कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

ग्यारेजमा ‘किसान राजा’

पर्वत पोर्तेल

धुलाबारी, झापा — दरबारमा ठाँट र रवाफपूर्वक बस्ने, शासन गर्ने, आदेश दिने, विलासी जीवन बिताउने राजा भन्ने बित्तिकै सामान्यतया यस्तो बुझिन्छ । तर, झापामा एक जना त्यस्ता ‘राजा’ छन् जो यी कुनै काम गर्दैनन् । बरु ग्यारेजमा विग्रिएका मोटरसाइलकसँग रमाउँछन् ।

ग्यारेजमा ‘किसान राजा’

दिनरात कठोर श्रम गर्छन् र साँझ–बिहानको गर्जो टार्छन् । हो, किसान समुदायका राजा सिक्ला किसानको दिनचर्या ग्यारेजमा बित्छ । ३१ वर्षीय सिक्लाले भने, ‘समाजले राजाको मान दिएको छ तर राजा हुँ भन्दै काम नगर्दा भोकै भइन्छ ।’ उनले बितेका चार वर्ष वैदेशिक रोजगारीमा मलेसियामा बिताए । विदेश उड्नुअघि पनि उनी मोटरसाइकलको ग्यारेज चलाएर बसेका थिए ।


तर, धेरै कमाउने महत्वाकांक्षाले उनलाई परदेश पुर्‍यायो । सिक्ला घर आएका ८ महिना भयो । अब विदेश नजाने सोचमा छन् । झापा धुलाबारीमा कृष्ण संग्रौलाको ग्यारेजमा सिक्ला मजदुरी गर्छन् । ‘केही समयपछि आफ्नै ग्यारेज सञ्चालन गर्ने लक्ष्य छ’, उनले भने । चार वर्षअघि काका तथा राजा भाविर किसानको निधनपछि सिक्लाले राजा बन्ने मौका पाएका थिए । तर, राजा बनेको वर्ष दिन पनि नहुँदै सस्तो श्रमका लागि मलेसिया हिँडेपछि लामै समय किसान समुदायको ‘सिंहासन’ रित्तो बन्यो ।


उनी नहुँदा कर्मकाण्डमा थोरै समस्या पैदा भएको थियो । तर, यो समुदायमा कस्तो चलन छ भने समाजले जसलाई राजा मानेको हुन्छ त्यो व्यक्तिको अनुपस्थितिमा उसकै पत्नी अथवा छोराहरूले विवाह, मृत्युलगायत संस्कारमा भाग लिन्छन् । कुटपिट, लेनदेन, सम्बन्धविच्छेद, अन्तरजातीय विवाह सबै मुद्दा राजाले मिलाउनुपर्ने परिपाटी छ । कुटपिट गर्नेहरूलाई जरिवाना बापत जाँड र २ वटा धोती लिइन्छ भने अन्तरजातीय विवाह गर्नेलाई खसी र रकम तिराइने पूर्वराजा ढोंगीकी श्रीमती चिलोले बताइन् ।


‘राजा’ राख्ने चलन

किसान जातिमा ‘राजा’ राख्ने व्यवस्था परम्परादेखिकै हो । यिनीहरू राजालाई ‘महतो’ पनि भन्छन् । महतो किसान समुदायकै उच्च पद हो । त्यसपछि वकिल र सिपाही हुन्छन् । यो जातिमा समाजभित्र भएका मुद्दा मामिला कचहरी बसेर आफंै समाधान गर्ने चलन छ । ‘महतोले समाजका मुद्दा मामिला मिलाउने र संस्कार र संस्कृति जगेर्नामा जोड दिन्छन्’, किसान समुदायका अगुवा भीमले भने । किसानमा पुस्तौनी राजा (महरो) राख्ने चलन छ ।


ढोंडी किसानको मृत्युपछि भजित भाविर किसान करिव १६ वर्ष राजा भए । उनी पनि ५ वर्षअघि वितेपछि भतिजा सिक्लाले राजाले मौका पाए । राजाको निश्चित कार्यावधि हुँदैन । राजाको मृत्युपछि जेठो छोरा राजा हुन पाउने चलन छ । तर, छोरा नभएको अवस्थामा अथवा जेठो छोरा गतिलो नभएको अवस्थामा भाइ भतिजालाई पनि राजा बनाउने चलन छ । किसान जातिभित्र हुने विवाह, मृत्युलगायत संस्कारमा राजा नभई हुँदैन । ‘राजाबिना हाम्रो सबै कर्म अपूरो हुन्छ’, अघिल्ला राजा ढोडी किसानकी पत्नी चिलोले भनिन्, ‘राजालाई गाउँका मुखियाका रूपमा हेरिन्छ ।’


औसत आयु ४०

किसान जाति नेपालका अल्पसंख्यक जातिहरूमध्ये एक पर्छ । यो जाति क्रमश: हराउँदै गएको छ । किसानको औसत आयु अधिकतम ४० वर्ष मात्रै देएिको छ । गरिवी, मदिरा जन्य वस्तुहरूको अत्यधिक सेवनजस्ता कारणले अधिकांशको मृत्यु ४० वर्ष नपुग्दै भएको छ । दुई वर्षअघि एकै वर्ष ७ जना अगुवा किसानको मृत्यु भयो । उनीहरू सबैको उमेर ४० आसपास मात्रै थियो । ‘यो समुदाय चाँडै मासिने अवस्थामा पुगेको छ’, अगुवा भीम किसानले भने, ‘उत्पादनशील जनशक्ति विदेशमा छन् । जसका कारण जन्मान्तर बढेको छ ।’


आर्थिक, सामाजिक, राजनीतिकसँगै शैक्षिक रूपमा पनि पछौटे छ । खासगरी झापाको मेचीनगर, धाइजन, शान्तिनगर, बाहुनडाँगी र बिर्तामोडलगायत क्षेत्रमा किसानको बसोबास छ । मूलथलो भारतको उडिसा र बिहार भए पनि उनीहरू वर्षाैंदेखि झापामा बस्दै आएका छन् । किसान र भारतका उराव जातिको भाषा, रहनसहन र स्वभावमा समानता भेटिन्छ । किसानको मातृभाषा भारपेली समूहमा पर्छ । यिनीहरूको आफ्नो छुट्टै लिपि छैन । २०४८ को जनगणनामा किसानको जनसंख्या करिब २ हजार ५ सय थियो । २०५८ मा थोरै बढेर २ हजार ८ सय ७६ पुग्यो ।

प्रकाशित : माघ ८, २०७५ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?