सरकारी अस्पतालको मोह

जितेन्द्र साह

विराटनगर — आइतबार, मंगलबार र बिहीबार । विराटनगरस्थित कोसी अञ्चल अस्पतालको बहिरङ विभागको तीन मेडिकल कक्षमध्ये एउटाको अघिल्तिर बिरामीको अचाक्ली भीड हुन्छ ।

सरकारी अस्पतालको मोह

यसको मुख्य कारण हो, यो सरकारी अस्पतालमा मात्र काम गर्ने मुटुरोग विशेषज्ञ ४५ वर्षीय डा.सर्वेशकुमार झा आउने दिन ।

यो अस्पतालमा दैनिक औषत एक हजार बिरामी आउँछन् । तीमध्ये औषत ८० जना बिरामी निम्न मध्यमवर्गीय, विपन्न वर्ग, अनाथ, अशक्त र असहाय हुन्छन् । ‘अस्पतालकै सामाजिक सेवा एकाइमार्फत उनीहरूको अर्ध, न्यून र नि:शुल्क उपचार गराउँछौं,’ सामाजिक कार्यकर्ता बन्धु पहाडीले भने, ‘यस्ता पहुँचविहीनले सहजै डा. झाजस्तो विज्ञबाट उपचार पाउनु खुसीको कुरा हो ।’

सप्तरीको छिनमस्ताको सखडामा जन्मिएका डा. झाले पूरा समय यो अस्पताललाई मात्र दिन्छन् । बहिरङमा आएका सेवाग्राहीको जाँच नगरेसम्म उनी जाँदैनन् । उनी साताका अन्य दिन मेडिकल वार्ड र सघन उपचार कक्षमा भर्ना भएका रोगीको हेरचाहमा बिताउँछन् ।

‘ओपीडी नभएका दिन पनि आकस्मिक कक्षमा भर्ना भएका, टाढाबाट आएका र अपर्झट मुटुमा समस्या देखिएका बिरामीको इकोकार्डियोग्राम गर्छु,’ उनले भने, ‘जति जना भए पनि काम सकाएर मात्र कोठा जान्छु ।’ मुटुको रोग पत्ता लगाउन गरिने इको र ईसीजी सेवा यो अस्पतालमा निजीको भन्दा चार गुणा कम शुल्कमा उपलब्ध छ । सर्वसाधारण बाहेक न्यायाधीश, मन्त्री, सांसद, जिल्ला समन्वय समितिका सभापति, बरिष्ठ नेता, मेयर र उपमेयरलाई पनि झाले अस्पतालमै हेर्छन् ।

‘मसँग जचाउनु परेमा अति विशिष्ट व्यक्तित्व पनि अस्पतालमै आउनुहुन्छ केही मन्त्री र सांसद अस्पतालमै आइ जचाउनु हुन्छ,’ झाले भने, ‘सरकारी अस्पतालमा जागिर खाएपछि निजीमा काम गर्नु हुन्न भन्ने मेरो सिद्धान्त हो, यसमा सदैव अडिग छु ।’ यो अञ्चल अस्पतालमा मुटुको आधारभूतदेखि जटिल प्रकृतिको जाँच गर्न सकिने ‘क्याथ ल्याब’ खोल्ने आफ्नो सपना रहेको डा.झाले जानकारी दिए ।

उनले बरिष्ठ फिजिसियन सहकर्मी डा.दीपक सिग्देलको समन्वयमा प्रदेश १ का सामाजिका विकास मन्त्री जीवन घिमिरेसँग दसैं अगावै भेटेर यस बारेमा प्रस्ताव पनि राखेका छन् । ‘मन्त्रीज्यूसँग झन्डै डेढ घण्टा छलफल भयो, उहाँ पनि उत्साही देखिनु भएको छ,’ झाले भने, ‘यो भयो भने मेरो यो अस्पतालमा काम गर्नु सार्थक हुन्छ ।’ उनी अहिले यसबारेमा लिखित प्रस्ताव बनाउनमा व्यस्त छन् ।

प्रदेश १ मा थुप्रै सरकारी स्वास्थ्य संस्था भएको हुनाले क्याथ ल्याबको निकै आवश्यकता छ । यो प्रदेशमा १८ सरकारी अस्पताल, आफ्नो फार्मेसी भएका १२ सरकारी अस्पताल, ४२ प्राथमिक स्वास्थ्य केन्द्र, ६ सय ५१ स्वास्थ्य चौकी, ३ अञ्चल आयुर्वेद अस्पताल, ११ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ४७ आयुर्वेद औषधालय, ७२ सहरी स्वास्थ्य इकाई र ८१ सामुदायिक स्वास्थ्य इकाई छ ।

कोसी अञ्चल अस्पतालमा दैनिक औषत ४० जना उच्च रक्तचापबाट पीडितलगायत विभिन्न खाले मुटुको बिरामी आउने गरेको झाले बताए । उनले २० जना विशुद्ध मुटुकै समस्याबाट पीडित हुने गरेको जनाए । ५ बिघा ८ कठ्ठा ११ धुर क्षेत्रफलमा फैलिएको ३ सय शय्याको यो अञ्चल अस्पतालमा मेडिसिन विभागमा ३६, प्रसूतिमा सय, शल्यक्रियामा ४०, हाडजोर्नीमा ३५, बालबालिकामा ४५, जनरलमा ३०, आकस्मिकमा २०, सघन उपचारमा ६, डायलसिसमा ५ र मानसिक रोग विभागमा ४ बेड छन् ।

प्रकाशित : माघ ५, २०७५ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?