कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

आफ्नै जग्गामा अनाथालय

आमा बितेका र बुबाले अलपत्र छाडेर हिँडेका नगरका बालकको बिजोग देखेर अनाथालयको उत्प्रेरणा
जितेन्द्र साह

बराहक्षेत्र — तीन धुर जग्गामा निर्मित पुर्ख्याैली घरमा छ सदस्यीय परिवारसहित २७ वर्षीय ओमप्रकाश बानियाँ बस्छन् । नजिकै गोठ छ । उनको घरगोठको अवस्था दुरुस्त छैन । तर, ओमप्रकाशले घर अघिल्तिरको आफ्नै एक कठ्ठा जग्गामा ६ कोठे अनाथ आश्रम निर्माण गरिरहेका छन् ।

आफ्नै जग्गामा अनाथालय

उनी दुई नाबालक सन्तानका पिता हुन् । सुनसरीको बराहक्षेत्र नगरपालिका ५, रामझोडास्थित ओमप्रकाशको घर पुग्दा श्रमिकसँगै आश्रमको जग राख्न उनी व्यस्त थिए । ‘टुहुरा नानीबाबुका लागि घर बनाउने बाल्यकालदेखिको सपना पूरा गर्दैछु,’ उनले भने । ओमप्रकाशले आउँदो वैशाखभित्र आश्रम बनाइसक्ने सनाए । १६ मंसिरमा यसको शिलान्यास भएको थियो ।


प्रवेशिका उत्तीर्णपछि कमजोर आर्थिक अवस्थाले पढ्न नपाएका उनी वैदेशिक रोजगारका क्रममा कतार पुगे । कतारको सनैयामा उनी भाडा माझ्ने काममा लागे । त्यहीँ बस्दाबस्दै उनलाई पर्यटन प्रवद्र्धनका लागि साइकलबाट नेपाल यात्रा गर्ने सोच आयो । स्वदेश फर्केर उनले गत २५ वैशाखमा ‘नेपाल साइकल यात्रा’ सुरु गरे । उनले यतिसम्म ६८ जिल्ला घुमेका बताए ।


यो क्रममा नेपालीले उनलाई बास र गाँसका साथै आर्थिक सहयोग पनि गरे । सेना, प्रहरी, स्थानीयवासी एवं स्थानीय तहबाट दुई लाख ९८ हजार १५ हजार रुपैयाँ संकलन भयो । ओमप्रकाशले उक्त रकमलाई सामाजिक काममा लगाउने ध्येयसाथ आफ्नै जग्गामा कम्तीमा १० अनाथ बालबालिका बस्न मिल्ने ६ कोठे आवास बनाउने लक्ष्य लिए ।


उनले केही अग्रजसँग परामर्श गर्दा यसमा कम्तीमा १४ लाख रुपैयाँ लाग्ने देखियो । ओमप्रकाशको योजना सुनेपछि बाआमा, पत्नी, नातागोता, छरछिमेक एवं मित्रजन पनि हातेमालो गर्न तयार भए । उनको बुबा ६५ वर्षीय नेत्रबहादुर र आमा ५५ वर्षीया खेमकुमारी मेहनती किसान हुन् ।


दुवैले १२ कठ्ठा जग्गामा गरिरहेको खेतीपातीले घर चलेको छ । ‘आफ्ना लागि सबै बाँच्छन् नि, अरुका लागि बाँच्नु पो ठूलो हो,’ आमा खेमकुमारीले भनिन्, ‘हामीलाई बस्न र खान पुगेकै छ, छोराले अरूका लागि केही गर्दा खुसी छौं, उनले देखेको सपना पूरा होस् ।’ उनको कामबाट श्रीमती नविना पनि दंग छिन् । ‘यस्तै राम्रो सोचले गर्दा त मन पराएकी हुँ,’ उनले भनिन्, ‘हामीलाई पक्की घर किन चाहियो, पुरानैमा आनन्दले बसेकै छौं ।’


