१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एभोकाडोबाट घिउ

‘चेपुवा पेचा’ घरेलु प्रविधिबाट घिउ निकाल्दै
धनकुटालाई गत मंसिरमा एभोकाडोको राजधानी घोषणा

धनकुटा — नाम नै घिउ फल । नामअनुसारको काम बल्ल सुरु भएको छ । घिउ फलका रूपमा परिचित एभोकाडोबाट पहिलोपटक प्रशोधन गरेर कृषकले घिउ उत्पादन थालेका छन् ।

एभोकाडोबाट घिउ

एभोकाडोको घिउ रुचिकर बन्दै गएको छ । सामान्यत: एभोकाडो फल काटेर खाने वा क्रिमका रूपमा अनुहार र हात गोडामा लगाउन सीमित थियो । प्रशस्त भिटामिन र प्रोटिनयुक्त मानिने एभोकाडो फल पहिलो पटक धनकुटा ३ पात्लेका कृषक गोपाल वाग्लेले आफ्नै प्रयासमा घरेलु प्रविधि ‘चेपुवा पेचा’ बाट प्रशोधन थालेका हुन् ।


बगैंचाभरी एभोकाडो अर्थात् घिउ फल फलेर बिक्री गर्दा पनि नसकिएपछि वाग्ले र उनकी पत्नी कमलाले घिउ प्रशोधन थालेको बताए । ‘नामअनुसार घिउ निकाल्न सकिन्छ भन्ने अनुमान गरेर काम थाल्यौं,’ वाग्लेले भने, ‘सफल असफल के हुन्छ भनेर चिन्तित थियौं तर सोचेको काम सार्थक भएपछि खुसी लागेको छ ।’


जिल्लामा एभोकाडो फलको खेती सुरुवात गर्ने मध्येका वाग्ले एक हुन् । उनले ३५ वर्ष पहिलेदेखि खेती थालेर नर्सरी समेत गर्दै आएका थिए । कयौंले पहिलोपटक आफूले उत्पादन गरेको एभोकाडोको स्वाद लिएको उनले बताए । तिनै अगुवा कृषक वाग्लेले यसै सातादेखि एभोकाडोको घिउ उत्पादन थालेका छन् । १ क्वीन्टल एभोकाडोबाट घिउ निकालेका छन् ।


प्रति १० केजी एभोकाडोबाट उनले १ किलो घिउ निकाल्न सकिने बताए । ठूला डिपार्टमेन्ट स्टोरमा एभोकाडोको घिउ बिक्री गरिन्छ भन्ने सुनेका वाग्लेले बिक्री गरेर बचेको फलबाट आफूले सुनेकै जस्तो सफल रूप दिएका छन् ।

चिलाउने जातको चारपाटे काठको भेदमा बोरामा माटो झुन्ड्याएर गह्रुँगो बनाइएको छ ।


धनकुटा नगरपालिका ३ पात्लेका कृषक एभोकाडोबाट तयारी घिउ देखाउँदै  ।तस्बिर : रमेशचन्द्र/कान्तिपुर


तल्लो भागमा झुलको कपडाले बेरेर राखेको एभोकाडोको गुदीलाई थिचेपछि तेलजस्तै तरल पदार्थ निस्कन्छ । परम्परागत तोरी पेल्न प्रयोग गरिने प्रविधि (चेपुवा पेचा) कै रूपबाट एभोकाडो पेल्ने गरिएको छ । सुरुमा तेल जस्तै देखिए पनि केहीबेरमा जमेर घिउको रूप दिने गर्दछ । घर नजिक तोरी पेल्ने मिल नभएपछि परम्परागत प्रविधि अपनाएको कमलाले बताइन् । एभोकाडोको बोक्रा र भित्री भागमा रहेको दाना निकालेर बाँकी गुदीलाई लेदो बनाइन्छ । उक्त लेदो बनाएको तीन दिनपछि पेल्न योग्य हुने उनले जानकारी दिइन् ।


बिक्री गरेर राखेको एभोकाडो कोसेली दिएर, आफैंले खाएर र गाईवस्तुलाई खुवाउँदा पनि नसकिएपछि पत्नी कमलाको करले घिउ निकाल्ने काम थालेको वाग्लेले बताए । यही प्रविधिबाट वाग्ले दम्पतीले १० लिटर बढी घिउ उत्पादन गरिसकेका छन् ।


एभोकाडो पेल्दा निस्किएको पिनाबाट पनि थप घिउ निकालेका छन् । वाग्लेले यस वर्ष आफ्नो बगैंचाबाट ३ क्विन्टल एभोकाडो बिक्री गरेका छन् । बचेको १ क्विन्टललाई पनि नयाँ प्रयोगका रूपमा घिउ उत्पादन थालेको बताए ।

उत्पादन गरेको घिउको खर्च र मेहनत जोडेर प्रतिकेजी २ हजार मूल्यमा बिक्री थालेका छन् ।


घिउपछि अब एभोकाडोको चकलेट, टुथपेस्ट, क्रिम लगायतका वस्तु उत्पादन प्रयासमा जुट्ने वाग्लेको भनाइ छ । जिल्लालाई गत मंसिरमा एभोकाडोको राजधानी घोषणा गरिएसँगै यसको खेतिमा सयौ कृषक जुट्दै आएका छन् । घिउ उत्पादन कार्य अन्य कृषकका लागि पनि सिकाइ हुने कृषि विज्ञ जीवन राईको तर्क छ ।


सबैभन्दा बढी धनकुटा नगरपालिकाभित्रका १ हजार ९ सय ६२ परिवारले एभोकाडोलाई मुख्य आम्दानीको स्रोत बनाउँदै आएको राईले जानकारी दिए ।


नगर क्षेत्रका २ हजार ६ सय रोपनी क्षेत्रफलमा यो फलको खेती गरिएको र आगामी ५ वर्षपछिदेखि कृषकले वार्षिक ७ करोड बढीको आम्दानी हात पार्ने दावी गरिएको छ । बिक्री मात्र गरेर नसकिने भएपछि प्रशोधन गरेर घिउ लगायत उपयोगी वस्तु उत्पादन गर्न कृषकको चासो बढ्दै गएको छ ।

प्रकाशित : माघ ६, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?