कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पाइन छाड्यो माछा

चन्द्र कार्की

तेह्रथुम — एक समय तेह्रथुम र पाँचथरको सीमा माझीटार, नक्कलेघाट, पिनासी, लुमुघाट, सिम्रा घाटलगायत तमोर नदी किनारका यी घाटमा बग्रेल्ती माछा पाइन्थे । यी घाटमा पाइने स्वादिला माछा खानका लागि पूर्वी तराईदेखिका माछाका पारखीहरू झुम्मिने गर्थे ।

पाइन छाड्यो माछा

पाँचथर र तेह्रथुम सदरमुकामबाट माछा खान आउनेको संख्या कम हँुदैनथ्यो । अहिले अवस्था त्यस्तो छैन । नदीमा पानी त छ तर माछा भने पाउन मुस्किल छ । तमोर नदीमा पाइने माछा निकै स्वादिलो मानिन्छ । तर यही स्वादिलो माछा नदीमा पाइन छाडेपछि नदी किनारमा बसोबास गर्ने माझी समुदायको बिचल्ली भएको छ ।

नदीमा माछा पाइन छाडेपछि माछा मारेर जीविकोपार्जन गर्ने माझी समुदाय परम्परागत पेसाबाटै बिस्थापित भएको छ ।


तमोर किनारका यी बस्तीमा करिब १ सय ५० माझी परिवारको बसोबास छ । ताप्लेजुङको उत्तरी क्षेत्रमा ०७२ जेठ महिनामा खसेको पहिरोपछि नदी थुनिएर तमोर नदीमा आएको बाढीले माछा बगाएपछि तमोरमा माछाको संख्या घटेको हो ।


नदीमा पानीको सतह घटेको समयमा समेत माछा नभेटिएको माझीटारका युवा गोपाल माझीले बताए । नदीमा माछा नभेटिएपछि माछा मारेर जीविकोपार्जन गर्दै आएका धेरै माझी परिवारको विचल्ली भएको उनको भनाइ छ । नदीमा आएको बाढीले माछाका धेरै प्रजातिका भुरा समेत बगाएपछि त्यसयता खोलामा माछा पाउन छाडेको आठराई गाउँपालिका छातेढुंगा माझी गाउँका शिवनारायण माझीले बताए ।


बाढी आएयता नदीमा माछाको संख्या घटेको र भएका माछा समेत बाहिरबाट आउनेहरूले करेन्ट लगाएर मार्ने गरेकाले नदीमा रहेका असला, कत्ले, बुदुना, काभ्रे, बाम, तिते लगायत जातका माछाका प्रजाति समेत मासिएको स्थानीयको भनाइ छ । नदी किनारमा पानीमै बिषादी र करेन्ट लगाएर माछा मार्न थालिएपछि खोलामा माछाको संख्या पातलिँदै गएको पाँचथर स्याबरूम्बा लुमुघाटकी दिलकुमारी माझीले बताइन् ।


जाल हान्ने र पासो थापेर माछा मार्ने परम्परागत मौलिक तरिका हो । तर, पछिल्लो समय करेन्ट लगाएर माछा मार्ने क्रम बढेको छ । नदी र खोला भित्रै विष्फोट गरेर समेत माछा मार्ने गरिन्छ । यसले गर्दा माछा प्रशस्त पाउन छाडेको माझीहरू बताउँछन् ।


विभिन्न ठाउँबाट ब्याट्री बोकेर करेन्ट लगाएर समेत माछा मार्ने गरिएको छ । स्थानीय प्रशासनले यसलाई नियन्त्रण गर्न सकेको छैन । नदी र खोलामा करेन्ट र बिस्फोटक पदार्थ पडाएर माछा मार्दा भुरा समेत मर्ने गरेको स्थानीयको भनाइ छ । यसरी माछा मार्ने कार्य रोक्न स्थानीय सरकारले पहल थाल्नुपर्ने स्थानीय माझी समुदायले माग गरेका छन् ।


नदीमा रहेका माछाका प्रजाति बाढीले बगाएको र भएका पनि अप्राकृतिक तरिकाले मारिने गर्दा आफूहरूको रोजीरोटी समेत गुमेको नदी किनारका माझीले गुनासो गरेका छन् । केही वर्षअघिसम्म प्रसस्त माछा भेटिने नदीमा अहिले दिनभर खोज्दा पनि एक किलो माछा भेट्न मुस्किल पर्ने गरेको दिलकुमारीले बताइन् ।


खोला र नदीमा माछा नभेटाद घर खर्च चलाउन, छोराछोरीलाई विद्यालयमा पढाउन, भात खाने चामल र लुगा कपडा किन्न समेत मुस्किल परेको यहाँका माझी समुदायको गुनासो छ । खोलामा माछा मार्ने काम ठप्प भएपछि माझी युवाहरू जाल, थकौली र बल्छी थन्क्याएर रोजगारीका लागि अन्यत्रै लाग्न थालेको तमोर नदीसँग सीमा जोडिएको पाँचथरको कुम्मायक गाउँपालिकाका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।


