्युम पाइप, बक्स तथा स्ल्याब कल्भर्ट लगायतका संरचना निर्माण धमाधम भइरहेको आयोजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको ।


सिन्धुलीको कमलामाई नगरपालिकाको भिमानदेखि धरानसम्मको सडकमा धमाधम काम भइरहेको सडक निर्माण आयोजना पूर्वी खण्डका इन्जिनियर रामकुमार यादवले बताए । ‘अहिले आएर कामले तीव्रता पाएको छ,’ इन्जिनियर यादवले भने,‘सडकतर्फ ४५ प्रतिशत भौतिक प्रगति गरिसकियो ।’


पुलतर्फ पनि ६० प्रतिशत काम भइसकेको उनले बताए । लोकमार्गको पूर्वी खण्डमा सडक एलाइमेन्ट विवाद टुंग्याएर त्यसमा रहेका विद्युत् पोल र रूखको काम हुँदै गरेको इन्जिनियर यादवले बताए । ‘माटो काम सकाएर सडकको ९० प्रतिशत ग्रेड मिलाइसकियो,’ इन्जिनियर यादवले भने, ‘नाली निर्माण, टेवापर्खाल र क्रसड्रेनको काम चलिरहेको छ ।’


असार मसान्तसम्म पूर्वी खण्डमा ५० किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्यकासाथ काम भइरहेको उनले बताए । सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका भित्री उपत्यका, दुन, शिवालिक र भावर क्षेत्र जोड्ने यो लाकमार्ग निर्माणलाई सर्वसाधारणले समेत चासो लिएका छन् । पूर्वी खण्डको १ सय ३४ किलोमिटरमा ४३ वटा पुल निर्माण हुँदैछन् । तीन वर्षमा पूरा गर्ने लक्ष्य राखिएको लोकर्मागको पूर्वी खण्डतर्फ जेट आइइसी शर्मा एन्ड लामा जेभीले निर्माणको जिम्मा लिएको छ ।


११ मिटर चौडाइको सडकमा दुई पत्रमा पिच हुनेछ । पहिलो लेयरमा ११ मिटर चौडाइ ६ सेमि मोटाइ र दोस्रो लेयरमा त्यसमाथि ७ सात मिटर चौडाइ ४ सेमी मोटाइमा पिच हुने इन्जिनियर यादवले वताए । पछिल्लो समयमा आएर जति तीव्र गतिमा काम भए पनि निर्धारित समय सीमा ०७६ असार मसान्तमा काम सम्पन्न गर्न नसकिने सडक योजनाले जनाएको छ ।

प्रकाशित : माघ ४, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?