कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल

महानगर ३ स्थित सत्यनारायण मन्दिरको २ बिघा र महानगरको १ बिघा ७ कठ्ठा जग्गामा प्रदर्शनीस्थलका लागि हस्तान्तरण

मोरङ — उद्योग संगठन मोरङले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण गर्ने भएको छ । विराटनगर महानगर ३ स्थित सत्यनारायण मन्दिरको २ बिघा र महानगरको १ बिघा ७ कठ्ठा गरी ३ बिघा ७ कठ्ठा जग्गामा प्रदर्शनीस्थल निर्माणका लागि जग्गा हस्तान्तरण भएको हो । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङबोको उपस्थितिमा मन्दिर सञ्चालक समिति र महानगरले उद्योग संगठनलाई हकभोगका लागि जग्गा हस्तान्तरण गरेको छ । मन्त्री पण्डितले विराटनगर लगायत प्रदेश १ कै लागि महत्त्व राख्ने प्रदर्शनी स्थलको निर्माणले यस क्षेत्रको आर्थिक एवं औद्योगिक विकासले गति लिने विश्वास व्यक्त गरे ।


प्रदेश १ का मन्त्री आङवोले प्रदर्शनी स्थलको अभावमा उद्योग व्यवसाय क्षेत्रले आफ्नो वस्तु तथा उत्पादनको बजार प्रवद्र्धन गर्नबाट वञ्चित भइरहेको अवस्थामा उद्योग संगठन मोरङले निर्माण गर्न लागेको प्रदर्शनी स्थलले राहत प्रदान गरेको बताए । विराटनगर महानगर प्रमुख भीम पराजुलीले महानगरपालिका समेतको सहकार्यमा विराटनगरको गौरवका रूपमा निर्माण हुने प्रदर्शनीस्थल आर्थिक गतिविधिलाई चलायमान बनाउन मद्दत पुग्ने बताए ।


उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलको अभावमा वार्षिक रूपमा आयोजना गर्ने लक्ष्य लिइएको विराट एक्स्पो जस्ता प्रदर्शनीलाई निरन्तरता दिन नसकिरहेको अवस्थाको अन्त्य भएको बताए । ‘प्रदेश १ सरकार, विराटनगर महानगरको सहकार्यमा उद्योग संगठनले यसै वर्षदेखि प्रदर्शनी स्थलको निर्माण कार्य सुरु गर्छ,’ उनले भने, ‘प्रदर्शनीस्थल निर्माणका लागि संघीय सरकारले आर्थिक सहयोग जुटाइदिने भएको छ ।’


घिमिरेले तत्काल प्रदर्शनी स्थलको डिजाइन र लागत इस्टिमेट गराएर सिलान्यास गर्ने तयारी गरेको बताए । ‘प्रदर्शनीस्थल निर्माण भएपछि बाह्रै महिना यहाँका औद्योगिक उत्पादनहरूको प्रदर्शनी गरी व्यापार प्रवद्र्धन गर्न मद्दत मिल्छ,’ उनले भने, ‘यसले यस क्षेत्रको आर्थिक गतिविधि समेत वृद्धि हुन्छ ।’


जग्गा हस्तान्तरण सम्झौतापत्रमा उद्योग संगठनका तर्फबाट निवर्तमान अध्यक्ष मुकेश उपाध्याय, पूर्वअध्यक्ष सुशील धनावत, शिवशंकर अग्रवाल, वरिष्ठ उपाध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष प्रदिप मुरारका, राजकुमार गोल्छा, राकेश सुराना र सत्यनाराण मन्दिर सञ्चालक समितितर्फबाट किशोर थापा, रामप्रसाद खतिवडा, माधवप्रसाद कोइराला, वल्लभप्रसाद अधिकारी, जगदीश राजवंशी र लक्ष्मीकान्त विश्वासले हस्ताक्षर गरेका छन् ।


मन्दिरको २ बिघा जग्गा उद्योग संगठनले ९५ वर्षका लागि भाडामा लिएको छ । भाडा दर संगठन र मन्दिर समितिको आपसी सहमतिमा निर्धारण हुन्छ । महानगरले यसअघि नै १ बिघा ७ कठ्ठा जग्गा उद्योग संगठनलाई हकभोगका लागि प्रदान गरिसकेको घिमिरेले बताए ।

प्रकाशित : माघ ६, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?