दुई सातादेखि विश्वविद्यालयमा ताला

विराटनगर — र्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा साताअघि लागेको ताला अझै खुलेको छैन । पदाधिकारी नियुक्ति र कर्मचारी सरुवाको विरोधमा प्राध्यापक संघ र कर्मचारी संघले उपकुलपति घनश्यामलाल दास, रजिष्टार प्रमिला थापा र सहरजिष्टार राजेश झाको कार्यकक्षमा ताला लगाएका थिए ।

तालाबन्दीका कारण विश्वविद्यालयको केन्द्रीय कार्यालयको कार्य ठप्प छ ।


तालाबन्दी लगत्तै प्राध्यापक संघका बहुमत सदस्यले संघका सभापति नरेश साहलाई हटाएर सञ्देशदास श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेका छन । विश्वविद्यालय स्रोतका अनुसार कार्य विधि नबनाई कर्मचारीको जथाभावी गरिएको सरुवा पियू प्रशासनले खारेज गरेको छ ।


विश्वविद्यालय प्रशासनले प्राध्याध्यापक र कर्मचारी संघसँग वार्ता गर्ने र ताला खोल्ने विषयमा अहिलेसम्म पहल समेत गरेको छैन । कर्मचारी संघका अध्यक्ष राजकुमार सापकोटाका अनुसार तालाबन्दीको साता वित्दासम्म विश्वविद्यालय प्रशासनले कर्मचारी र प्राध्यापक संघसँग त्यस विषयमा छालफलको पहल समेत गरेको छैन ।


उपकुलपति दासले प्राध्यापक र कर्मचारीसँग वार्ता गरेर ताला खुलाउने प्रयास भइरहेको वताए । वार्ताका लागि व्यवस्थापन क्याम्पस प्रमुख बिजु थपलियाको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरिएको र टोलीले काम सुरु गरेको उनले वताए ।


विश्वविद्यालयले सहरजिष्टारमा समन्वय महाशाखा प्रमुख राजेश झा, सहडिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्ति गरी दर्जन बढी कर्मचारीलाई आइतबार सरुवा गरेको विरोधमा प्राध्यापक र कर्मचारी संघले ताला लगाएको थियो । पूर्वाञ्चल विश्वविद्यालमा बाहिरका व्याक्तिलाई सहरजिष्टारमा नियुक्ति गरेको प्राध्यापक संघको आरोप छ । तर सहरजिष्टारमा नियुक्ति पाएका झा विगत १८ वर्षदेखि यो विश्वविद्यालयमा कार्यरत रहेका कर्मचारी हुन् ।


उनी गत वर्षदेखि समन्वय महाशाखा प्रमुख हुन् । त्यसैगरी कार्यविधि नबनाई कर्मचारीलाई जथाभावी सरुवा गरेको भन्दै कर्मचारी संघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो ।


कार्यविधि नबनाई कर्मचारी जथाभावी सरुवा गरेको, विश्वविद्यालयमा कर्मचारी महाशाखा गठन गर्ने सहमति भए पनि नगरिएको र सेवा आयोगलमा दरबन्दी नपठाई स्थगित भएको परीक्षा सुचारु गर्न विश्वविद्यालय प्रशासनले तत्परता नदेखाएकाले तालाबन्दी गरिएको संघका अध्यक्ष सापकोटाको भनाइ छ ।


पूर्वाञ्चल विश्वविद्यालयका सवै पद्याधिकारी बाहिरका भएको पाइएको छ । तर उनीहरूले नियुक्ति पाउँदा विश्वविद्यालयका प्राध्यापक र कर्मचारी कसैले पनि विरोध र तालाबन्दी गरेका थिएनन् ।


उपकुलपति घनश्यामलाल दास पनि बाहिरका प्राध्यापक हुन् । उनी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका प्राध्यापक हुन् । राजिष्टार प्रमिला थापा पनि बाहिरकी हुन् । उनी अघिल्लो पटक सहरजिष्टार थिइन् । विज्ञान तथा प्रविधि संकायका डिन सुभनारायण पाठक पनि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । उनी अख्तियार दुरुपयोग अनुन्धान आयोगका आयुक्त राजनारायण पाठकका भाइ हुन् । चिकित्सा शास्त्र संकायका डिन शैलेसमणी पोखरेल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ल्याइएका हुन् । उनी शिक्षामन्त्री गिरिराजमणी पोखरेलका भतिजा हुन् ।


त्यसैगरी व्यवस्थापन संकायका डिन खगेन्द्र आचार्य, कला संकायका डिन शम्भु कोइराला, अनुसन्धान विभाग प्रमुख मिनराज ढकाल, परीक्षा नियन्त्रक सूर्य संग्रौला त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् । संग्रौला नेपाल महिला संघकी पूर्व केन्द्रीय सभापति तथा सभासद डिला संग्रौलाका पति हुन् । उनीहरू सवैले नियुक्ति पाउँदा विश्वविद्यालयका कर्मचारी र प्राध्यापक कसैले पनि विरोध गरेका थिएनन् ।

प्रकाशित : माघ ५, २०७५ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?