सामाजिक सेवाको यो अभियानलाई सम्पन्न एवं सञ्चालन गर्न ओमप्रकाशले आफ्नै अध्यक्षतामा बराहक्षेत्र बाल अनाथ आश्रम समिति गठन गरेका छन् । नगर प्रमुख नीलम खनालले थप सहयोग गर्ने प्रतिबद्धतासाथ उनको आश्रमको शिलान्यास गरिदिए । ‘स्थानीयले ढुंगा दिए, स्वदेशविदेशका नेपालीले आफ्नो र आफन्तको जन्मदिन, विवाह वर्षगाठ र भोजभतेरको खर्च कटाएर आश्रमलाई पठाएका छन्,’ उनले भने, ‘अचेल मदिरा पाटीको खर्च सामाजिक कार्यका लागि दिने चलन चलेको छ ।’ उनका अनुसार आश्रमका लागि विदेशबाट करिब ३७ हजार रुपैयाँ प्राप्त भएको छ । यो क्रम रोकिएको छैन ।


आश्रम निर्माण नसकिँदै ओम प्रकाशको सम्पर्कमा १७ अनाथ आइसकेका छन् । ‘छाप्रो बनाएर पनि सबैलाई राख्छु र खुवाउँछु,’ उनले भने, ‘अब मेरो जीवनको लक्ष्य नै अनाथको सेवा गर्नु हो ।’ उनको दयाभावबाट स्थानीय निकै खुसी छन् ।


‘सानैदेखि असल स्वभावका र अहिंसा प्रेमी छन्, नातिको काम देखेर गर्व लाग्छ,’ ८५ वर्षीया कृष्णकुमारी थापाले भनिन्, ‘साइकल यात्रा र यो कामबाट यो टोललाई देशभरि चिनाइदिए । कृष्णकुमारीको अमेरिकाको क्यालिफोर्नियामा बस्ने साहिला छोरा गणेशले पनि आश्रमका लागि २१ हजार १ सय ५१ रुपैयाँ सघाएका छन् ।


पर्यटन प्रवद्र्धन एवं आश्रमका लागि आर्थिक सहयोग जुटाउन ओमप्रकाशले माघ दोस्रो सातादेखि प्रदेश १ को बाँकी ९ जिल्ला भ्रमण गर्ने जनए । विराटनगरको अशोक चोकस्थित विराटेश्वर वृद्धआश्रमबाट यात्रा सुरु गर्ने उनले बताए ।


‘त्यहाँ आश्रित वृद्धवृद्धाको आशीषबाट दोस्रो एवं अन्तिम चरणको सदभाव साइकल यात्रा थाल्न आश्रमलाई रोजेको हुँ,’ उनले भने । ५२ ज्येष्ठ नागरिक आश्रित उक्त आश्रम पनि पूर्णतया जनसहयोगबाटै चलेको छ । आश्रमका संस्थापक अध्यक्ष एवं ज्येष्ठ नागरिक जगतप्रसाद अज्र्यालले नातिसरहका साइकल यात्री ओमप्रकाशको स्वागतका लागि आतुर रहेको बताए । ‘अनाथ बालबालिकालाई सहारा दिएर सक्षम एवं स्वस्थ नागरिक बनाउन सके वृद्धाश्रम खोल्नु पर्दैन,’ उनले भने, ‘उनलाई सदैव आशीष र सहयोग रहने छ ।’


ओमप्रकाश निकै उत्साही छन् । ‘मुलुकका ७७ जिल्ला भ्रमण गर्ने म पहिलो नेपाली साइकल यात्री हुनेछु,’ उनले भने, ‘२५ वैशाखमा साइकल यात्रा सुरु गरेको थिएँ, २०७६ को २५ वैशाखमा सम्पन्न गर्ने लक्ष्य छ ।’ साइकल यात्रा समापनपछि ‘नेपाललाई १ फन्को’ पुस्तक प्रकाशन गर्ने र यसबाट हुने आम्दानी आश्रममै लगाउने उनले बताए । उनमा आश्रम बनाउने परिकल्पना भने एकाएक आएको होइन, उही बेलादेखिको इच्छा भएको उनले सुनाए ।