युवाहरू पुर्खौली पेसा छोडेर परदेशिएपछि बस्तीमा केटाकेटी र बूढाबूढी मात्र देखिन्छन् । ‘तमोर नदी किनारको बास छ,’ दिलकुमारीले भनिन्, ‘खेती गरौं जग्गाजमिन छैन, के गरेर परिवारको भरणपोषण गर्नु ?’ आम्दानी अभावमा छोराछोरीलाई दुई छाक मीठो मसिनो खुवाउन समेत गाह्रो भएको उनले दुखेसो पोखिन् ।


स्थानीय बुढापाकाका अनुसार ०३५ सालमा तमोरमा आएको ठुलो बाढीले सबै माछा बगाउँदा तीन वर्षसम्म माछा भेटिएका थिएनन् । त्यसपछि नदीमा विस्तारै माछाको संख्या बढदै गएको माझीटारका जसबहादुर माझीले बताए । तर पछिल्लो पटकको बाढी आएको पनि तीन वर्ष बितिसकेको छ । तर नदीमा माछाका प्रजाति देखिएका छैनन् ।


तमोर नदी र आसपासका खोलामा प्रसस्त माछा पाउँदा यहाँका धेरै माझी परिवारले राम्रोसँग गुजारा गरेका थिए । तमोरको माछा स्वादिलो हुने भएकाले ग्राहकहरू बस्तीमै माछा लिन आउथे ।


यहाँका माछा फिदीम, म्याङलुङ, जिरिखिम्ती, धरान, विराटनगर र काठमाडौं सम्म पुग्ने गथ्र्यो । नदी किनारका घाटमा माछा मार्न बसेका धेरै माझीहरू अहिले माछा नभेटिएपछि अन्यत्रै लाग्न थालेका छन् ।


नदीमा पुल नबन्दासम्म डुंगामा यात्रुलाई वारिपारि तारेर आम्दानी गर्दै आएका माझी समुदायको यो पेसा पनि खोसिएको छ । पहिले डुंगा चल्ने नदीका विभिन्न घाटमा अहिले झोलुंगे र पक्की पुल बनेका छन् ।


डुंगामा यात्रुलाई तारिदिए बापत आउने थोरबहुत पैसा पुल बनेसँगै आउन छोडेको छातेढुंगाका जयकुमार माझीले बताए ।

माझी समुदायले अँगाल्दै आएको पुराना दुई पेसा संकटमा परेपछि धेरै माझीहरू यो ठाउँ छोडेर अन्यत्रै जान थालेको उनले बताए । अल्पसंख्यक यो जातिले अन्य पेसा नजानेको र गरी आएको पेसा पनि खोसिएपछि अब के गर्ने ? भन्ने चिन्तामा परेको स्थानीय माझी अगुवाको भनाइ छ । पहिले डुंगा चल्ने तमोर नदीका नक्कले, सिम्रा, पिनासी, माझीटार र लुमु सहित अधिकांश घाटमा झोलुंगे र पक्की पुल बनेका छन् ।

तमोरको माछा स्वादिलो

तमोरमा पाइने विभिन्न माछाको स्वाद निकै मीठो मानिन्छ । ग्रामीण बस्तीमा पुरानो तरिकाले पकाइएको माछा जिब्रोमा पर्दा धेरैले यसको स्वाद पछिसम्म पनि बिर्सदैनन् । यहाँको माझिटार माछाका लागि निकै चर्चित छ । मध्यपहाडी लोकमार्ग निर्माणपछि पाँचथरको फिदिम र तेहथुमको आठराई क्षेत्र हुँदै माझीटारमा माछा खान आउनेहरूको संख्या उलेख्य हुने गरेको छ ।


ग्राहकको मागअनुसार माछा पुर्‍याउनै समस्या भएको स्थानीय व्यवसायी कुमार तामाङले बताए । तामाङका अनुसार तमोर नदीमा पाइने माछा प्रतिकेजी ७ सयदेखि १ हजारसम्ममा बिक्री हुने गरेको छ ।


माझी समुदायको जीवनशैलीमा रमाउँदै उनीहरूले नै मारेका माछा खान शनिबार र अन्य बिदाको दिन पारेर तेह्रथुम र पाँचथरबाट धेरै जना नदी किनारका बस्तीसम्म आउने गरेका छन् ।


ताप्लेजुङको दोभान, पाँचथर र ताप्लेजुङको सीमा काबेली बजार, माझीटार, लुमुघाट, धनकुटाको मूलघाट लगाततका नदी किनारका बजार पनि माछाकै कारण चलेका छन् । यहाँका माछा कोसेलीका रूपमा पूर्वी तराई, काठमाडौं र विदेशसम्म पठाइन्छ ।

प्रकाशित : माघ ५, २०७५ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?