२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दुईथरी काजकिरिया

तीन छोराद्वारा आमाको बेग्लाबेग्लै काजकिरिया
फरक धर्मका अनुयायी भएकाले अलगै संस्कार गरियो

खोटाङ — एउटै आमाका ३ छोरा, एक छोराले एक्लै परम्परागत रूपमा र अर्का दुई छोराले फरक किसिमले काजकिरिया गरेका छन् । खोटाङको खोटेहाङ ९ माझीटारकी ७६ वर्षीया पूर्णमायाको मृत्यु भएपछि उनका ३ छोराले छुट्टाछुट्टै संस्कार र रीतिरिवाजअनुसार काजकिरिया गरेका हुन् ।

दुईथरी काजकिरिया

पूर्णमायाको बिहीबार मृत्यु भएको हो । उनको मृत्युपछि ४४ वर्षीय जेठा छोरा बीरबहादुरले माझीको धर्म संस्कार र संस्कृतिअनुसार काजकिरिया गरिरहेका छन् । उनका दुई भाइ हरि र सूर्यले क्रिस्चियन भएकाले आफ्नै किसिमले काजकिरिया गरिरहेका छन् ।


यता समाज भने एउटी आमाका ३ छोराले फरकफरक संस्कार संस्कृतिमा काजकिरिया गरेकामा असन्तुष्ट छन् । आफन्त, छिमेकी र बाटो हिँड्ने सर्वसाधारणले समेत पूर्णमायाको काजकिरियाप्रति असन्तुष्टि जनाएको स्थानीयले बताए । १२ छोरा र ५ छोरी गरी १७ छोराछोरीकी आमा पूर्णमाया ७६ वर्षको उमेरमा मृत्यु भएको हो ।


‘१७ छोराछोरीकी आमाको मृत्यु हुँदा सवै एकै ठाउँमा भेला भएर काजकिरीया गर्नुपर्ने हो,’ पत्नी वियोगमा रहेका ८० वर्षीय भरतमान माझीले भने, ‘१२ छोरामध्ये अहिले ३ छोरामात्रै जीवित छन्, तीमध्ये पनि एउटामात्रै आफ्नै धर्म संस्कार र संस्कृतिमा अडेको छ ।’ दुई छोराले धर्म संस्कार र संस्कृति नै छाडेर आमाको काजकिरिया पनि फरकफरक किसिमले गरिरहेको उनले बताए । उदयपुर र खोटाङको सीमा नदी सुनकोसी नदीको रसुवाघाटमा डुंगा चलाएर गुजारा गर्ने माझी झोलुंगे पुल निर्माणसँगै पेसा व्यवसायबाट विस्थापित भए ।


गुजाराको माध्यम नै डुंगा चलाएर सर्वसाधारणलाई घाट (नदी) तार्ने पेसा झोलुंगे पुलले विस्थापित गरेपछि भरियाका रूपमा काम गरेका माझी अहिले त्यो पेसाबाट पनि विस्थापित छन् । गाईघाट दिक्तेल भारी बोकेर गुजारा गर्ने माझी सडक निर्माणसँगै भारी बोक्ने पेसा पनि खोसिएपछि अहिले भोकभोकै बस्ने अवस्थामा पुगेका छन् ।


गरिबी र अशिक्षाका कारण भौतारिएका माझी परिवारको अहिले धर्म संस्कार र संस्कृतिमा समेत संकट आएको माझी समुदायका पुरोहित दुरुस्ते माझीले बताए । ‘गरिबी र अशिक्षाका कारण धर्मसंस्कार र संस्कृतिमा पनि प्रहार हुँदोरहेछ,’ पुरोहित दुरुस्तेले भने, ‘गरिबीकै कारण त होला नि एउटै आमाको लाम्टो चुसेरका दाजुभाइको किरिया समेत फरकफरक भएको छ ।’ पूर्णमायाले धेरै छोरा जन्माइन्, बाँचेका ३ मध्ये पनि फरकफरक संस्कार संस्कृति अपनाउँदा सामाजिक एकतामै समस्या भएको उनले बताए ।


क्रिस्चियन धर्मअनुसार आमाको मृत्युपछि बसेका खोटाङको खोटेहाङ ९ माझीटारका बीरबहादुर माझीका अरू भाइ । तस्बिर : डिल्लीराम खतिवडा/कान्तिपुर


‘डेढ वर्षदखि क्रिस्चियन भएकाले आफ्नै धर्मअनुसार आमाको काजकिरिया गरिरहेका छाैं,’ पूर्णमायाका दुई छोरा हरि र सूर्यले भने, ‘आमा एउटै भए पनि धर्म नै फरक भएपछि आफ्नै धर्मअनुसार काजकिरिया गरिँदैछ ।’ आफनै दाजुभाइ अलग अलग भएर काजकिरिया गर्दा खासै फरक नपरेको उनीहरूले बताए ।


हरि र सूर्यलाई फरक नपरे पनि माझी समुदायका अन्यलाई नमिठो लागेको स्थानीय ध्यानबहादुर माझीले बताए । ‘एउटै आमाका छोराहरू दुई थरी काजकिरिया,’ उनले भने, ‘संस्कार र संकृति परम्परा नै छोडेर अलगअलग किसिमले काजकिरिया गर्दा सामाजिक रूपमा खल्लो र नराम्रो देखिन्छ ।’


आमाको काजकिरिया सवै छोरा एकै ठाउँमा भेला भएर गर्नुपर्नेमा दुई छुट्टाछुट्टै स्थानमा गरिँदा अहिलेसम्म मिलेको समाज पनि विखण्डन भएको उनले बताए । यता आफूले आफ्नै धर्म संस्कार र संस्कृतिअनुसार काजकिरिया गरेको जेठा छोरा बीरबहादुरले बताए । ‘माझी समुदायले परम्परागत जातीय संस्कार, संस्कृति र सामाजिक मर्यादाअनुसार आमाको काजकिरिया गरिरहेको छु,’ उनले भने, ‘मैले मेरै संस्कारअनुसार गरे,ं भाइहरू अलग धर्मको भएको भन्दै आलगै किसिमले बसे ।’ उनीहरूसँग अहिले बोलचाल पनि नहुने, भेटघाट पनि नहुने र देखादेख समेत नभएको

उनले बताए ।


दुई दर्जन बढी माझी परिवार रहेको माझीटार चरम गरिबीको मारमा परेको छ । परम्परागत पेसाबाट विस्थापित हुँदा भरियाको पेसा अँगालेका माझी त्यो पनि खोसिँदा भोकै पर्ने अवस्थामा पुगेका छन् । गुजारका लागि गरिने जुनेलो, मास मस्याम र दलन खेतीको पनि यो वर्ष खडेरीका कारण मासिएपछि भोकै बस्नुपर्ने अवस्था आएको हो ।


भोकमरी र गरिवीको अवस्था आएपछि आफ्नो जातीय परम्परा, संस्कार, संस्कृति र रीतिरिवाजसँगै धर्ममाथि पनि धावा बोलेकोमा समुदायका अगुवा चिन्तित छन् । समयमै माझी समुदायका लागि केही गर्न नसक्दा परम्परा, धर्म, संस्कार र संस्कृति नै पो सकिन्छ कि पत्नी वियोगमा छटपटिरहेका ८० वर्षीया भरतमान भन्छन्, ‘म मर्दा मेरा छोरानातिले गर्ने किरिया फरक नहोस् ।’

प्रकाशित : माघ ७, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?