आधाभन्दा बढी मुद्दा फर्छ्याैट

धनकुटा — उच्च अदालत विराटनगरअन्तर्गत धनकुटा इजलासले ६ महिनामा ५२ प्रतिशतभन्दा बढी मुद्दा फछर्यौट गरेको छ । दर्ता भएका ४ सय २१ मध्ये ३ सय ४५ मुद्दा फछ्र्यौट भएको अदालतले जनाएको छ ।

धनकुटा इजलासले शुक्रबार चालु आर्थिक वर्षको पुस मसान्तसम्मको प्रगतिबारे जानकारी दिएको हो ।

फछ्र्यौटका आधारमा ५२ दशमलव ७३ प्रतिशत प्रगति भएको रजिष्टार शम्भुप्रसाद खतिवडाले जानकारी दिए । कुल दर्ता अनुमान ४ सय १२ मध्ये ३ सय १५ फछर्यौटको अनुमान गरिएको थियो । अघिल्लो आर्थिक वर्षको जिम्मेवारी ७४ थान र पुस मसान्तसम्म २ सय १ थान मुद्दा रहेको खतिवडाले बताए ।

इजलासमा ६ महिनाभित्रका १ सय १७ मुद्दा रहेका छन् । जसमध्ये ६ देखि ९ महिना अवधिका ९ र ९ महिनादेखि १ वर्षसम्मका ४ मुद्दा रहेको जनाइएको छ । सबैभन्दा पुरानो मुद्दाका रूपमा २०७४ चैत १९ गतेको जग्गा खिचोला एक थान मुद्दा छ ।

यसैगरी निवेदन तथा प्रतिवेदशतर्फ पुस मसान्तसम्मका सबै मुद्दा फछ्र्यौट भइसकेका छन् । जसमध्ये निवेदन १३ र प्रतिवेदन ११ थान थिए । मुद्दा फैसला प्रतिशतका आधारमा अघिल्लो आर्थिक वर्ष मुलुकभरमै सर्वोत्कृष्ठ घोषित भएको उक्त अदालतले गत वर्ष ७४ दशमलव ८३ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको थियो । पछिल्लो समय ११ मुद्दामध्ये ३ वटा मेलमिलाप गराइएका र ३ वटा प्रक्रियामा छन् ।

सर्वोच्च अदालतले २०६१ सालदेखि पञ्चवर्षीय योजनामार्फत न्यायसम्पादन छरितो गरी सेवाग्राहीलाई झन्झटिलो न्यायिक सेवाबाट मुक्त गर्ने नीति लिएकाले आफूहरू त्यसप्रति गम्भीर रहेको न्यायाधीश विनोद शर्माले बताए ।

अदालतले ७ प्रकारका सेवा एक घण्टाभित्रै प्रदान गर्दै आएको उनले बताए । जसमध्ये नक्कल दिने, गुज्रेको तारिख थाम्ने थमाउने, वारिसनामा सकारनामासम्बन्धी व्यवस्था र मिलापत्र दर्तादेखि निवेदन दर्ता समेत रहेका छन् ।

यस्तै लिखित जवाफ अथवा अन्य कागज प्रमाण पेस गर्ने, जुनसकै प्रकारका फुटकर निवेदन दर्ता वा दरपिट गर्ने र पेशी तारिखलगायत मुद्दाको काम कारवाहीसम्बन्धी सूचना लिने दिने काम एक घण्टाभित्र सेवा दिने सूचीमा उल्लेख गरेको अर्का न्यायाधीश श्रीमणकुमार गौतमले बताए । उच्च अदालत विराटनगर धनकुटा इजलास मातहत धनकुटा, तेह्रथुम, भोजपुर र संखुवासभा जिल्ला छन् ।

प्रकाशित : माघ ५, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?