‘७/८ कक्षामा पढ्दा एकपटक आफ्नै गोठछेउको खाली जग्गामा आश्रम बनाउँछु भन्दै चार/पाँच खाबो गाडेका थिए,’ बालसखा कमल खड्काले सम्झे । स्थानीय एक निजी विद्यालयका शिक्षक खड्का अनाथ आश्रम समितिका सचिव पनि हुन् । ५ सदस्यीय समितिमा रमेश पाण्डे कोषाध्यक्ष, इन्द्रकुमारी कटवाल र नवीन कोइराला सदस्य छन् ।


समाजसेवाको प्रेरणा मावली हजुरबुबा टेकबहादुर कटवालबाट पाएको ओम प्रकाशले बताए । सडक वारि र पारि ओमप्रकाशको घर एवं मावली छ । उनले भने,‘हजुरबुबा बाटाको ढुंगा र फोहोर पन्छाउँदै हिँडेको देख्थेँ, सहयोग माग्न आउनलाई खाली हात पठाउँदैन्थे ।’ हजुर बुबाले गर्दै आएको समाज सेवाको प्रभाव त ओम प्रकाशमा छँदै थियो ।


तर, हालै आमा बितेका र बुबाले अलपत्र छाडेर हिँडेका आफ्नै नगरको एक बालकको बिजोग देखेर उनी मर्माहत भए । अनि, आश्रम बनाउने अठोत लिएर अघि बढेको ओम प्रकाशले सुनाए । धरान उपमहानगरपालिकाकाको चारकोसे जंगलदेखि करिब १२ किमी दक्षिणस्थित यो थलोलाई स्थानीय निकायको पुरानो संरचना अनुरूप भरोल गाउँपालिका–४,रामझोडा भनेर सबैले चिन्छन् । उक्त नगरपालिकाकै यो पहिलो अनाथश्रम भएकोले यो रामझोडा टोल अचेल नीकै चर्चामा छ ।


यि दयालु बानिया परिवार उहिले ओखलुढुंगाबाट बराहक्षेत्र झरेका हुन् । भाइ र फुपुसहित ओम प्रकाशका हजुरबुबा कृष्णकुमार बानिया पहाडबाट मधेस झरेका थिए । बानिया परिवारले दिनरात श्रम गर्दै घरघडेरीसहित १२ कठ्ठा जग्गा जोडेका हुन् । नेत्रबहादुर र खेमकुमारीका ओमप्रकाश एक्लो छोरा हुन् ।


परिवारजन मात्र नभएर जनप्रतिनिधि पनि उनको कार्यबाट नीकै खुशी देखिन्छन् । ‘ओम प्रकाशले साइकल यात्रा सुरु गर्दा नगरपालिका भवनबाटै विदाइ गरेका थियौं,’वडा सदस्य टेकबहादुर गौतमले भने,‘नगरपालिकाको अर्को परिषदमा यो आश्रम सञ्चालनकालागि बजेटको प्रस्ताव गर्छौं ।’ यो नगरको दुई परिषद बैठक सम्पन्न भइसकेको छ ।


वैदेशिक रोजगारबाट फर्केका एक युवकको यो प्रयास प्रशंसनीय भएको प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव हरिहर पौडेलले बताए । ‘केन्द्र एवं प्रदेश सरकारले यस्तो अभियानमा सक्दो सहयोग गर्छ,’ उनले कान्तिपुरसँग भने,‘निर्माणभन्दा आश्रमको सञ्चालन ठूलो समस्या हो, आश्रित बालबालिकाको निरन्तर गास, कपास र शिक्षाकालागि सरकार, गैर सरकारी संस्था एवं नागरिक समाजले हातेमालो गर्नै पर्छ ।’


पौडेलका अनुसार ओम प्रकाशको यो पहलले बराहक्षेत्र नगरपालिकालाई झनै चर्चित बनाएको छ ।

प्रकाशित : माघ ८, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?