आधारभूत सुविधाविहीन बस्ती
विराटनगर — इक्राहीकी सुलेखा रामलाई सुत्केरी बेथा लाग्दा गाउँलेले बोकेर आधा किलोमिटर टाढा शंकरबारी चोकसम्म पुर्याएपछि मात्र एम्बुलेन्समा चढाएर अस्पताल पुर्याए ।
साताअघि त्यहीँकी फुलमदेवी रामकी छोरी सरिता निमोनियाले सिकिस्त हुँदा गाउँलेले बोकेर त्यहीँ पुर्याएपछि मात्र एम्बुलेन्स चढाएर अस्पताल लगियो ।
यो प्रसंग विराटनगर महानगर ४ इक्राहीको सुकुम्बासी बस्तीको हो । महानगरको पश्चिममा रहेको केसलियाका खोलाको डिलमा २० परिवार राम समुदायको बस्ती छ । त्यो बस्तीमा बिरामी परेका जोकोहीलाई गाउँलेले बोकेर शंकरबारी चोकसम्म पुर्याएपछि मात्र एम्बुलेन्स चढ्न पाइने सुविधा छ । बस्तीसम्म पुग्ने सडक छैन ।
बस्तीका सबै बासिन्दा खोलाको डिल र अर्काको निजी खेतको आलीबाट हिँड्छन् । ‘खोलाको डिल र खेतको आलीबाट चार चक्के सवारी साधन गुडाउने कल्पना पनि गर्न सकिदैन मुस्कीलले साइकल र मोटरसाइकल गुडाउन सकिन्छ,’ स्थानीय प्रतिमा रामले भनिन्, ‘कहिलेकाहीँ त पैदल हिँड्न पनि पाइँदैन ।’ जग्गाधनीले बाली लगाएपछि बाली कुल्चियो भन्दै गाली गरेर हिँडन समेत नदिने गरेको उनको गुनासो छ ।
बस्ती बसेको करिव दुई दशक भयो । ‘अहिलेसम्म हाम्रो बस्तीलाई सार्वजनिक सडकले छोएको छैन,’ कमलेश्वर रामले भने, ‘न सडक छ न त बिजुली नै छ ।’ गत वर्ष सम्पन्न संघीय र स्थानीय तहको निर्वाचनका बेला भोट माग्न बस्तीमा पुगेका बेला सवै उम्मेदवारले बस्तीका लागि सडक खुलाइदिने र बिजुली बत्ती पुर्याइदिने आश्वासन दिएको उनले बताए । ‘चुनाव सकिएपछि कोही पनि फर्केर आएनन्,’ कलेश्वरले भने ।
चुनावका बेला हालका सामान्य प्रशासन मन्त्री लालबावु पण्डित, महानगर प्रमुख भीम पराजुली, वडा अध्यक्ष देवेन्द्र पोखरेल, कांग्रेस नेता शेखर कोइराला सवै बस्तीमा पुगेर भोट माग्दै बस्तीका लागि सार्वजनिक बाटो खोलिदिने र बिजुली पुर्याइदिने आश्वासन दिएको उनले सुनाए । ‘आश्वासन त दिए,’ उनले भने, ‘तर चुनाव सकिएपछि उनीहरू कोही पनि फर्केर आएका छैनन् ।’
पूरै बस्तीमा एउटा मात्र शौचालय छ । बाँकी १९ परिवारको शौचालय केसलीया खोलाको बगर हो । स्थानीय बविता रामका अनुसार अघिल्लो साल आएको बाढीले बस्तीका सवै शौचालय पुरेपछि कसैले पनि शौचालय बनाउन सकेको छैन । ‘बस्तीका सबै झिसमिसमा खोलाको बगरमा पुगेर शौच गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् ।
बस्तीका सबै परिवारको पेसा मजदुरी हो । ‘एक दिन मजदुरी गर्न नहिँडे बिहान बेलुका हातमुख जोड्न समस्या पर्छ,’ ७५ वर्षीय लखन रामले भने, ‘पहिले सिंगो बस्तीमा एउटामात्र चापाकल थियो । त्यही कलमा लाइन लागेर पानी थाप्नुपर्ने बाध्यता थियो ।’ अहिले मुस्किलले कतिपय परिवारले निजी चापाकल गाडेका छन् ।
उक्त बस्तीमा पुग्ने सार्वजनिक सडक नभएको वडा अध्यक्ष देवेन्द्र पोखरेलले स्वीर्कार्दै खोलाको डिललाई नै सकडका रूपमा प्रयोग गर्नुको विकल्प नभएको वताए । ‘बस्ती वरपर निजी जमिन छ । त्यहाँबाट सडक खोल्ने स्थिति नै छैन,’ उनले भने, ‘बस्तीका लागि खोलाको डिललाई नै सडक बनाउने प्रयास भइरहेको छ ।’
सबै बालबालिका स्कुलबाहिर
राम बस्तीमा झन्डै २४ भन्दा बढी बालबालिका छन् । तर उनीहरू सबै स्कुल बाहिर छन् । ‘बस्तीका कोही बालबालिका विद्यालय जाँदैनन्,’ प्रतिमाले भनिन्, ‘बस्ती वरपर विद्यालय नै नभएपछि बालबालिका पढ्नबाट वञ्चित भएका हुन् ।’
बस्तीदेखि करिव ४ किलोमिटर उत्तरपूर्व इक्राही चोकनजिक जनता माध्यमिक विद्यालय छ । दक्षिणतर्फ त्यति नै टाढा पर्ने कोचाखालमा अर्को विद्यालय छ । ‘साना बालबालिका ४–५ किलोमिटर हिँडेर विद्यालय जान र सक्तैनन्,’ उनले भनिन्, ‘मजदुरीमा हिँड्नुपर्ने बाध्यताले अविभावकले पुर्याउन र ल्याउन भ्याउँदैनन् ।’
बस्तीका अधिकांश बालबालिका अभिभावकसँगै मजदुरी गर्न हिँडछन् । ‘कोही घरमै बसेर धूलो खेलेर दिन बिताउँछन्,’ स्थानीय बवितादेवी रामले भनिन्, ‘सात र चार वर्षका मेरा छोराछोरीले पनि अहिलेसम्म विद्यालय जान पाएका छैनन् ।’ उनीहरू गाउँमै खेलेर दिन बिताउने गरेको उनले सुनाइन् ।
प्रकाशित : माघ ९, २०७५ ०९:३८