विषादीमुक्त खेतीतर्फ किसान

विषादीरहित उत्पादन गर्न गाउँपालिकाद्वारा किसानलाई सहयोग
जंगल क्षेत्रको माटो ल्याएर प्रांगारिक मल उत्पादन गरिँदै

दमक — विषादीमुक्त खेतीतर्फ आकर्षित गर्न कमल गाउँपालिकाले किसानलाई सहयोग गरेको छ । गाउँपालिकाले किसानलाई प्राङगारिक तथा जैविक मल निर्माणमा सहयोग गर्न थालेको हो । 

विषादीमुक्त खेतीतर्फ किसान

समूहमार्फत प्राङगारिक खेतीतर्फ उन्मुख किसानलाई गाउँपालिकाले बिहीबार सामग्री वितरण गरेको छ । गाउँपालिकाले स्थानीय १४ वटा समूहका किसानलाई प्रांगारिक मल निर्माणमा आवश्यक पर्ने एक सय २० वटा ड्रम वितरण गरेको छ । गाउँपालिकाले प्रांगारिक मल उत्पादनका लागि चालु वर्ष १० लाख रुपैयाँ विनियोजन गरेको छ ।


१५ देखि २५ जना किसान आबद्ध समूहलाई विषादी मुक्त खेती गर्न गाउँपालिकाले विभिन्न तालिम, मल, बीउ, प्राविधिक सहयोग गरिरहेको छ । ७ वटा समूहले पूर्णरूपमा विषादी मुक्त खेती गरिरहेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख प्रेम पोखरेलले बताए । शतप्रतिशत विषादी मुक्त खेती गर्नका लागि थप चार वटा समूह भर्खरै गठन गरेको उनले बताए ।


गाउँपालिकामा विषादी मुक्त खेती गर्न स्थानीय आईपीएम कृषि सहकारीले सहजीकरण गर्दै आएको छ । सहकारीको नेतृत्वमा गत जेठ १० गतेदेखि जैविक प्राङगारिक मल उत्पादन थालिएको छ । सहजकर्ता टंकप्रसाद कट्टेलले प्राङगारिक मल उत्पादनमा जंगल क्षेत्रबाट ल्याइएको माटो प्रयोग गर्ने गरेको बताए ।


उक्त माटोमा काठको धूलो, पिना, ब्रान्ड भुस, छ महिना पुरानो कुखुराको सुली, खरानी, हड्डीको धूलो, पाकेको कम्पोस्ट मल, सूक्ष्म जीवाणु, गाईको गहुँत, खेत बालीमा लाग्ने किराले मन नपराउने अमिलो, पिरो, टर्रो हुने ३० प्रजातिका झारपात मिसाउने गरेको कट्टेलले बताए । यसरी मिसाएको मललाई सात दिनसम्म गहुँत हालेर चलाइन्छ ।


अन्य विभिन्न चरण पार गरेपछि १८ दिनमा प्रयोग गर्न मिल्ने गरी मल उत्पादन हुने गरेको कट्टेलले बताए । जैविक प्राङगारिक मल किसानलाई नि:शुल्क वितरण गर्ने गरेको कट्टेलले बताए । उनका अनुसार गाउँपालिकाभित्रका किसानले आफ्नो खेत बालीमा ७० प्रतिशतसम्म प्राङगारिक मल प्रयोग गर्न थालेका छन् ।


‘हामी अहिले प्राङगारिक मल नै प्रयोग गर्छौं,’ किसान नन्ददेवी ढकालले भनिन्, ‘रासायनिक मल प्रयोग गर्दा हुने उत्पादन भन्दा केही कम भएपनि स्वास्थ्यका हिसाबले निकै लाभदायक हुने गरेको छ ।’ उनले १० कट्ठा जमिनमा तरकारी खेती गर्दै आएका छन् । प्राङगारिक मलकै प्रयोगबाट ४ कट्ठा जमिनमा १८ हजारको फूल र बन्दा कोपी उत्पादन गरेको यसोदा रिजालले बताइन् ।


‘विषादीमुक्त खेती गर्ने अभियानबाट हामी निकै खुसी छौं । रासायनिक मलको भन्दा प्राङगारिक मलबाट उत्पादन केही कम भए पनि खानका लागि कुनै डर छैन,’ उनले भनिन् । उनले ज्योतिनगर टोलका एक दर्जन किसान सबैले प्राङगारिक मलकै प्रयोगबाट तरकारी खेती गरिरहेको बताइन् ।


‘दुई पैसाको लोभले आफ्नै ज्यानमा विभिन्न रोग भित्र्याउनु भन्दा प्राङगारिक मलको प्रयोगले विस्तारै उत्पादन बढाउनेतिर हामी लागेका छौं,’ किसान इन्द्रप्रसाद दाहालले भने, ‘राम्रोसँग हेरचाह गर्न सके प्राङगारिक मलबाट पनि राम्रो उत्पादन गर्न सकिदो रहेछ ।’

१३ वर्ष विदेश बसेर आएका उनी अहिले ४ कट्ठामा आलु र डेढ कट्ठामा कोपी र टमाटरको व्यावसायिक खेती गरिरहेका छन् । प्राङगारिक मल प्रयोग गरी खेती गर्ने किसानलाई गाउँपालिकाले विभिन्न शीर्षकमा अनुदान दिने गरेको पोखरेलले बताए । कमल गाउँपालिका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत तरकारी तथा आलु पकेट क्षेत्र हो ।


यो वर्ष ४० बिघा जमिनमा किसानले व्यावसायिक आलु लगाएका छन् । न्यूनतम ५ कट्ठा जमिनमा एक सयभन्दा बढी किसानले तरकारी खेती गरिरहेका छन् । उनीहरू सबैले विषादीमुक्त खेती गरिरहेको पोखरेलले बताए ।

प्रकाशित : माघ ४, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?